मिथिला कलाको पहिचान र बजारीकरण

एस.सी. सुमन

कलाको बजारीकरण हुनु राम्रो हो तर, अत्यधिक बजारीकरण पनि कलालाई ह्रासतर्फ लैजान्छ । मिथिला लोककला जसमा महिलाको बाहुल्यता रहिआएको छ । मिथिला लोककलाले महिलालाई स्वावलम्वनतर्फ उन्मुख गराएको छ । महिलाको आयआर्जनमा यसले पनि महत्वपूर्ण स्थान ओगटेको छ ।

घरको भित्तामा अर्थपूर्ण र सन्देशमूलक चित्रहरू कोरेर ज्ञान दिनुका साथै घरलाई सजाउने परम्पराबाट सुरु भएको ‘लिखिया’ जो मिथिला चित्रकलाका रूपमा सर्वाधिक चिनिन्छ । भूमिचित्र र भित्तिचित्र परम्परा अहिले घरको भित्ताबाट क्यानभास, कागज तथा कपडामा परिणत भई पटचित्रमा सीमित हुन थालेको छ । मिथिला क्षेत्रमा बस्ने सबै जातजातिका मानिसले विभिन्न चाडपर्व तथा संस्कारमा आफ्नो घरमा प्राकृतिक रङबाट विभिन्न किसिमका चित्र बनाउँदै आएका छन् । मिथिलामा विवाह, चाडपर्व, पूजाआजा हुँदा अनिवार्य रुपमा माटोका घर–आँगनमा अरिपन चामलको पिठो र सिन्दुरबाट बनाउने प्रचलन तथा भित्तामा देवीदेवता, चराचुरुंगी, मानिस, बोटबिरुवा, फलफूल, जनावर लगायतका रुपाकार विभिन्न रातो, पहेँलो, हरियो, निलो, सुन्तलाजस्ता उज्यालो रङको प्रयोग गरी रंगाउने चलन रहिआएको छ । सयौँ वर्ष अघिदेखि मिथिलामा लिखियाको परम्परा निरन्तर चल्दै आएको छ । यो परम्परा हजुरआमा, आमाबाट छोरीबुहारीसम्म पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै आएकाले लिखियालाई जीवन्त परम्परा भन्ने गरिन्छ ।

चित्रकलालाई कलामध्येको श्रेष्ठ स्थान प्राप्त छ । मानवमा अनुकरणीय प्रवृत्तिले जस्तो देख्छ त्यस्तै आफूलाई ढाल्ने प्रयास गर्छ । रङ र तुलिकाको भरमा चित्रकार जनभावनालाई अभिव्यक्त गर्ने गर्छन् । पाषाणयुगदेखि नै चित्रको माध्यमले सिकार गर्दा नै आदिम मानवले वनजंगलको खतरनाक प्रवासीविरुद्ध आफ्नो अस्तित्वका लागि संघर्ष गर्दै, आफूलाई अभिव्यक्त गरेका थिए । अभिव्यक्तिको कुशल शक्ति नै कला हो । अर्काे शब्दमा मनभित्रको अन्तःकरणको सुन्दर प्रस्तुति नै कला हो । विभिन्न विद्वानले कलालाई भिन्न तरिकाले परिभाषित गरेका छन् । तथापि, साहित्य संगीत कलाविहीनः । साक्षात्पशुः पुच्छ विषाणहीनः ।। रवीन्द्रनाथ ठाकुरका अनुसार ‘कलामा मानिसले आफ्नो भावको अभिव्यक्ति गर्ने गर्छन् ।’

जीवनको लामो अनुभवपश्चात् कुनै कलाकार आफ्नो कलाकृतिमा आफ्नो मनभित्रबाट सिर्जना गर्छन्, कसैले आफ्नो आफ्नो दिमाग, त कसैले आफ्नो श्रम वा मिहिनेत त कुनै कलाकार आफ्नो सम्पूर्ण समय यानी आफ्नो जीवन नै समर्पित गरेका हुन्छन् । यो सँगसँगै कसैले आफू अतिरिक्त आफ्नो सहयोगी कलाकार वा अन्य कामदारको सहायताले पनि रातदिन एक गरी निर्माण गर्ने गर्छन् । अर्काेतर्फ सामाजिक मूल्य–मान्यताबाट कलाकार र समाज पनि ग्रसित छ । यसरी जन्मेका कलामा आफ्नो मौलिकता कसरी खोज्ने भन्ने अहम् प्रश्न छ । थोरै कलाकार मिथिला लोककलामा समसामयिक धारामा प्रवेश गरेर सामाजिक सवालमा प्रवेश गरी आफ्नो एक अलग्गै पहिचान बनाउन लागिपरेको देखिन थालेको छ ।

कलाको बजारीकरण हुनु राम्रो हो तर, अत्यधिक बजारीकरण पनि कलालाई ह्रासतर्फ लैजान्छ । मिथिला लोककला जसमा महिलाको बाहुल्यता रहिआएको छ । मिथिला लोककलाले महिलालाई स्वावलम्वनतर्फ उन्मुख गराएको छ । महिलाको आयआर्जनमा यसले पनि महत्वपूर्ण स्थान ओगटेको छ । मिथिला लोककलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोकप्रियताले यसप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था पनि आकर्षित भएका छन । समय अवधिमा बाँधिएर गरिएका कला सिर्जना तथा उन्मुक्त रुपमा गरिएका कला सिर्जना दुई फरक विधा हुन् ।

समयसँग बाँधिएर गरिने कला सिर्जनाको प्रस्तुति सोचेअनुरुप उत्कृष्ट हुँदैन भने उन्मुक्त रुपमा गरिएका कला सिर्जना सशक्त र उत्कृष्ट भएर अगाडि आएका हुन्छन् । कुनै पनि कलाकारको कल्पनाशीलता सिर्जनशीलता समायोजन गर्ने क्षमता प्रस्तुतिकरणले कलाकारलाई सशक्त रूपमा अगाडि ल्याउने गर्दछ । यिनै कुराको अभावमा केही कलाकारको प्रस्तुतीकरण कमजोर देखिन गएको अवस्था छ । हतारमा गरिएका कला प्रदर्शनीले पनि कलाकारको प्रस्तुति कमजोर देखिन आएको छ । यस विषयमा कलाकार सचेत हुन आवश्यक देखिन्छ ।

कुनै कलाकार मात्र नयाँ–नयाँ आइडियालाई कला मान्छन् त कोही मात्र ‘आर्ट स्किल’ र नयाँ टेक्नोलोजीलाई कला मान्ने गर्छ । आफू कलाकार हुनुको सामाजिक दायित्वलाई मूर्त तथा अमूर्त रुपमा अभिव्यक्त गर्दै आएका छन् । जसलाई हामी कला मानौं या नमानौं हाम्रो स्वतन्त्रता हो । यति हुँदाहुँदै यसभित्र पनि विशिष्टता बोकेको कलाकार नामक प्राणी हुन्छन् जसले अरुको कलालाई सहजताले नक्कल गर्ने गर्छन् । अरू प्रष्ट रूपले भन्दा सजिलै चोर्ने गर्छन् । जसलाई हामी चटके कलाकार भन्ने गर्छौं । यहाँसम्मको निर्लज्जताले अरुले बनाएको कलाकृति खरिद गरी वा आफ्नो लागि निर्माण गर्न लगाई, त्यसमाथि आफ्नो नाम लेखी बिक्री गर्ने गर्छन् । आफ्नो नाउँले गरिएको एकल प्रदर्शनीमा राखी प्रदर्शन गर्ने गर्छन् । यसरी मूल कलाकारभन्दा पहिले बिक्री पनि गर्दिन्छन् । किनभने उसको नजरमा बिक्री गर्नु नै कला हो ।

यतिमात्रै होइन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठनँगै मिथिला कलाको मूल कलाकारको कलाकृतिमा चट्के कलाकारले आफ्नो नाउँ लेखी राष्ट्रिय प्रदर्शनीमा दर्ता गराई पुरस्कृत भएको विवादसमेत नभएको होइन । आजको समयमा छिटोभन्दा छिटो नाम र दाम कमाउने होड चलेको छ । मिथिला कलाको राजधानी जनकपुरमा यस्ता गतिविधिले व्यापकता पाएको छ । स्थानीय केही कलाकारबाट यस्तो कुराको विरोध हुँदा भारत मधुवनीबाट विना नामको कलाकृति न्यूनतम मूल्यमा खरिद गरी, आफ्नो नाम लेखी विभिन्न आर्ट ग्यालरीमार्फत बिक्री वितरण हुने गरेको कुरा विभिन्न छापा तथा समाजिक सञ्जालमार्फत जनसमक्ष आइरहेको छ । नेपाल सरकार तथा प्रादेशिक सरकारबाट उपेक्षित कला र कलाकार निजीस्तरबाट केही हदसम्म रोजगार उपलब्ध गराउने नाममा शोषित नभएका होइन । जसले गर्दा मिथिला कलाको प्रतिष्ठामा प्रश्नचिन्ह लाग्ने गरेको छ । पक्कै पनि मिथिला कलाले हामीलाई प्रतिष्ठा दिएको छ, हाम्रो पहिचानलाई उचाइ दिएको छ । तसर्थ हामीले पनि यस कलाको गरिमा कायम राख्नुपर्छ । यो हामी कलाकारको पहिलो प्राथमिकता हो, जहाँ हामी कलाकार स्वयं सचेत तथा इमानदार हुनु जरुरी छ । प्रत्येक कलाकार हामी सर्जक हौँ, श्रमिक होइनौँ । हामीले गरेका सिर्जनामा हाम्रो नाउँ लेख्नु हाम्रो अधिकार हो ।

सम्भवतः आगामी दिनमा नेपाली कला आफ्नो अलग्गै पहिचान बनाउन तत्पर छ । आज हामीले यसलाई विभिन्न नाम परम्परागत कला, लोककला वा उपयोगी कलाजस्ता नाम दिएर यसका उत्थानका लागि बहस हुने गरेको छ । जेभए पनि यसमा अन्तर्निहित कलाकारको शिल्प–कौशलता, कल्पनाशीलत र रचना–दक्षताको खुलेरै अभिलेख राख्न र विश्लेषण हुनुपर्ने आवश्यकता देखिएको छ । अब पनि पहिलेजस्तै कलाकार छायाँमा पर्नु हुँदैन । कमसेकम सिर्जनामा नामसमेत लेख्न नहुने वा लेख्न नदिने परम्पराबाट कलाकार बाहिर आउँदै गरेको देखिन्छन् । अहिले परम्परागत कला वा लोककलामा काम गर्ने कलाकारले आफ्नो नाउँ लेख्ने परम्परा सुरु गरेका छन् । यो एउटा सुखद् पक्ष हो ।

पहिलो चरणमा प्रादेशिक सरकारले प्रत्यक्ष कलाकार भेला गरी कलाकारको कथाव्यथा, यसभित्रको चुनौतीसँग साक्षात्कार हुनु जरुरी देखिन्छ । दोस्रो चरणमा प्रादेशिक सरकारको पहलमा प्रादेशिक विकासमा मिथिला कलाको भूमिका र सम्भावना, कला संग्रहालय, ग्यालरी, स्टुडियोको स्थापना, कलाको माध्यमले आर्थिक उत्थान लगायतका विविध विषयमा कलाविज्ञसँग गहन छलफल गरी, छुट्टै कला संकायको गठन गरी विश्वविद्यालय एवं विद्यालय तहमा समेत यसको अध्ययन अध्यापन कार्य सुरु गर्नुपर्ने आवश्यकता रहेको छ । मिथिला कलाले यस क्षेत्रलाई विश्वमा कलाक्षेत्रको रूपमा चिनिनेछ भने जनविश्वास रहेको छ । जसअनुरूप प्रदेश सरकारले छुट्टै कला नीति बनाई अबिलम्ब काम थाल्ने छ भनी आशा गर्न सकिन्छ ।

[email protected]

प्रतिक्रिया