स्वास्थ्य सामग्री सहयोगमा सक्रिय सोसेक

दैलेख । स्वास्थ्य सामग्री सहयोगमा सोसेक सक्रिय देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर बढ्दै जाँदा संक्रमण नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्न सोसेक सक्रिय देखिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले–दैलेखको आठबीस नगरपालिका र दुल्लु नगरपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

डिसिए नेपालको आर्थिक सहयोगमा संस्थाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले देश तथा जिल्ला दोस्रो चरणको (कोभिड–१९)को संक्रमणले आक्रान्त भइरहेको बेला साझेदार निकायहरूको सहयोग महत्वपूर्ण रहेको बताए । उनले महामारीको समयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
दुल्लु नगरपालिकालाई १ लाख ९ हजार ५ सय बराबरको आठ हजार थान नर्मल मास्क, दुई सय एन–नाइन्टीफाइभ मास्क, २ सय ४० एमएलको तीन सय बोटल हेन्ड स्यानिटाइजर, २० थान प्लास्टिकको डस्बिन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १ सय २५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।

शनिबार दुल्लु नगरपालिका–४ को भण्डारी गाउँमा सर्वसाधारणलाई समेत स्वास्थ्य सामग्री सहयोग गरिएको छ । यस्तै आठबीस नगरपालिकालाई पाँच हजार थान नर्मल मास्क, सय थान एन–नाइन्टीफाइभ मास्क, २ सय ४० एमएलको दुई सय बोटल हेन्ड स्यानिटाइजर, १० थान प्लास्टिकको डस्बिन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १ सय २५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिकालाई पाँच हजार थान नर्मल मास्क, सय थान एन–नाइन्टीफाइभ मास्क, २ सय ४० एमएलको दुई सय बोटल हेन्ड स्यानिटाइजर, १० थान प्लास्टिकको डस्बिन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १ सय २५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।

यसैबीच संस्थाले दुई वटा गाउँका घरपरिवारलाई समेत स्वास्थ्य तथा सरसफाइ सामग्री सहयोग गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ को कुजेडा गाउँका २९ घरपरिवारलाई नर्मल मास्क, हेन्ड स्यानिटाइजर, प्लास्टिकको डस्बिन, स्टिलको फिल्टर र साबुन सहयोग गरिएको हो ।

यस्तै आठबीस नगरपालिका–३ स्थित कुमालखाडा गाउँका ३१ घरपरिवारलाई स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू नर्मल मास्क, हेन्ड स्यानिटाइजर, प्लास्टिकको डस्बिन, स्टिलको फिल्टर र साबुन वितरण गरिएको छ । कुजेडा क्लाइमेट स्मार्ट भिलेज हो भने कुमालखाडा नमुना गाउँको रूपमा विकास गर्न थालिएको छ । यहाँका किसानहरूले व्यवसायिक रुपमा तरकारी तथा पशुपालन गरिरहेका छन् । सुरक्षाका मापदण्डहरू अपनाएर तरकारी बिक्री वितरण गर्न सहज होस् भन्नका लागि स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको हो । जिल्लामा करिब ३० भन्दा बढी गैरसरकारी संस्थाहरूले काम गर्दै आएकोमा सामाजिक सेवा केन्द्रले हरेक किसिमका विपत्तिहरूमा सामग्री सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया