मई दिवसको सार्थकता शोषण उत्पीडनबाट मजदुर वर्गको मुक्ति

लोकनारायण सुबेदी

मजदुर वर्गको मुक्ति पूर्णरूपमा त्यतिबेला मात्र सम्भव हुन्छ जब इतिहासमा राज्यको अस्तित्व पूर्णरूपमा समाप्त हुन पुग्दछ । अनि यस्तो समाजमा मानिसले आफ्नो काम काजलाई त्यसरी नै सम्पन्न गर्नेछन् जस्तो किसिमले उनीहरूले अतितमा गर्ने गर्दथे । राज्य नामको संंस्था त वर्ग पैदा भएपछि त्यससँगै उत्पन्न गरिएको हो । अतः समाजमा वर्ग मेटिनासाथै यो राज्य नामको संस्था पनि मेटिएर जान्छ ।

मजदुर वर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल माक्र्सले भनेका थिए कि मजदुर वर्गको मुक्ति स्वयं मजदुर वर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो, ‘जबसम्म मजदुर वर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा लिँदैन तबसम्म उसको मुक्ति सम्भव छैन र हुन सक्तैन ।’
त्यसो भए खास अर्थमा मजदुर वर्गको मुक्ति भनेको यस्तो समाज व्यवस्था कायम गर्ने कार्य हो जुन समाजमा वर्ग नै समाप्त भएर जान्छ । त्यहाँ न शोषक वर्ग रहन्छ न शोषित वर्ग रहेको हुन्छ । यो त्यस्तो समाज हो जहाँ वर्गको अन्त्य भएको हुन्छ र मनुष्य जाति एकजुट हुने स्थिति बनेको हुन्छ । प्रष्ट छ, यस्तो वर्गरहित अबस्थाको सिर्जना हुनु नै मजदुर वर्गको मुक्ति हो ।

यसरी मजदुर वर्गको मुक्तिको प्रष्ट अर्थ हो, ‘राज्य नामको संस्थाको अन्त्य भएको स्थिति ।’ त्यो एउटा यस्तो समाज व्यवस्था कायम भएको अवस्था हुनु हो जहाँ राज्य सत्ता हुँदैन । जहाँ पुलिस, सेना, जेल, न्यायालय आदि नामका कुनै संस्थाहरू हुँदैनन् । राज्य नामको संस्था वास्तवमा एक वर्गले अर्को वर्गलाई दबाउने संयन्त्र हो । मजदुर वर्गको मुक्ति पूर्णरूपमा त्यतिबेला मात्र सम्भव हुन्छ जब इतिहासमा राज्यको अस्तित्व पूर्णरूपमा समाप्त हुन पुग्दछ । अनि यस्तो समाजमा मानिसले आफ्नो काम काजलाई त्यसरी नै सम्पन्न गर्नेछन् जस्तो किसिमले उनीहरूले अतितमा गर्ने गर्दथे । राज्य नामको संंस्था त वर्ग पैदा भएपछि त्यससँगै उत्पन्न गरिएको हो । अतः समाजमा वर्ग मेटिनासाथै यो राज्य नामको संस्था पनि मेटिएर जान्छ ।

मजदुर वर्गको मुक्तिको अर्थ हो एउटा यस्तो समाज व्यवस्थाको निर्माण जहाँ मानिसले पूरै आफ्नो क्षमताअनुसार काम गर्नेछ अनि समाजबाट आफ्नो आवश्यकता अनुसार चीज बस्तुहरू लिनेछ । त्यो समाजमा अभाव भन्ने कुनै कुरा रहँदैन । त्यसको विपरीत हरेक कुरा प्रचुर मात्रामा उपलब्ध हुन्छ जसले गर्दा कसैलाई मानवीय आवश्यकताका चीज बस्तुहरू न त संग्रह गर्नुपर्ने स्थिति हुन्छ न त त्यसको चिन्ता गर्नुपर्ने अबस्था नै हुन्छ । त्यहाँ व्यक्तिले समाजको त्यसरी नै चिन्ता र वास्ता गर्नेछ जसरी समाजले व्यक्तिको चिन्ता गर्ने गर्दछ ।

मजदुर वर्गको मुक्तिको अर्थ हुन्छ कि मानिस मानिसका बीच भाषा, लिंग, नश्ल, राष्ट्र, जाति आदि आदि कुराका आधारमा हुने गरेको विभाजन, त्यस आधारमा हुने झै–झगडा मेटिइसकेका हुन्छन् । मानिस मानिस बीचका यी सम्पूर्ण भेदभाव मेटिइसकेपछि त्यहाँ जस्तो समाज बन्दछ त्यो समाज नै बस्तुतः यस्तो समाज हुन्छ जहाँ मानिसको चौतर्फी अत्यधिक विकास हुन सक्नेछ । मानिसको उन्नतिको बाटोमा समाज कुनै पनि प्रकारले बाधक नभएर हर कदममा व्यक्तित्व बिकासको साधक र सहायक हुन्छ । यथार्थतः मजदुर वर्गको मुक्तिको अर्थ यसरी सम्पूर्ण मानव जातिको मुक्ति बन्न जान्छ । यस्तो किसिमको उन्नत, वैज्ञानिक, सभ्य र सुसंस्कृत समाज व्यवस्थालाई आमरूपमा साम्यवाद या कम्युनिज्मको संज्ञा दिइएको छ ।

१९औँ शताव्दीमा फ्रान्सको पेरिसमा विश्वमा पहिलोपटक मजदुर वर्गले आफ्नो मुक्तिको कार्यलाई स्वयं आफ्नो हातमा लियो र त्यो आफ्नो मात्र ७२ दिनको शासनकालमा यो कुरा देखाएर छोड्यो कि मजदुर वर्गको मुक्तिको कार्यलाई कसरी प्रारम्भ गर्न सकिन्छ । तिनले मजदुर वर्गको मुक्ति मात्रै होइन, बरु सम्पूर्ण मानव जातिकै मुक्तिको लक्षलाई मजदुर वर्गको मुक्तिको धेयकोरूपमा घोषित गरेका थिए । हुन त पेरिस कम्युनको उमेर या कालखण्ड केवल ७२ दिनको मात्र थियो तर त्यस प्रभावले बिश्वका देशहरूको सीमा र समयलाई सधैँका निमित्त नाघि सकेको थियो । पेरिस कम्युनको त्यो क्रान्तिले मजदुर वर्गको मुक्तिको जुन बिगुल फुकेको या संखघोष गरेको थियो त्यसको अनुगुञ्ज बीसौ शताब्दीका कैयौँ महान क्रान्तिहरूमा पटकपटक गुञ्जि नै रह्यो र सुनिँदै रह्यो । हुन पनि २०औँ शताब्दीमा अनेक महान क्रान्तिहरू मजदुर वर्गको नेतृत्वमा भए । ती महान क्रान्तिहरूमध्ये दुइटा क्रान्ति सर्वोपरीरूपमा रहन पुगे । पहिलो रुसमा १९१७ मा मजदुर वर्गको नेतृत्वमा सम्पन्न ‘महान अक्टोबर समाजबादी क्रान्ति’ थियो भने दोश्रो १९४९ मा भएको चिनीय नयाँ जनबादी क्रान्ति जुन मजदुर वर्गको नेतृत्वमा किसान मजदुर एकताको अधारमा सम्पूर्ण क्रान्तिकरी तह र तप्कालाई गोलबन्ध गरेर सम्पन्न भएको थियो । ती दुबै क्रान्तिहरूमा पेरिस कम्युनको गहिरो छाप परेको थियो । त्यो केवल पेरिस कम्युनको धेय र उदेश्यलाई लिएर मात्र होइन ती दुबै क्रान्तिहरूले पेरिस कम्युनको बिजय र पराजयबाट धेरै शिक्षा लिएका थिए । पेरिस कम्युनले उठाएका कदमहरूबाट प्रेरणा लिएका थिए ।

बास्तवमा पेरिस कम्युनले फ्रान्स र जर्मनी(त्यतिबेलाको प्रशा) का पुँजीवादी शासकहरूको अनुहारबाट एकै चोटी मुखुण्डो उतारिदिएका थियो । पेरिसमा मजदुर वर्गको क्रान्ति हुनासाथ दुबै देशका शासकहरूको निगाहामा उनीहरूको सबैभन्दा ठूलो दुश्मन मजदुर वर्ग बनेको थियो । पेरिस कम्युन कायम हुनुभन्दा पहिला फ्रान्स र जर्मनी महिनौदेखि भीषण लडाइँमा लिप्त रहेका थिए । जसमा हजारौं मानिसहरू मारिएका थिए । पेरिसका क्रान्तिकारी मजदुरहरूले पेरिसको रक्षाको भार आफ्नै काँधमा लिएका थिए । फ्रान्सको पुँजीपति वर्गले पेरिसबाट भाग्नुमा नै आफ्नो कल्याण हुने ठानिरहेको थियो । अनि जब पेरिसका क्रान्तिकारी मजदुरहरूले कम्युन कायम गरे र त्यसलाई सफलतापूर्बक चलाउन थाले तब फ्रान्सका पुँजीपतिहरूले आफ्नो वर्ग बन्धुहरू जर्मनीका पुूजीपतिहरूसँग सुलह–सम्झौता गरे । अनि फेरि जर्मनीको सहयोगमा पेरिष कम्युनमाथि भीषण हमला गर्न थाले र यसरी पेरिस कम्युनलाई दबाएर छाडे ।

पेरिस कम्युनबाट पहिलो महत्वपूर्ण शिक्षा के मिलेको थियो भने मजदुर वर्गले क्रान्ति गर्दा आपसमा लड्ने पुँजीपति वर्ग पनि मजदुर वर्गका बिरुद्ध एक हुने गर्दछन् । ती परस्परको दुश्मनी बिर्सेर मजदुर वर्गमाथि हमला गर्न एकै ठाउँमा खडा हुन्छन् । बास्तवमा उनीहरूका लागि क्रान्तिकारी मजदुर सबैभन्दा ठूलो दुस्मन लाग्दछ । मजदुर वर्गको क्रान्तिबाट अत्तालिएका जर्मनी र फ्रान्सका पुँजीपति शासक वर्गलाई लाग्न थाल्यो कि यदि पेरिसको यो मजदुर क्रान्तिको आगो देशका अरू सहरहरूमा फैलिन थाल्यो भने पुँजीपतिहरूको स्वर्ग पूराका परै जल्ने छ ।
जस्तो किसिमले यसरी १८७१ मा फ्रान्स र जर्मनीका पुँजीवादीहरू मिलेर पेरिस कम्युनलाई कुल्चे ठीक त्यसरी नै १९१७ को महान अक्टोबर समाजबादी क्रान्ति पछि रुसका बिरुद्ध पनि पूँजीपतिहरूले त्यस्तै हमला गरे । वास्तबमा रुसमा समाजबादी क्रान्तिलाई केवल आन्तरिक दुश्मन — पुँजीपति, जमिन्दार र सैनिक अधिकारीहरूले मात्रै होइन, देश बाहिरका दुश्मन पूँजीपति प्रतिकृयावादी वर्गले पनि हमला बोल्यो ।

रुसमा समाजबादी क्रान्तिलाई पुँजीवादी–साम्राज्यबादी खेमाले आफ्ना लागि बहुतै खतरा मानेको थियो र ती सबै रुसमा मजदुर वर्गको सत्ताका बिरुद्ध खडा भएका थिए । त्यतिबेला बिश्वका १४ पुँजीवादी देशहरू मिलेर नब स्थापित समाजबादी देशमाथि आक्रमण गरेका थिए । त्यो भीषण हमला दुइ बर्षभन्दा बढी समयसम्म चल्यो । यद्यपि पेरिस कम्युनको अनुभव र त्यसको शिक्षा रुसका मजदुर वर्गलाई पनि थियो । त्यसैले उनीहरूले आफ्ना भित्री र बाहिरी शत्रुसँग डटेर सामना गरे र तिनलाई हराएर लखेटे । पेरिस कम्युनको पाठका अतिरिक्त रुसमा मजदुर वर्गको अगुवाई गर्ने क्रान्तिकारी नैतिकता र अनुशासनले सुसजिजत रुसी कम्युनिष्ट पार्टी बोल्शेभिक लेनिनको नेतृत्वमा दृढतापूर्ब उभिएको थियो । त्यस पार्टीलाई रुसको क्रान्तिकारी अनुभवकासाथै मजदुर वर्गको अन्तर्राष्ट्रिय शिक्षा पनि थियो । आफ्नो देशको १९०५ को असफल क्रान्ति र १९१७ को फेब्रुअरी पुँजीवादी–जनबादी क्रान्तिको अनुभव पनि थियो । अनि सर्बोपरी त १८७१ कै पेरिस कम्युनको स्थापना गर्न भएको ठूलो क्रान्तिको अनुभव थियो ।

रुसको समाजवादी क्रान्तिलाई जस्तै बिश्वभरी कै पुँजीपतिहरूले बीसौ शताब्दीमा पनि सबै क्रान्तिहरूलाई कुल्चिनका लागि उनीहरूले जे जे गर्न सक्तथे सबै गरे । त्यस क्रममा कयौं क्रान्तिहरूलाई उनीहरूले नराम्रोसँग कुल्चिन सफल पनि भए । कतिपय क्रान्तिले तिनको हमलालाई डटेर सामना गरे र पूँजीबादी वर्गमाथि विजय प्राप्त गरेरै छोडे । पुँजीपति वर्गले जुन जुन क्रान्तिलाई दबायो र कुल्चियो तिनको लामो श्रृंखला र फेहरिस्त छ । युनान, इण्डोनेसियादेखि आरम्भ भएर यो शृंखला ल्याटिन अमेरिकासम्म पुग्दछ । अनि जुन क्रान्तिहरू सफल भए तीमध्येमा १९४९ को चिनिया नयाँ जनवादी क्रान्ति, भियतनाम, क्युबा, उत्तर कोरिया आदि देशहरूका क्रान्तिहरू रहेका छन् । ती सफल क्रान्तिहरूको एउटा सिलसिलाको फलस्वरूप नै २०औँ शताब्दीको पाँचौँ–छैठौँ दशकमा विश्वका १३ देशको एउटा समाजबादी खेमा अस्तित्वमा आउन सकेको थियो । अनि त्यस खेमाका बिरुद्ध पुँजीबादको हमला कहिल्यै रोकिएन । अनि आ–आफ्नो देशमा पनि तिनले आम श्रमजीबी जनतामाथि भिषण दमन चक्र चलाएर क्रान्तिकारी मजदुर वर्गको आभालाई कुल्चिने काम गर्दै रहे । हजारौ हजार मानिसहरूलाई जेलमा कोचियो भने हजारौंको हत्या गरियो । लोकतन्त्रको ढोल पिट्ने साम्राज्यबादी देश अमेरिकाको पनि यस्तै गतिबिधि थियो । हुन पनि ५० को दशकमा अमेरिकामा क्रान्तिकारीहरूमाथि भीषण दमनचक्र चलाइएको थियो । ल्याटिन अमेरिकामा त झन साम्राज्यबादी शक्तिका कठपुतली सरकारहरूको माध्यमले एकपछि अर्को ठूलो नरसंहारको सिलसिला नै चलाइएको इतिहास छ ।

समाजवादलाई जत्तिको खतरा बाह्य पुँजीवादी संसारबाट रहेको थियो त्यत्तिकै या त्योभन्दा पनि बढी खतरा आफँैभित्र छिपेर रहेको या प्रकट घरेलु दुश्मनसँग पनि रहेको थियो, छ । किन पनि भने समाजबादी समाज एउटा अन्तरिम संक्रमणकालीन ब्यवस्था हो । एउटा यो यस्तो ब्यवस्था हो जसको जन्म पुँजीवाद भित्रैबाट हुने गर्दछ तर यसको लक्ष भने साम्यबाद हुने गर्दछ । यसरी समाजबादी ब्यवस्थाले पुँजीवाद भित्रैबाट जन्म लिने भएकाले पुँजीवादी ब्याधी र बिमारीहरू तथा बिकृतिहरूले लामो समयसम्म यस नब स्थापित समाजबादी ब्यवस्थामा टासिएर बस्ने र यसलाई सताउने गर्दछन् । फलतः समाजबाद भित्र पनि केही न केही पूँजीवादी बिकृति र ब्याधीहरूले घर गरिरहेका हुन्छन् । जसप्रति निरन्तर साबधान रहनु र लड्नुपर्ने हुन्छ । स्वभाविक छ कि यदि पेरिस कम्युनले लामो उमेर पाएको भए त्यसले पनि यस्ता समस्याहरूको सामना अबश्य गर्नु पर्ने थियो, जसको सामना सोभियत रुस र जनबादी चीन समेत अन्य समाजबादी देशहरूले गर्नु परेको थियो र छ ।

बास्तवमा बस्तुगत अनुभवले के दर्शाएको छ भने समाजवादभित्र पुँजीवाद पैदा हुने आधार बचेर रहने स्थितिमा यस भित्र समस्याहरू पैदा हुने गर्दछन् । त्यसका आधार हुन् मानसिक र शारीरिक श्रमका बीचको भेद, उद्योग र कृषिको बीचमा भेद, शहर र गाउँका बीचको भेद अनि यसका अतिरिक्त समाजबादमा मूल्यका नियम, मुद्राको प्रचलन, बजारको उपस्थिति आदिले पनि पुँजीवादलाई निरन्तरता दिन मद्दत पुग्ने गर्दछ । सोभियत संघलगायत पूर्वी यूरोपका देशहरूमा समाजबाद समाप्त हुनु र पुँजीवादको पुनस्थापना तथा सुदृढ हुनका प्रमुख कारणहरू यिनै थिए । समाजबाद भित्र पुँजीवाद हुर्कने र बढ्ने कुरालाई रोक्न समाजबादी सास्कृतिक रूपान्तरणलाई निरन्तर जारी राख्नु पर्ने आवश्यकता रहेको निष्कर्ष निस्केको छ । जुन कुरा चीनले सुरु गरेको थियो त्यो पनि सही दिशामा नगएर दुरूपयोग भएको समेत देखियो ।

एक समय पेरिस कम्युनको चर्चा गर्दै लेनिनले भनेका थिए कि पेरिस कम्युनको धेय सामाजिक क्रान्तिको धेय थियो । त्यसको धेय के थियो भने श्रमजीबी जनतलाई पूर्ण राजनीतिक तथा आर्थिक मुक्ति मिल्नु पर्दछ । यो सारा संसारकै मजदुर वर्गको धेय हो । अनि यस रूपमा पेरिस कम्युन अमर छ । अर्थात् पेरिस कम्युनले जुन आफ्नो धेय राखेको थियो त्यही धेय ‘महान अक्टोबर समाजबादी क्रान्ति’ र पछि गएर सर्बहारा साँस्कृतिक क्रान्तिको पनि धेय बनेको थियो । त्यो वास्तवमा मजदुर वर्गको नेतृत्वमा क्रान्ति हुने सबै श्रमजीवी जनताको धेय हो । यो बर्गीय धेयबाट बिचलित भएबपछि त्यसमा बिकृति र बिसंगति उत्पन्न हुन्छ । तसर्थ मानब मुक्तिको मजदुर वर्गले उठाएको यो धेयको मशाललाई जगाउनु र जोगाउनु पर्दछ भन्ने सही भावधारा पैदा गर्नु त्यसबाट मजदुर वर्गलाई सुसज्जित तुल्याउनु नै आज बिश्वभरी मई दिवस मनाउनुको सार्थकता हुन्छ । पेरिस कम्युनको शिक्षालाई शिरोपर नगरी यथास्थितिमा अल्मलिने हो भने अन्तर्राष्ट्रिय मइ दिवस मनाएको कुनै अर्थ हुँदैन भन्ने कुरा बुझ्न आवश्यक छ ।

प्रतिक्रिया