मत-विमत

किन लोकप्रिय भए पूर्वराजा ज्ञानेन्द्र ?

अञ्जु कार्की २०७८ वैशाख १० गते १२:२४ मा प्रकाशित

                अञ्जु कार्की

विश्वको राजनीतिक इतिहास हेर्ने हो भने राजतन्त्रको इतिहास सबैभन्दा लामो र गौरवशाली छ । अर्थात विश्वमा राजतन्त्र जति लामो कालखण्डसम्म कायम रह्यो, त्यसको एक प्रतिशत कालखण्ड पनि अन्य शासन व्यवस्थाले भोग गरेका छैनन् । राज्यहरूको उदय राजामार्फत भएको कुरामा राजनीतिक शास्त्रीहरूबीच मतभिन्नता छैन ।

विश्वमा राज्यको उदय हुन थालेको कहिलेदेखि ? भन्ने सन्दर्भमा भने केही मतभिन्नता छन् । पूर्वीया ऋषिमुनीहरूले बेदको पादुर्भावभन्दा अघि नै राज्यहरू अस्तित्वमा आइसकेको व्याख्या गरेका छन् । बेदको पादुर्भाव भएको कम्तिमा १० हजार वर्ष भयो भन्ने कुरामा पनि खासै विवाद देखिन्न । तर, पश्चिमा दार्शनिकहरूले राज्यको उदय करिब चार हजार वर्षअघिदेखि हुन थालेको दावी गरेका छन् ।

राजा–महाराजाका पालामा निर्माण भएका ऐतिहासिक धरोहर मध्ये कतिपयलाई अहिले पनि आठौँ आश्चर्य मानिएको छ । उदाहरणका लागि इजिप्टको पिरामिड, चीनको ग्रेटवाल, भारतको ताजमहल लगायतलाई लिन सकिन्छ । जसमध्ये इजिप्टका पिरामिडहरू चार हजार वर्षभन्दा पुराना मानिएका छन् । यता विश्वमा प्रजातन्त्रको इतिहास दुई सय वर्षभन्दा पुरानो छैन । करिब १० हजार वर्षको कालखण्डमा दुई सय वर्ष भनेको केही पनि होइन । अझ आश्चर्य लाग्दो कुरा के छ भने प्रजातन्त्रको जननी मानिने बेलायतमा अझै पनि राजसंस्था कायमै छ ।

लोकतन्त्रलाई सजिलै स्वीकारेका कारण जनताले आफूलाई मन पराएका हुन् भन्ने यथार्थता पूर्वराजा शाहले बिर्सन थाले भने उनले आफ्नो लोकप्रियता जोगाउन सक्ने छैनन् । लोकतन्त्र उल्ट्याउने प्रयत्नमा पूर्वराजा ज्ञानेन्द्र केन्द्रित छन् भन्ने आरोपलाई पूर्वराजा शाहले आफ्नो व्यवहारबाट खण्डन गर्नुपर्ने थियो, तर उनले यो आरोप पुष्टि हुने गतिविधिलाई पछिल्लोे समय तीव्र बनाएका छन् ।

नेपालमा गणतन्त्रले १२ वर्षको समय पार गरेको छ । नेपालमा राजतन्त्रले कति समय पार गर्यो ? भन्ने प्रश्नको उत्तर खोज्न फेरि पनि बेदमै पुग्नुपर्ने हुन्छ । नेपालको नाम सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुगमा अलगअलग रहेको कुरा बेदमा समेत उल्लेख छ । एउटा युग व्यथित हुन सरदर ५० लाख वर्ष लाग्ने पुराणमा वर्णित कुरालाई आधार मान्ने हो भने नेपालमा राजतन्त्रले एक लाख वर्षभन्दा बढी शासन गरेको मान्न सकिन्छ । तर आधुनिक दार्शनिकहरूले पुराणलाई प्रमाणका रूपमा मानेका छैनन् ।

ने मुनीले बसोवास गराएको भूभाग भएकोले नेपाल भएको इतिहासमा उल्लेख छ । पहिलो राजतन्त्र गोपाल बंश भएको कुरा इतिहासमा उल्लेख छ । तर, किराँतकालदेखि यताको मात्रै इतिहास लेखिएको छ । किराँती, लिच्छिवी, मल्ल र शाह राजाहरूको वंशावली नै इतिहासविद्हरूले उतारेका छन् । प्रथम किराँती राजा यलम्बरदेखि अन्तिम शाह राजा ज्ञानेन्द्र सम्मको अवधिलाई हेर्ने हो भने पनि करिब तीन हजार वर्ष नेपालमा राजतन्त्रले शासन गरेको स्पष्ट हुन्छ । राजतन्त्रको प्रमाणित तीन हजार वर्षका अगाडि गणतन्त्रको १२ वर्ष भनेको केही पनि होइन ।

विश्वबाट साना राज्यहरू पतन भएसँगै राजतन्त्र पनि समाप्त हुने क्रम सुरु भएको हज्जारौँ वर्ष भयो । पछिल्लो कालखण्डमा अंग्रेजहरूले आफ्नो साम्राज्य विस्तार गर्नुअघि दक्षिण एसियामा मात्रै एक हजारभन्दा बढी राजतन्त्रात्मक मुलुक थिए । अंग्रेजले दक्षिण एसिया निल्नुभन्दा ठीकअघि वर्तमान भारत, पाकिस्तान र बंगलादेशमा ५ सय ५५ वटा राजतन्त्रात्मक मुलुक थिए । यसैगरी पृथ्वीनारायण शाहले नेपाल एकीकरणको थालनी गर्नुअघि यस सरहदमा सयभन्दा बढी राज्य तथा राजाहरू थिए ।

बलिया देशहरूले कमजोर देशहरूलाई आफूमा गाभ्ने सिलसिला सुरु भएसँगै विश्वमा राजहरूको संख्या घट्न थालेको हो । तर, कलान्तरमा राजाहरूले जनताको चेतनाको स्तरसँगै आपूmलाई ढाल्न सकेनन् । जुनजुन राजतन्त्रले जनताको चेनताको स्तरअनुसार आफूलाई ढाल्दै गए, उनीहरू अझ बलिया हुँदै गए । जुनजुन देशमा राजाहरूले जनताको चेतना स्तरलाई आँकलन गर्न सकेनन् ती ती देशमा राजाहरू फालिए, गणतन्त्र स्थापना हुँदै गयो । यसरी राजा फालिएर गणतन्त्र स्थापना भएको अहिले सम्मको सबैभन्दा पछिल्लो देश हो नेपाल । अझै पनि विश्वका करिब दुई सय देशमध्ये डेढ दर्जन देशमा राजा छन् । अफ्रिकातिरका अविकसित र हरितन्नम देशमा मात्रै होइन बेलायत, जापानजस्ता चरम बिकसित र धनी देशमासमेत राजसंस्था छन् ।

विश्वको इहितास हेर्दा राजतन्त्रको पतन ज्यादै विभत्स र कहालीलाग्दो ढंगबाट भएको देखिन्छ । राजा तथा राजपरिवारका सदस्यलाई सार्वजनिक स्थानमा लहरै उभ्याएर घाँटी रेटी मार्ने, डोरीले झुण्ड्याएर मार्ने हर्कतसमेत भएका छन् । केही देशहरूमा आजीवन कारावास गरिएको छ । केही देशहरूले देश निकाला गरेका छन् । केही देशका राजाहरू आप्mनो शासन सत्ता गुमेपछि स्वेच्छाले विदेश पलायन भएका छन् । तर, नेपाल मात्रै यस्तो देश हो जहाँको राजतन्त्रले अत्यन्त सम्मानका साथ बहिर्गमनको अवसर पायो ।

जनताको आन्दोलनबाट मात्रै नभएर जनताले निर्वाचित गरेको संविधानसभामार्फत नेपालमा राजतन्त्रले बिदा पाएको हो । यसरी मतपत्रको माध्यमबाट राजतन्त्रलाई बिदाइ गर्ने र पूर्वराजालाई सम्मानका साथ सरकारी निवासको व्यवस्था गर्ने मुलुक नेपालबाहेक अर्को छैन । यसैगरी आपूm सर्वसाधारण नागरिकसरह भएर बस्नुभन्दा विदेश पलायन हुने बाटो धेरै देशका गद्दीच्यूत राजाहरूले रोजे पनि नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले भने विदेश पलायन हुने बाटो रोजेनन् । बलबुताले भ्याएसम्म आफ्नै जन्मभूमिमा योगदान पुर्याउने घोषणाका साथ पूर्वराजा शाहले हाँसी हाँसी राजदरबारबाट विदा लिए । पत्रकार सम्मेलन नै गरेर पूर्वराजा शाह नारायाणहिटीबाट बिदा भएका हुन् ।

मुलुकका शीर्ष राजनीतिककर्मी तथा पूर्वराष्ट्रप्रमख तथा कार्यकारी प्रमुखलाई एउटै डालोमा राखेर अलगअलग मूल्यांकन गर्ने हो भने यतिबेला व्यक्तिगत रूपमा सबैभन्दा बढी पूर्वराजा शाह नै लोकप्रिय छन्भन्दा खासै फरक नपर्ला । अरू नेताका तुलनामा व्यक्तिगत रूपमा पूर्वराजा शाह लोकप्रिय हुुनुका खास कारण छन् । पहिलो कुरा त गणतन्त्र स्थापना गर्ने क्रममा विश्वका धेरै देशमा जस्तो नेपालमा जनताको रगतको खोलो बगेन ।

आन्दोलन र संविधानसभामार्फत प्रकट भएको जनअभिमतलाई राजा ज्ञानेन्द्र शाहले प्रतिवाद गरेनन् । दोस्रो कुरा गणतन्त्र स्थापना पछिको शासन व्यवस्थामा राजनीतिक दलका कतिपय नेताहरूले प्रदर्शन गरेको क्रियाकलाप जनतालाई मन परेको छैन । गणतन्त्रका शासकबाट जनता निराश छन् । बेलायत, जापान लगायतका धनी तथा विकसित देशहरूमा जस्तै नेपालमा पनि सांस्कृतिक रूपमा सम्मानित राजसंस्था भइदिएको भए राम्रै हुन्थ्यो भन्ने कतिपय सर्वसाधारणको मुखबाट सुनिन्छ ।

हुँदा खाँदाको राजगद्दी सुरक्षित गर्न नसकेका पूर्वराजा शाहले गणतन्त्र स्थापनापछि धेरै लोकप्रियता हासिल गरेको कुरामा दुई मत छैन, तर उनले यो लोकप्रियता पनि सुरक्षित गर्न नसक्ने पो हुन् कि ? भन्ने प्रश्न पछिल्लो समयमा झन् झन् पेचिलो बन्दै गएको छ । लोकतन्त्रलाई सजिलै स्वीकारेका कारण जनताले आफूलाई मन पराएका हुन् भन्ने यर्थाथता पूर्वराजा शाहले बिर्सन थाले भने उनले आफ्नो लोकप्रियता जोगाउन सक्ने छैनन् ।

फेरी लोकतन्त्र उल्ट्याउने प्रयत्नमा पूर्वराजा ज्ञानेन्द्र केन्द्रित छन् भन्ने आरोपलाई पूर्वराजा शाहले आफ्नो व्यवहारबाट खण्डन गर्नुपर्ने थियो, तर उनले यो आरोप पुष्टि हुने गतिविधिलाई पछिल्लोे समय तीव्र बनाएका छन् । हालै उनले गरेको भारत भ्रमण त्यसैको उपज हो । भारतीय साधुहरूले बहालवाला श्री ५ को दर्जा दिएर गरेको आमन्त्रणलाई अस्वीकार गर्ने हिम्मत पूर्वराजा शाहले राख्न सक्नुपथ्र्यो । तर, उनले हुँदै नभएको पगरी गुथ्न स्वीकार गरे ।

आफ्नो व्यक्तित्व भारतका कट्टरपन्थी हिन्दूहरूको पक्षमा आहुती भइरहेको यथार्थता पूर्वराजा शाहले बुझ्न सकेनन् । आफ्नो यो क्रियाकलापबाट छिमेकी मुलुक भारतका अन्य राजनीतिकदलहरूमा कस्तो असर पर्ला ? भन्ने ख्यालसमेत गर्न सकेनन् । यतिबेला उनी कोरोना लिएर हरिद्वारबाट स्वदेश फर्केका छन् । स्वास्थ्य अवस्था कमजोर भएका पूर्वराजाको विषयमा नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन । त्यसमाथि पनि दार्शनिक चाणक्यले भनेका छन्, ‘नमागेको सल्लाह दिनु मुर्खता हो ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय