केपी ओलीको दम्भ धरहराभन्दा माथि चढ्यो : माधव नेपाल

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि चढेको आरोप लगाएका छन् । साथै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताए ।

सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दम्भको वायुपङ्खी घोडामा चढेको कारण एकता क्षीण हुँदै गएको आरोप लगाए । पार्टी गम्भीर संकटको चरणबाट गुर्जीरहेको भन्दै उनले संकटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए ।

उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, संघीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन रहेको बताए ।

प्रावधान अनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको भन्दै उनले आफूहरूको मूल घर नेकपा (एमाले) नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग उल्लेख गरे ।

प्रतिक्रिया