अर्को साता सीइडीबी हाइड्रोको सेयर बाँडफाँड

काठमाडौं । सीइडीबी हाइड्रोपावरको आइपीओ अर्को साता सेयर बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कोरोना संक्रमणका कारण भेरीफाई गर्ने कर्मचारी आवतजावतमा समस्या भएकोले अर्को हप्ताभित्र मात्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्यपि, अझै धेरै काम बाँकी रहेकोले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

यस्को आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट हुने भएको छ । यसमा कुल २ अर्ब ६३ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ११ दशलमव २५ गुणा बढी हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन । सीइडीबीले वैशाख १७ बाट २१ सम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिने व्यबस्था थियो ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सीइडीबीलाई ‘केयर एनपी डबल बी (आइएस)’ इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले निष्काशनकर्ता कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ । केयर रेटिङले २०७७ असोज २९ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ २०७८ असोज २८ सम्म कायम रहनेछ ।

प्रतिक्रिया