आइपिएल अनिश्चितकालको लागि स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको छ । आठ मध्य चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको हो । सोमबार कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चेन्नई सुपर किंग्सका बलिङ प्रशिक्षक एल बालाजी सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सनराइजर्स हैदराबादका विकेटकिपर ऋद्धिमान शाह र दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि आइपिएल अनिश्चित समयको लागि स्थगित हुन पुगेको हो । मंगलबार हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम थियो । लगातार खेलाडीमा कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट बोर्ड कन्ट्रोलको बैठकले स्थगित गर्ने निर्णय लिएको हो । सोमबार रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सको खेल स्थगित भएको थियो ।

आइपिएलका २९ खेल सकिँदा दिल्ली शीर्ष, चेन्नई दोस्रो, बेंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् । भारतमा हरेक दिन कोरोना महामारीले विकराल रुप लिदा पनि आइपिल निरन्तर हुँदै आएको थियो । चेन्नईको टोली क्वारेन्टाइनमा बसेको छ । यस अघि दिल्लीका तीव्र गतिका बलर एनरिच नोर्किया र स्पिनर अक्षर पटेलमा पनि कोरोना संक्रमण देखिएको थियो । यी दुवै खेलाडीले कोरोनालाई जितेका थिए । त्यस्तै कोलकाता नितिश राणा, बेंगलोरका ओपनर देवदत्त पाडिक्कल पनि कोरोना जितेर मैदान फर्किसकेका छन् । पछिल्लो समय दिल्लीले पन्जाब किंग्ससँग खेलेको थियो । हैदराबादले राजस्थान रोयल्ससँग खेलेको थियो । अप्रिल ९ देखि सुरु भएको आइपिएल कोरोना संकटमा पनि निरन्तर जारी थियो । आइपिएलको दौरानमा एक खेलाडीमा कोरोना संक्रमण देखिए ६ दिन अनिवार्य क्वारेनटाइन बस्नुपर्ने नियम थियो ।

प्रतिक्रिया