हुरीबतासले धादिङमा ५० वटा घरको छाना उडायो

धादिङ । गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० वटा घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ । हुरीबतास र पानीसँगै आएपछि घर गोठ उडाएको छ भने तरकारीबालीसमेत हुरीका कारण क्षति पुगेको अनुगमनका क्रममा देखिएको छ ।

रातिको समयमा आएको भीषण हुरीबतासका कारण बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा १० घरको जस्ताको छाना, गजुरी गाउँपालिका–२ मा १२ घर टेण्ट, नीलकण्ठ नगरपालिका खाल्टेको दुई घर जस्ता, ज्यामरुङको चार घर जस्ता र गल्छी गाउँपालिका–५मा १३ घरको जस्ता उडाएको नेपाल रेडक्रस सोसाइटी सभापति नारायण तिमल्सिनाले जानकारी दिए । गल्छी गाउँपालिका–५ का वडाध्यक्ष प्रेम तामाङले सबै सूचना नआइसकेको र आफू गाउँमै सूचना संकलनमा लागिरहेको जानकारी दिए ।

हुरीबतासका कारण जिल्लामा अन्य क्षतिको विवरण आइनसकेको र विवरण आउने क्रम जारी रहेको रेडक्रसले जनाएको छ । बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले हुरीबतासबाट घर उडाएको चौकी टोलको निरीक्षण गरी पालिकाभरिमा क्षतिको विवरण संकलन गर्नका लागि सुरुवात गरिएको बताए । पालिकाले आवश्यकताका आधारमा राहत वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया