गुल्मी । मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर घाइतेहरुलाई अस्पताल ल्याउने क्रममा गाहाको मृत्यु भएको हो ।
आज बिहान ५ः३० बजे घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँकी ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीया जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
घाइतेमध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अनुहारलगायत शरीरमा चोट लागेको छ ।
प्रतिक्रिया