संवैधानिक आयोगमा रिक्त पदकाेलागि काे काे परे सिफारिसमा ?

काठमाडौं । संवैधानिक परिषद्को बैठकले तीन संवैधानिक आयोगमा रिक्त रहेको पदमा पूर्तिको सिफारिस गरेको । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा झापा, गौरादहका माधवप्रसाद रेग्मी सिफारिस गरेको छ । उनी पूर्वसचिवसमेत हुन् ।

अख्तियार अनुसन्धान आयोगको रिक्त दुई आयुक्तमा पूर्वसचिव डा. हरि पौडेललाई नियुक्ति सिफारिस गरेको छ । त्यस्तै, अर्को रिक्त सदस्यमा दिलीप रेग्मी नियुक्ति सिफारिस गरेको बताइएको छ । निर्वाचन आयोगको रिक्त सदस्यमा डा. वीरबहादुर राईलाई सिफारिस गरिएको छ ।

रिक्त पदपूर्ति गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र बैठकसम्बन्धी कार्यविधि) संशोधन अध्यादेश जारी गरेकी थिइन् । सरकारले गत मंसिर ३० गते पनि अध्यादेशमार्फत नै संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्यहरू सिफारिस गरेको थियो ।

त्यति बेला ल्याइएको अध्यादेश पुनःस्थापित पहिलो संसद् बैठकमा टेबल गर्न सत्तारूढ दल र विपक्षी पार्टीहरूले दिएनन् । पछि पनि टेबल भएन । र, कानुनतः निस्क्रिय भएपछि पुनः अध्यादेश ल्याएर पदपूर्ति सिफारिस गरिएको हो ।

प्रतिक्रिया