कांग्रेस नेता बस्नेतको घोषणा : सिन्धुपाल्चोकमा एक सय बेडको कोरोना सेवा केन्द्र खोल्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कोभिड १९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेका छन । बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले स्थानीयलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एक सय बेडको कोभिड १९ सेवा केन्द्र एक महिनाभित्र स्थापना गर्ने घोषणा गरेका हुन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँँदै सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने उनले बताए । कोभिड १९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने बस्नेतको योजना छ ।

निकट भविष्यमा नै उनले कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने बताए । यसअघि पनि पीसीआर मेसिन राख्ने बताएका बस्नेतले राजनीतिक खिचातानीका कारण राख्न असमर्थ भएको बताएका थिए ।

यसैगरी कोरोना संक्रमण र अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले जीप उपलब्ध गराउने बताए । जुन गाडी पछि आफूले फिर्ता नलिने बरु सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने बनाउने उनले जानकारी दिए । कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै १ वर्षसम्म सवारी चालकको तलब भत्ता, गाडीको डिजेल समेतको व्यवस्था व्यक्तिगत रुपमा आफैले गर्ने बस्नेतले प्रतिबद्धता जनाए । यथाशीघ्र गाडी हस्तान्तरण गरेर सेवा सुरु गर्ने बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया