सल्यानमा वैशाखभर निषेधाज्ञा

सल्यान । सल्यानमा वैशाखभर (१३ दिन) निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । सल्यानमा समुदायस्तरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि जिल्ला कोभिड व्यवस्थापन समितिले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भइसकेको तथा कोरोना जाँचमा समेत संक्रमितहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि हुन थालेपछि यसको रोकथामका लागि १९ वैसाखदेखि १ जेठ राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्न लागेको हो । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधानहरू सञ्चालनमा पूर्णरूपमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवश्यक खाद्य सामग्रीहरू खरिद गर्न सकिने छ । यस्तै अत्यावश्यक सवारी सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय सल्यानबाट अनुमति लिनुपर्ने र विवाह, व्रतबन्धजस्ता कार्य गर्दा अनुमति लिएर बढीमा १५ जनासम्म सहभागी हुने गरी सम्पन्न गर्न सकिने जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईंले जानकारी दिइन् ।

यस्तै जिल्ला बाहिरबाट जिल्लामा प्रवेश गर्ने सबै व्यक्तिहरूले अनिवार्य रूपमा १० दिनसम्म स्थानीयतहहरूले निर्माण गरेका क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हुँमागाईंले जानकारी दिइन् । यस्तै कोरोना संक्रमितहरूको उपचारका लागि सल्यान अस्पतालमा २० शय्याको आइसोलेसन निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।

यसैबीच कोरोना संक्रमितहरू बढ्न थालेपछि सल्यान अस्पतालमा आकास्मिक बाहेकका सबै सेवाहरू शुक्रबारदेखि बन्द गरिएको छ । कोरोना संक्रमण बढ्न थालेपछि यसलाई रोकथामका लागि अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवाहरू पूर्णरूपमा बन्द गरिएको स्वास्थ्य कार्यालय सल्यानका व्यवस्थापक दशरथकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लामा केही दिनयता कोराना संक्रमण तीव्र रूपमा फैलिएपछि जिल्लाका त्रिवेणी, छत्रेश्वरी, कपुरकोट गाउँपालिका र वागचौर नगरपालिकामा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण कार्यहरू बन्द गरिएको छ । कोरोना संक्रमणबाट जिल्लामा हालसम्म तीन जनाको मृत्यु भएको सल्यान अस्पताल सल्यानका कोरोना स्रोतव्यक्ति रिखाराम पुनले जानकारी दिए ।

हाल जिल्लामा २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ती मध्ये कडा लक्षण देखिएका १० जनालाई सल्यान अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको पुनले जानकारी दिए । यस्तै पुनका अनुसार गम्भीर स्वास्थ्य समस्या भएका तीन जनालाई भने जिल्लाबाहिर रिफर गरिएको छ ।

यद्यपि जिल्लामा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिइरहेको भए पनि स्थानीयतहरूले भने यसका लागि प्रभावकारी भूमिका खेल्न सकिरहेका छैनन् । जिल्ला बाहिरबाट आउने व्यक्तिहरू निर्वाध रूपमा घर पुग्ने र कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखा परिरहेको स्थानीयले बताएका छन् । समयमै स्थानीयतहले चासो नदिँदा समुदायमा कोरोना फैलिने भयले स्थानीयहरू त्रसित हुन थालेका छन् । कोरोना संक्रमण बढ्न थालेको र स्थानीयतहले चासो नदिएको भन्दै स्थानीयहरूले जिल्लाको मुख्य व्यापारिक केन्द्र सल्ली बजारमा बजार बन्द गरेका छन् ।

प्रतिक्रिया