सुवालको स्मृति

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले अग्रज कलाकार शंकरराज सिंह सुवालको १३औँ दिनको स्मृतिमा भर्चुअल रुपमा श्रद्धाञ्जली सभा गरेको छ । नेपाली कलाक्षेत्रमा छ दशकभन्दा लामो समय बिताएका सुवालको निधनले ललितकला क्षेत्रमा अपूरणनीय क्षति पुगेको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताए । उनले सुवाल बहुप्रतिभाशाली कलाकार रहेको जनाउँदै कलाक्षेत्रप्रति प्रतिबद्ध व्यक्तित्व रहेको सुनाए ।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले सुवाल कलामा नयाँ नयाँ प्रयोग गर्न र प्रविधिमा समेत आफूलाई सधैं जिज्ञासुका रुपमा लिएर हिड्ने व्यक्तित्व रहेको सुनाए । उनले नेपाली कला र पत्रकारिता क्षेत्रमा सुवालको योगदान अतुलनीय रहेको बताए । अग्रज कलाकार तथा ललितकला क्याम्पसका पूर्वप्रमुख गोविन्द डंगोलले सुवाल हक्की र कलाक्षेत्रको हितमा काम गर्ने व्यक्तित्व रहेको बताए । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले कला र पत्रकारितासँगै सुवालले संस्थागत रुपमा समेत यसक्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘नेपाली कलामा विविध विधामा काम गर्दै सुवालले नयाँ नयाँ प्रयोग गर्नुभयो । साथै आधुनिक नेपाली कलालाई अगाडि बढाउनमा समेत उहाँको भूमिका विशिष्ट रहेको छ ।’

सो कार्यक्रममा अग्रज कलाकार तथा आधुनिक कलाकार समाजका महासचिव जीवन राजोपाध्यायले सुवालको निधनले आधुनिक नेपाली कलामा अपुरणनीय क्षति पुगेको बताए । उनले ललितकला प्रज्ञा प्रतिष्ठान स्थापनाका आन्दोलन मात्रै होइन कला सिर्जनाका माध्यमबाट पनि समाजलाई ठूलो योगदान दिएको विचार व्यक्त गरे । कलाकार तथा कला समीक्षक मुकेश मल्लले कलाक्षेत्रमा इमानदारिताका साथ काम गर्ने कलाकारको रुपमा सुवाल रहेको बताए । त्यस्तै, प्राज्ञ सुषमा राजभण्डारीले सुवालको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरिन् ।

आधुनिक कलाकार समाजका अध्यक्षसमेत रहेका सुवालको १० बैशाखमा कोभिड–१९ संक्रमणबाट भएको निधन भएको थियो । उनी लामो समय गोरखापत्रमा काम गरेर उपल्लो तहबाट सेवानिवृत्त भएका थिए । उनले भारतको बरोडाबाट कलाको औपचारिक शिक्षा लिएका थिए । त्यसैगरी उनले जर्मनीबाट समेत कला तथा प्रिन्टमेकिङका बारेमा प्रशिक्षण लिएका थिए । उनका डेढ दर्जनभन्दा बढी एकल तथा दर्जनौं पटक देश विदेशमा सामूहिक कला प्रदर्शनीमा सहभागी भएका थिए । कलाकार सुवाल झण्डै एक दशकदेखि मुटुरोगी थिए ।

कुलपति कर्माचार्यले उक्त सर्कलमा सँगै बसेर काम गरेको अनुभव सुनाउँदै भने, ‘कलाकार सुवालका पेन एण्ड इन्क आर्ट असाध्यै सुन्दर र आकर्षक रहेका छन् । त्यस्तै, उहाँले ठूला–ठूला आकारमा बनाएका चित्र निकै राम्रा र दर्शकका लागि मनपर्ने खालका छन् ।’ २००५ सालमा काठमाडौंमा जन्मिएका सुवालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया