जनअधिकार दिवस अर्थात अक्षय तृतिया

अञ्जु कार्की

परशुराम अहिले पनि गुप्त भेषमा पृथ्वीमा घुमिरहेको र दुष्ट शासकहरूलाई शस्त्र उठाएर दण्डित गरिरहेको धार्मिक मान्यता छ । अत्याचारी शासकका विरुद्ध न्यायका लागि हतियार उठाउनेहरूलाई परशुरामले अहिले पनि छद्मभेषमा सहयोग गरिरहेका हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

आज अक्षय तृतिया पर्व हो । तर, बैशाख शुक्ल (अक्षय) तृतिया किन र के का लागि मनाउने गरिन्छ ? सायद यो पर्व मनाउनेहरूमध्ये धेरैलाई थाहा छैन । आजको दिनलाई युगहरूको सुरुआती दिनका रूपमा पनि लिइन्छ, आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुआत भएको थियो भने महाभारतको युगको समाप्ती लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायुग सुरु भएको हो । पौराणिक रूपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरू आजकै लगनमा भएका हुन् । जस्तै ः आजकै दिन देवादिदेव महादेव र हिमालय पुत्री पार्वतीबीच विवाह भएको थियो, प्रथम गणतन्त्रबादी राजनेता परशुराम आजैका दिन जन्मेका थिए । सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको साइतबाट वेदब्यासले लेख्न थालेको मान्यता छ ।

हाम्रो पूर्वीय दर्शनअनुसार सत्ययुगको प्रारम्भसँगै राज्य व्यवस्था कायम भएको थियो । राज्य सञ्चालनका लागि विभिन्न जिम्मेवारी बाँडिएको थियो । ज्ञानको खोजी गर्ने तथा ज्ञान बाँड्ने जिम्मेवारी पाएको वर्गलाई ब्राह्मण भनिन्थ्यो, शासन सत्ता संहाल्ने बर्गलाई क्षेत्री भनिन्थ्यो । उद्योग, व्यापार व्यवसाय गर्ने वर्गलाई वैश्य भनिन्थ्यो । कला मनोरञ्जन तथा सामाजिक सेवा गर्ने तथा कर्मचारी वर्गलाई शुद्र भनिन्थ्यो । यी चार वटै वर्ग शक्तिपृथकीकरणको सिद्धान्त अनुसार चलिरहेका थिए । अहिले राजा भनिए जस्तै त्यतिबेला क्षेत्री भनिन्थ्यो । हतियार सेना राख्न पाउने अधिकार क्षेत्रीलाई मात्रै थियो । तर क्षेत्रीहरूमा हतियारको दम्भ यतिसम्म बढ्दै गयो कि जनताको संरक्षण होइन, जनताको सम्पत्ति लुट्न थाले । जनविद्रोह अनिवार्य आवश्यकता बन्यो । भार्गव ऋषिका छोरा परशुरामले सशस्त्र जनविद्रोहको नेतृत्व गरे । उनले साह्रा पृथ्वी घुमेर अत्याचार गर्ने सबै क्षेत्री (राजा)हरूको वध गरे । अहिलेको भाषामा ऋषि परशुराम प्रथम गणतन्त्रवादी राजनेता हुन् । उनैको जन्मदिनका रूपमा अक्षय तृतिया पर्व मनाउने गरिन्छ । अक्षयको अर्थ हो कहिल्यै क्षय गर्न नसकिने, विध्वंश गर्न नसकिने । कोही पनि मान्छे आफ्नो कर्तव्यबाट क्षय नहोस् भन्ने सन्देश अक्षय तृतियाले दिन्छ । अर्थात कर्तव्यच्युत हुने मान्छे अवश्यमेव दण्डको भागिदार हुन्छ ।

हाम्रा पौराणिक ग्रन्थमा परशुरामलाई रिसाह, इखालु, दम्भी पात्रका रूपमा पनि उल्लेख गरिएको छ । ब्राह्मण भइकन पनि हिंसात्मक गतिविधिमा उत्रिएको, केही क्षेत्रीहरूले अत्याचार गरे भन्दैमा समग्र क्षेत्रीहरूलाई संहार गरेको, ब्राह्मणबाहेक अरूलाई शस्त्रअस्त्रको ज्ञान नदिने प्रण गरेको । पितृ आज्ञा शिरोपर गर्ने नाममा आफ्नै आमाको हत्या गरेको जस्ता आरोपहरू परशुराममाथि लाग्ने गरेको छ । यी आरोपहरू मिथ्या होइनन् । तर, कुन परिस्थितिमा उनले यी कामहरू गरेका थिए ? भन्ने सन्दर्भ महत्वपूर्ण हुन्छ । उनले जनताको द्ुःखसुखमा सहभागी हुने राजाहरूको संरक्षण पनि गरेका छन् । त्रेतायुगका राजा जनक तथा दशरथको संरक्षणका लागि परशुरामले ठूलो सहयोग गरेको देखिन्छ । त्यो युगमा परशुराम जति शक्तिशाली कोही पनि थिएन, तर उनले क्षत्रीका रूपमा रहेका दशरथपुत्र रामचन्द्रलाई आफ्नो साह्रा शस्त्र, अस्त्र तथा शक्ति प्रदान गरे, आपूm निरस्त्र र शक्तिविहीन बनेर बसे । किनकी उनलाई थाहा थियो, ‘दशरथ प्ुत्र रामचन्द्रबाट शस्त्रअस्त्रको दुरुपयोग होइन सदुपयोग हुन्छ ।’ द्वापरयुगमा पनि उनले केही क्षेत्री (राजा तथा राजकुमार) हरूलाई शस्त्रअस्त्रको ज्ञान दिएका थिए । शस्त्रअस्त्रको सदुपयोग गर्ने क्षेत्रीहरूलाई परशुरामले सहयोग गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

कहिल्यै नमर्ने आठ पात्र अर्थात अष्ठचिरञ्जीवि मध्ये परश्ुराम पनि एक हुन् । परशुराम अहिले पनि गुप्त भेषमा पृथ्वीमा घुमिरहेको र दुष्ट शासकहरूलाई शस्त्र उठाएर दण्डित गरिरहेको धार्मिक मान्यता छ । अत्याचारी शासकका विरुद्ध न्यायका लागि हतियार उठाउनेहरूलाई परशुरामले अहिले पनि छद्मभेषमा सहयोग गरिरहेका छन् भन्ने धार्मिक विश्वास छ ।

परशुरामको कथा
ब्राह्मणको रूपमा जन्मिएता पनि क्षेत्री, वैश्य र शुद्रको समेत भूमिका निर्वाह गरेका ऋषि हुन् परशुराम । ब्राह्मण, क्षेत्री, वैश्य शुद्र जन्मका आधारमा नभई कर्मका आधारमा हुन्छ भन्ने सन्देश परशुरामले दिएका छन् । महाभारत युद्धका असाधारण योद्धाहरू भीष्म, द्रोण र कर्ण परशुरामका शिष्यहरू हुन् । परशुरामले शुक्राचार्य, बृहस्पति, ब्रह्माजी र शिवजीसँग प्राचीन कालको धनुर्विद्या सिकेका थिए । परशुरामका साक्षात गुरु देवादिदेव शिवजी हुन् । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बञ्चरोजस्तो हतियार बुझिन्छ । भगवान् रामको त्यो रूपले बञ्चरोजस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैँले धारण गरेको अमोघ अस्त्र परशु (बञ्चरो) उनलाई दिएका थिए । त्यहि अमोघ बञ्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । उनी अपराजित चिरञ्जीवी अर्थात अमर थिए । भगवान् राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रूपमा परशुरामको जन्म भएको थियो । त्यहि भएर परशुराम जन्मिएको दिन बैशाख शुक्ल तृतिया तिथिलाई चिरञ्जीवी तिथि भनिन्छ ।

परशुरामलाई पितृवचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवद् गीतामा उल्लेख भएअनुसार संसारका सबैकुरा नाशवान छन् तर परशुराम यस्ता महान पात्र थिए जो कालबाट समेत अपराजित थिए । कलाकौशल अनि भौतिक पूर्वाधार निर्माणका रचयता परशुराम प्राचीन कालका इन्जिनियर (शुद्र) मानिन्छन् । भारतवर्षका सम्पूर्ण प्राचीन नगरहरू यिनैको योजना र कला मुताबिक बनाइएका हुन् । परशुराम राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय जमदग्निका पुत्र तथा विष्णुका अवतार र शिवका परम भक्त थिए ।

परशुरामलाई एक सच्चा पितृ वचन पालन गर्ने पुत्रको रूपमा पनि लिइएको छ । उनले पिता जमदग्निको आज्ञाअनुसार आफ्नी माता रेणुकाको हत्या गरेका थिए । परशुरामकी माता रेणुका एक दिन कलश लिएर जल भर्नका लागि नदीमा गइन् । त्यहाँ गन्धर्व चित्ररथ अप्सराहरूका साथमा जलक्रीडा गरिरहेका थिए । उनलाई देख्दा रेणुका यति मोहित भइन् कि जल ल्याउन ढिलो भयो तथा यज्ञको समय व्यतित भयो । उनको मानसिक स्थिति देखेर जमदग्निले आफ्ना छोराहरूलाई रेणुकाको वध गर्नका लागि भने । परशुरामको अतिरिक्त अरू कुनै पनि छोराहरूले यस्तो काम गर्न तयार भएनन् । पिताको आदेश भएपछि परशुरामले माताको वध गरे । जमदग्निले खुसी हुँदै आफ्नो आज्ञाको पालना गरेकोमा परशुरामलाई मागे अनुसारको बरदान दिने वाचा गरे । परशुरामले आफ्नी मरेकी आमाको पुनर्जीवन मागे । जमदग्निले आफ्नो योग शक्तिले रेणुकालाई जीवित गराए । मातृवधको प्रायश्चित्तका लागि परशुरामले विभिन्न तीर्थहरूको भ्रमण गरेका थिए ।

मातृ बधको पापबाट मुक्त हुनको लागि परशुराम तीर्थाटनमा गएका बेला एक दिन जमदग्नीको आश्रममा सिकार खेल्दै हैहय क्षेत्री वंशका कार्तवीर्य अर्जुन नाम गरेका राजा आफ्नो सेनासहित आए । ऋषी जमदग्नीले पनि उनिहरूको राम्रो स्वागत गरे । राजा कार्तवीर्यका सेनाको स्वागतका लागि चाहिने सबै सामान आश्रममा पालिएकी एक कामधेनु गाईबाट प्राप्त भएको थियो । यो देखेर राजा कार्तविर्यको मनमा ऋषीबाट ती गाई प्राप्त गर्ने विचार आयो । राजाले ऋषीसँग पहिले त गाई मागे तर जमदग्नीले आफ्नो जीवनयापन चलाएकी यी गाई नदिने आग्रह गरे । यो सुनेर राजा कार्तवीर्यले आफ्नो सेनालाई गाई लुटेर लिने आदेश दिए । राजाको आज्ञानुशार सेनाले ऋषि जमदग्नीलाई बन्धक बनाएर गाई लुटेर गए । त्यो बेला परशुराम आश्रममा थिएनन् । जब परशुराम आश्रममा आए तब सबै कुराहरू थाहा पाएर राजा कार्तविर्यको राज्यमा गए । राजा कार्तवीर्यका हजारवटा हातहरू थिए ।

परशुरामले राजा कार्तवीर्यसँग युद्ध गरे । परशुरामले राजा कार्तवीर्यका हजारवटा हातलाई काटेर दुइटा हातहरू मात्र राखे । ‘अब तँलाई मानव बनाएँ आजदेखि दानवता छोडेर मानवतामा परिणत हुनु’ भनेर आफ्नो गाई लिएर परशुराम आश्रममा फर्किए । त्यसपछि परशुराम मातृबधको पापबाट मुक्ति पाउनका लागि तीर्थयात्रामा गएको मौका पारी राजा कार्तवीर्यका छोराहरूले ऋषि जमदग्नीलाई मारेर गाई लिएर गए । परशुराम आश्रममा फर्किएपछि रेणुकाले सबैकुरा भनेर बिलाप गर्न थालिन् । रेणुका छाती पिटेर रुन लागिन् । यो देखेर परशुरामलाई साह्रै रिस उठ्यो जतिपटक रेणुकाले छाती पिटेकी छन् । त्यतिपटक क्षेत्रीहरूको विनास गर्ने परशुरामले आफ्नी मातालाई बचन दिए । यसरी रुँदा रेणुकाले २१ पटक छाती पिटेकी थिइन् । त्यसैले परशुरामले पनि २१ पटक पृथ्वीमा घुमे सबै क्षेत्रीयहरूको नाश गरे । सबै क्षेत्रीय स्त्रीहरूलाई ब्राह्मणद्वारा सन्तानोत्पत्न गराए । यसै गरी परशुरामले पृथ्वीमा बढेका पापीहरूलाई नष्ट गरेर नयाँ धर्मको स्थापना गरे । त्रेतायुगमा भगवान् रामसँगको मिलनपछि उनले आफ्नो सबै शक्ति रामलाई दिएर सामान्य ऋषिका रूपमा बसे ।

प्रतिक्रिया