सकियो निफ महोत्सव

काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण सोमबार सकिएको छ । चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यका साथ महोत्सव गरिएको आयोजकले बताएको छ । निफको जुममार्फत गरिएको समापन कार्यक्रममा फैजिया फथिमाले निफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुसी लागेको बताइन् ।

यसैगरी, पोर्चुगलका चलचित्र निर्माता ज्वाओ पाउलो मकेडोले मानव जीवनका यथार्थ कथालाई चलचित्रमार्फत उतार्न सफल रहेको बताए । विश्वभरका कला, संस्कृति तथा भूगोललाई निफले केन्द्रिकृत गर्न सफल रहेको सुनाए । मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र चलचित्रका लागि उत्कृष्ट लागेको बताए । उनले यो चलचित्र महोत्सवले युवालाई चलचित्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा युवा निर्माता सारै सक्षम रहेको जिकिर गरे । समापन कार्यक्रममा उत्कृष्ट फिल्मसहित विभिन्न देशका निर्णायकद्वारा पुरस्कार राशीको घोषणा गरे । महोत्सवमा उत्कृष्ट लघुचलचित्र अवार्ड राजेशप्रसाद खत्रीको ‘अ स्केयरक्रो’ ले हात पारेको छ ।

बागमती अवार्डअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्र अवार्ड कोरियाका निर्देशक सङबिन बुनको ‘गडस् डटर डान्सेस’ ले पाएको छ । मञ्जुश्री अवार्ड उत्कृष्ट ऐनिमेसनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन भने उत्कृष्ट वृत्तचित्रतर्फ गणेश पाण्डेको ‘सिभिल सोल्डर्स’ ले जित्न सफल भएको छ ।

यसैगरी, माउन्ट एभरेस्ट वृत्तचित्र अवार्ड स्विजरल्याण्डका निर्देशक एड्रिनो जेकाको द लोस्ट इडेन’ हात पारेको छ । टर्कीका निर्देशक मुरत सेरीको ‘इन माइ ड्रिम’ पनि छनोटमा परेको छ भने राष्ट्रिय फिचर फिल्मअन्तर्गत ढोण्डुप छिरिङको ‘आमा खाण्डो’ ले पाएको छ । गौतम बुद्ध अवार्ड भारतीय चलचित्र ‘डिक्सनरी’ ले हात पारेको छ । यस्तै, उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छार्याकन एवं महिला तथा पुरुषको अभिनयतर्फ लाटोकशेरोले अवार्ड हात पारेको छ । सोही कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विषम परिस्थितिमा पनि निफको कार्यक्रम उत्साहजनक रहेको बताए । नेपाली कथा, चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नुमा निफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बोर्डले विभिन्न संघ संस्थासँगको सहकार्यमा चलचित्र गतिविधि गर्दै अगाडि बढ्ने विचार व्यक्त गरे ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी कार्यक्रमलाई थप गतिशील एवं प्रभावकारी बनाउने बताए । यसैबीच महोत्सवको पाँचौ दिन ‘नेपाली चलचित्रको आर्थिक तथा गुणात्मक स्तर’ विषयमा बहस गरियो । बहसमा लेखक युग पाठकले चलचित्र समाजकोे भाषा र संस्कृति देखाउने ऐना भएको बताउँदै यसले विचारको प्रतिनिधित्व गरेको बताए । उनले पञ्चायती सिनेमाले सोहीअनुसारको विषय देखाउने गरेका भन्दै ०६२÷६३ का सिनेमाले आन्दोलन रुपान्तरणको ऐना देखाएको स्मरण गरे । पाठकले हाल बनिरहेका चलचित्रले समाजको विविधता र जनभावनालाई देखाउने कोशिस न्यून रहेको जिकिर गरे । यस्तै, लेखक तथा पत्रकार बबिता बस्नेतले चलचित्र निर्माण गर्दा कस्तो विषय र सन्देश के हो भन्ने स्पष्ट हुनुपर्ने विचार व्यक्त गरिन् । उनले केही महिला केन्द्रित सिनेमा जस्तै आमा, सिन्दुर, माइतीघरको स्मरण गर्दै महिला संवेदनाको पहिलाभन्दा हाल कमी हुँदै गएको जिकिर गरिन् । उनले भनिन्, ‘समयको परिवर्तनसँगै भावना आँसुसँगै अपनत्व झल्किने जीवन्त चलचित्र बन्नुपर्दछ ।’ बस्नेतले चलचित्रमा महिलाको यथार्थता देखाइनुपर्ने रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नेपर्नुमा जोड दिइन् ।

लेखक तथा साहित्यकार कृष्ण धाराबासीले नेपाली चलचित्र मनोरञ्जनमा मात्र सीमित हुन नहुने भनाइ राखे । उनले चलचित्र लेख्ने लेखमा कति कल्पना गर्ने सक्ने क्षमता चाहिने बताउँदै उनीहरुले कति समाज बुझेका छन् र कति जीवनदृष्टि स्पष्ट भएका छन् भन्ने बहस हुनुपर्नेमा जोड दिए । संसारभरिका चलचित्र हेरेका दर्शकलाई नेपाली चलचित्रले अब आकर्षण गर्नुपर्ने उनको भनाई छ । उनले लेखक, निर्देशक, कलाकार तथा सम्पूर्ण टिममा गहन छलफलविनै चलचित्र निर्माण हुने गरेको बताए । धरावासीले विशेषगरी लेखक, निर्माता, निर्देशकबीचका समन्वयको अभावले गर्दा धेरै स्तरीय साहित्य चलचित्र असफल भएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया