खेल-खेलाडी

विराटनगरलाई हराउँदै ललितपुर प्ले अफमा

सौर्य अनलाइन २०७८ वैशाख २६ गते ७:०५ मा प्रकाशित

काठमाडौं । तनावपुर्ण बनेको खेलमा विराटनगर सिटी एफसीलाई पराजित गर्दै ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा प्ले अफमा स्थान पक्का गरेको छ । कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले दुई तथा बिमल राना र नुर्लान नोभ्रुजोभ जाहिदले समान एक गोल गरेपछि ललितपुरले विराटनगरलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । योसँगै प्ले अफ पुग्ने ४ मध्ये ३ टोलीको टुंगो लागेको छ । धनगढी एफसी र काठमाडौं रेजर्स यसअघि नै प्ले अफमा पुगिसकेका छन् । रेफ्रीको निर्णयमा बारम्बार आपत्ती जनाएको विराटनगरले दोस्रो गोल खाएपछि मैदान छाड्दा ७ मिनेट खेल रोकिएको थियो । आफूले पटक दुई पेनाल्टीमा रेफ्रीले वेवास्ता गरेको भन्दा विराटनगरका प्रशिक्षक र व्यवस्थापन टोलीले खेलाडीलाई मैदान बाहिर निस्किन भनेका थिए । विदेशी खेलाडी पेड्रो मान्जी बाहेक सबै खेलाडीले मैदान छाडेका थिए ।

पछि विराटनगरका खेलाडी मैदान भित्र प्रवेश गरेपछि पुनः खेल सुरु भएको थियो । एनएसएलको सबैभन्दा विवादस्पद बनेको खेलमा विराटनगर १० खेलाडीमा सिमिति भएको थियो । दोस्रो हाफमा मैदान पसेका विजय धिमाल दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि विराटनगरमा १ खेलाडी कम भएको थियो ।ल लितपुरको जितमा कप्तान समेत रहेका मार्की खेलाडी अन्जन विष्ट नायक बने । उनले २ गोल गर्नुका साथै अर्को गोलमा एसिस्ट गरेका थिए ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको सातौ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा भिलिम पोसिन्कोभिकको वान टच प्रहारले साइड नेट गर्दा ललितपुर सिटी एफसी अग्रता लिनबाट चुक्यो ।

२७औं मिनेटमा सन्तोष तामाङको पेनाल्टी बक्सबाहिरको फितलो प्रहारलाई गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए । ३५औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई गोलरक्षक किशोर गिरीले पहिलो बारमा उत्कृष्ट बचाउ गरे । ३६औं मिनेटमा मिक्चेन तामाङको कर्नरमा बिमल रानाको हेडर प्रयासलाई गोलरक्षक किशोर गिरीले बचाउदा रिवाउन्डमा अन्जन विष्टले हाफ भलीमा सुन्दर गोल गर्दै अग्रता दिलाए । गोल लाइनमा दिवाकर चौधरीले बचाउने प्रयास गरेपनि सफल भएन । ५७औं मिनेटमा सुनिल बलको कर्नरमा मनिष डाँगीको हेडरलाई गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए । ६३औं मिनेटमा बिमल रानाले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारे । डोना थापाले दिएको पासलाई अन्जन विष्टले नियन्त्रणमा लिदै गोलरक्षक किशोर गिरीलाई बिट गर्दै दिएको पासलाई बिमल रानाले खाली पोस्टमा गोल गर्न सफल भएका थिए ।

ललितपुरले दोस्रो गोल गरेलगत्तै विराटनगरका खेलाडीले मैदान छाड्दा खेल झन्डै ७ मिनेट केहीबेर रोकिएको थियो । ७८औं मिनेटमा पेड्रो मान्जीको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले नियन्त्रणमा लिन नसकेपनि फ्रेममा नपर्दा विराटनगर गोलअन्तर कम गर्नबाट चुक्यो ।
८१औं मिनेटमा अन्जन विष्टले हेडमार्फत सुन्दर गोल गर्दै ललितपुरलाई ३–० ले अघि बढाए । विक्रम धिमालले बिमल रानालाई लडाएपछि झन्डै ४० यार्डबाट कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा अन्जत विष्टले फ्रि हेडर मार्फत गोल गर्न सफल भएका थिए । ८५औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटियो । बिमल रानालाई फल गरेपछि विक्रम धिमाल दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए ।

उनी ७०औं मिनेटमा रन्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नुर्लान नोभ्रुजोभ जाहिदले गोल गर्दै ललितपुरलाई ४–० को फराकिलो जित दिलाए । ललितपुरका डोना थाप इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरकै कप्तान तथा मार्की खेलाडी अन्जन विष्ट प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे । जितपछि ललितपुरको ६ खेलबाट ९ अंक पुगेको छ । ललितपुरसँग हार बेहोरेसँगै विराटनगर प्ले अफमा पुग्न असफल भएको छ । अब पोखरा थन्डर्स र बुटवल लुम्विनी मध्ये एक टोली प्ले अफमा पुग्नेछ । बुटवल लुम्विनीलाई प्ले अफमा पुग्न धनगढीविरुद्ध निश्चित जितको खाँचो छ । बराबरी या हारले पोखराले प्ले अफमा स्थान पक्का गर्दा बुटवल लुम्विनी बाहिरिनेछ ।

धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय