‘भीरको टाउकोबाट उँधो लागेर गुरुत्वआकर्षणलाई दोष लगाउने ?’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधि सभा विघटनको खतरा देखेको भए त्यो टार्न आफूलाई विश्वासको मत दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको मर्म सरकार पाँच वर्ष चलाउने भन्ने हो भने आफूलाई मत दिन आग्रह गरेका हुन् ।

‘संविधान बनाउँदाको मर्मको कुरा उठ्यो । संविधानको मर्म अनुसार म पाँचै वर्ष चलाउँछु भन्ने थियो, पाँचै वर्ष नचलाऊँ भन्ने भएको भए त भन्दा खुरुक्क राजीनामा दिन्थें नि !’ प्रचण्डलाई जवाफ दिँदै ओलीले भने, ‘संसद् विघटन होला कि भन्ने चिन्ता छ, त्यो हो भने मलाई भोट दिएर रोकौं न । आफैँ मत नदिएर त्यतै धकेल्ने अर्कोलाई अपजस लगाउने ? भीरको टाउकोबाट उँधो लागेर गुरुत्वआकर्षणलाई दोष लगाउने ?’ ओलीले संसद्को स्थायित्वका लागि, मुद्दा लडेर ल्याएको संसद् बचाउन आफूलाई भोट दिन आग्रह गरे । प्रधानमन्त्रीले लोकतन्त्रलाई धरापमा पारेको भन्ने प्रचण्डको भनाइप्रति ओलीले कटाक्ष गरे ।

‘एकजना मित्रले लोकतान्त्रिक प्रणालीको बहुत जोडदार बहस गर्नुभयो । १०/१५ वर्ष अगाडि लोकतन्त्रको विरुद्ध लडेकालाई हामीले लोकतन्त्रमा ल्यायौँ । उहाँले लोकतन्त्रको तरफदारी गर्दा खुशी लागेको छ,’ ओलीले भने ।

प्रतिक्रिया