चुरेका चार वटा वडामा आफ्नै कार्यालय भवन

धनगढी । कैलालीको चुरे गाउँपालिकाले चार वटा वडाहरूमा आफ्नै वडा कार्यालय भवन निर्माण गरेको छ । गाउँपालिकाका ६ वटा वडामध्ये चार वटा वडामा कार्यालय भवन निर्माण गरेको हो । वडा–१ को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए ।

१ करोड ४ लाखमा निर्माण सम्झौता भएको बताउँदै उनले भने आगामी बैशाख अन्तिमसम्म निर्माण कार्य सम्पन्न हुन्छ । जेठबाट नव निर्मित कार्यालय भवनबाट सेवा सुचारु हुने उनको दावी छ । कार्यालय व्यवस्थित नहुँदा कागजात व्यवस्थित गरेर राख्न समस्या हुने, सेवा प्रवाहमा पनि समस्या हुने गरेकोमा अब कार्यालय भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहजता हुने वडाध्यक्ष बोहोराको भनाइ छ ।

वडा–५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको वडाध्यक्ष नरबहादुर तामाङले जानकारी दिए । ६६ लाखमा निर्माण सम्पन्न भएको भवन निर्माण कम्पनीबाट हस्तान्तरण हुन बाँकी रहेको उनले बताए । केही दिनमा हस्तान्तरण भइ सेवा सुचारु हुने उनको भनाइ छ । यसअघि कार्यालय भाडामा लिइएको उनले बताए ।

त्यसैगरी वडा–६ को कार्यालय भवन निर्माण सम्पन्न भइसकेको वडाध्यक्ष प्रेमबहादुर साउदले जानकारी दिए । १ करोड ५० लाख लागतमा कार्यालय भवन निर्माण सम्पन्न भएर चालु आवको मंसिरदेखि सेवा सुचारु पनि भइसकेको उनले बताए । कार्यालय व्यवस्थित भई सेवा प्रवाह गर्दा सेवाग्राही र सेवा प्रदायक दुबैलाई सहज भएको उनको भनाइ छ ।

वडा–२ को कार्यालय निर्माण कार्य जारी रहेको र असार मसान्तसम्म सम्पन्न हुने चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले जानकारी दिए । उनले भने, ‘अहिले निर्माण कार्य जारी छ असार मसान्तसम्म सकिन्छ ।’ उनले वडा–३ को कार्यालय साविकको सहजपुर गाविस भवन र तराई मधेस समृद्ध कार्यक्रमले निर्माण गरेको भवनमा रहेको जानकारी दिए ।

त्यसैगरी वडा–४ मा साविकको जिल्ला विकास समितिले निर्माण गरेको भवनबाट सेवा सञ्चालन गर्दै आएको उनको भनाइ छ । गाउँपालिकाले ५ करोड १६ लाखमा आफ्नो प्रशासनिक भवन निर्माण गरी चालु आवको मंसिरदेखि नै सेवा सुचारु गरिसकेको अध्यक्ष रोका मगरको भनाइ छ । आफ्नै कार्यालय भवन हुँदा व्यवस्थित तरिकाले सेवा दिन सहज भएको छ । उनले भने, ‘सेवाग्राहीलाई सेवा लिन सहज भएको छ र सेवा दिनेलाई पनि सहज भएको छ ।’ पहिले व्यवस्थित कार्यालय भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भोग्नुपरेको उनले बताए ।

प्रतिक्रिया