मृत्युपछि आफ्नो शरीर दान गर्ने नेता वाग्लेको घोषणा

सर्लाही । नेकपा एमाले सर्लाही जिल्ला कमिटीका सदस्य चूडामणि वाग्लेले मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन् । मृत्युपछि पनि शरीर काम लाग्छ भने किन खरानी बनाउनु भन्दै उनले सोमबार जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत शरीर दान गर्ने घोषणा गरेका हुन् ।

नेता वाग्लेका अनुसार, स्वास्थ्य प्रतिष्ठानसंग सोमबारै लिखित सहमति गर्ने योजना रहेकोमा कोरोनाको संक्रमण बढ्न थालेपछि सो लिखित सहमति सहज वातावरण भएपछि मात्र गर्ने उनले जानकारी दिए ।

‘मृत शरीर चिरफार गरेर चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीले अध्ययनमा लाभ लिउन् र कुनै अंग काम लाग्ने भएमा प्रयोग होस्’, नेता वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन् । उनी अगाडि लेख्छन्, ‘कोरोना महामारीका कारण अनुकूल समयमा पार्थिव शरीर दान दिने समझदारी गरिने छ, आज चाइँ मेरो इच्छा सावजनिक गरेँ ।

पूर्वपत्रकार समेत रहेका वाग्ले लामो सयमदेखि राजनीति, समाज सेवा र परोपकारमा क्रियाशील रहेका छन् । वाग्ले नेपाल पत्रकार महासंघ सर्लाही शाखाका संस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया