कोइरालाको ‘न्युरोडका झाँकी’

ललितपुर । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाको नवीनतम् कथा संग्रह ‘न्युरोडका झाँकी’ बजारमा आएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त कृतिको विमोचन गर्दै नेपाली साहित्यलाई अंग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्याउन आवश्यक भएको बताए । उनले नेपाली साहित्य उत्कृष्ट हुँदाहुँदै पनि ओझेलमा पर्नुको पछाडि अन्तर्राष्ट्रिय पाठकसमक्ष पुग्न नसक्नु मुख्य कारण रहेको जिकिर गरे ।

लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा स्थापित लोक साहित्य भवनमा आयोजित कार्यक्रममा उनले नेपाली कथा साहित्य ढिलो गरी विकास भएको बताए । जोशीले पछिल्लो चरणमा आएर कथाक्षेत्रमा उल्लेख्य उन्नति भएको जनाउँदै कोइरालाको ‘न्युरोडका झाँकी’ भित्रका कथामा परिवर्तित समाज र परिवेशका कथा भएको भनाइ राखे ।

कथा संग्रहमाथि समीक्षात्मक टिप्पणी व्यक्त गर्दै प्रा.डा. कुमारप्रसाद कोइरालाले कथालेखनमा थोरै मात्र कथाकारले पात्रको चरित्र चित्रणमा केन्द्रित भएर कथा लेख्ने गरेको पाइएकोमा तुलसीहरिका कथामा यो विशेषता प्रखर भएर आएको बताए । उनले ग्रामीण परिवेश, मधेश र काठमाडौंका त्रि–परिवेशीय पात्रलाई टिपेर कथा सिर्जना गरिएकाले पाठकप्रिय कथा संग्रह आएको उल्लेख गरे ।

दुई सत्रमा आयोजित उक्त कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष जोशीले लघुकथा समाजद्वारा स्थापित ‘बाटुली–खिलध्वज लघुकथा सम्मान, २०७७’ लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गरे । उक्त सम्मानमा सम्मान–पत्रसहित नगद राशि १५ हजार एक रुपैँया रहेको थियो ।

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्व ध्रुव मधिकर्मी, पुरस्कार गुठीका तर्फबाट सानुभाई पण्डित र साहित्यकार मणि लोहनीले मन्तव्य राखेका थिए । शिखा बुक्सद्वारा प्रकाशित ‘न्यूरोडका झाँकी’ मा १९ वटा कथा संग्रहित छन् ।

प्रतिक्रिया