खेल-खेलाडी

काठमाडौ र धनगढीको बराबरी

सौर्य अनलाइन २०७८ वैशाख २९ गते ६:५३ मा प्रकाशित

काठमाडौं । काठमाडौं रेजर्स र धनगढी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलमा निर्धारित समयमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको दोस्रो हाफमा काठमाडौंले सुरुवाती अग्रता लिएपनि धनगढीले बराबरी गोल फर्काउन सफल भएका हुन् । ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । उनले मेसौके ओलुमोउको क्रसलाई हेडमार्फत सदुपयोग गरेका थिए ।

एक गोलले पछि परेको धनगढीले पछि परेको तेस्रो मिनेटमा नै बराबरी गोल फर्काउन सफल भयो । ७८औं मिनेटमा पुजन उपरकोटीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । निशान लिम्बुको कर्नरलाई गोलरक्षक विकेश कुथुले पञ्च गरेपनि क्लियर हुन नसकेको बलमा गोलरक्षक अघि बढेको अवस्थामा पुजनले ओभर हेड किकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । ८९औं मिनेटमा सौजनको प्रहारलाई गोलरक्षक विकेशले बचाउँदै काठमाडौंको संकट टारे ।

त्यसअघि खेलको १६औं मिनेटमा स्टेफन विनोङ समिरको प्रहार क्रसमाबारमा लागेर फर्कदा काठमाडौं रेजर्स अग्रता लिनबाट चुक्यो । उनको प्रहारमा गोलरक्षक किरण चेम्जोङले कुनै अवसर नै पाएनन् । सोही फर्किएको बललाई सुदिल राईले नियन्त्रणमा लिन सकेनन् । लगत्तै १७औं मिनेटमा ओलावाले ओलाडिपो अफिजले मौका पाएपनि त्यसलाई सन्जोक राईले क्लियर गरिदिए । २८औं मिनेटमा विशाल राईले आफैले प्रहार गर्नुपर्ने बल पास दिदा टंक बस्नेतले भेट्न सकेनन् । ३७औं मिनेटमा सुदिल राईले पहिलो बार च्याप्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए । पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक फितलो बन्यो ।

यस खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ । पराजित टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय