पार्टी विभाजन भए नेपाल–खनाल समूहमा जान्छु : वामदेव गौतम

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता वामदेव गौतमले एमाले विभाजन भएको खण्डमा आफू नेपाल–खनाल समूहमा जान तयार भएको बताएका छन् । उनले माधवकुमार नेपालले पार्टी विभाजन गरेर जाने अवस्थामा सो समूहमा गएर साथ दिने बताएका हुन् ।

पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने जस्ता काममा भने आफ्नो सहमति नहुने नेता गौतमले बताए । उनले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत् दुई धारणा सार्वजनिक गरेर आज सो कुरा बाहिर ल्याएका हुन् ।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ गौतमले भनेका छन्, ‘तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’

नेता गौतमले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ मा फर्कन पनि आग्रह गरेका छन् । तर, ओलीले उक्त आग्रह स्वीकार नगरेको उनले बताए । ओलीलाई गौतमले त्यसो भए म साथमा छैन भन्ने जानकारीसमेत दिइसकेका छन् ।

प्रतिक्रिया