महोत्सवमा अनुराग

काठमाडौं । चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा चर्चित भारतीय निर्देशक अनुराग कश्यपले आफ्नो बाँड्ने भएका छन् । २३ बैशाखदेखि २७ सम्म आयोजना हुने महोत्सवको चौथो संस्करणमा अनुरागले सिनेमासम्बन्धी विषयमा आफ्ना विचार राख्ने जनाइएको छ । महोत्सवको उद्घाटनपछिको पहिलो सत्रमा उनले आफ्ना अनुभव बाँड्ने प्रतिष्ठानले जनाएको छ । कोरोनाका कारण भर्चुअल माध्यमबाट हुन लागेको महोत्सवको पहिलो दिनको दिउँसो ३ः३० बजेबाट करिब डेढघण्टा उनलाई सुन्न पाइने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । उनका अनुसार दोस्रो दिनदेखि सिनेमासम्बन्धी विभिन्न विषयमा छफलल र बहस सञ्चालन हुनेछन् ।

निर्देशक अनुराग भारतीय चलचित्र उद्योगमा लेखक, निर्माता, अभिनेता र सम्पादकका रुपमा परिचित छन् । उनले सन् २०१२ मा निर्देशन गरेको चलचित्र ‘ग्याङ्स अफ वासेपुर’ फ्रान्सको ‘क्यान्स फेस्टिभल’ को ‘डाइरेक्टर्स फोर्टनाइट’ मा प्रदर्शन भएपछि उनको चर्चाले व्यापकता पाउन थालेको हो । अस्कर अवार्डमा मनोनित ‘वाटर २००५’ मा हिन्दी संवाद, ‘ब्ल्याक फ्राइडे’, ‘गुलाल’, ‘देव डी’, ‘द्याट गर्ल इन येल्लो बुट्स’ र ‘लन्च बक्स’ लगायतका चलचित्रमा सहभागिता र तिनले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त गरेको सफलताले उनलाई झनै स्थापित गर्न सघाउ पु¥यायो ।

अध्यक्ष पाठकले महोत्सवमा सहभागी चलचित्रहरु नेट टेलिभिजनबाट प्रसारण गरिने जानकारी दिए । उनले ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित महोत्सव सुरु गरिएको बताए । पाठकले भने, ‘नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वको चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने, चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरी फैलाउने गरी नेपालमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएका हौं ।’ उनले यो वर्ष महामारीको विषयमा बनेका चलचित्रलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइने र अवार्ड पनि वितरण गरिने सुनाए । उनका अनुसार कोरोनाले प्रभावका विषयमा बनेका चलचित्रले पाँच सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई पाँच सय डलर राशीको वाग्मती अवार्ड प्रदान गरिनेछ । त्यसैगरी, नेपाली प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार रुपैयाँ र फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने पाठकले जानकारी दिए ।

प्रतिक्रिया