एमालेले बनायो गृहमन्त्री थापालाई राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवार

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले गृहमन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय सचिव शेरबहादुर तामाङले बताए ।

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाएको हो । पहिले पनि थापाले नै चुनाव जितेको सिटमा फेरि पनि उनलाई नै उम्मेदवार बनाएको तामाङको भनाइ छ ।

एमालेलाई एक ढिक्का बनाएर लैजाने दुवै समूहका नेताहरु छलफलमा जुटेका छन् । ओली र खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरुबीच पार्टी एकताका विषयमा बिहीबार विभिन्न चरणमा छलफल भएको थियो ।

आजै बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेपछि गृहमन्त्री थापा उम्मेदवारी दर्ताको लागि हेलिकोप्टरबाट आज बिहान हेटौँडा गएको बताइएको छ । बागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो ।

प्रतिक्रिया