पार्टीले एक अग्रज नेतृत्वलाई गुमायो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति कार्कीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा आज बिहान ७८ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई मर्माहत र दुखित बनाएको उल्लेख जनाउँदै उनिप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले कार्कीले पार्टी संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने बताएका छन् ।

विसं १९९९ पुस १४ गते जन्मिएका कार्की २०१८ सालदेखि कांग्रेसको राजनीतिमा संलग्न रहँदै आएका थिए । पार्टी प्रतिबन्धितकालमा उनी कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कोषाध्यक्षसमेत थिए । नेपालमा लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा कार्कीले पटकपटक कारागार जीवन बिताएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज नेतृत्वलाई गुमाएको बताएका छन् ।

प्रतिक्रिया