‘नयाँ सरकार बन्ने सम्भावना छैन’

अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नयाँ सरकार बन्ने सम्भावना नै नभएको बताइएका छन् । कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउन खोज पनि सहमति हुन नसकेको भन्दै रायमाझीले माओवादीले समर्थन फिर्ता नलिनुले अरू दलसंग सहमति र सहकार्य नभएको प्रष्ट हुने बताए ।

यदि सरकारलाई ढाल्न खोजे देश नयाँ निर्वाचनमा जानेसमेत मन्त्री रायमाझीले ठोकुवा गरे । देशलाई अराजकता, अस्थिरताको अन्त्य गर्दे संविधानको रक्षा विकास र समृद्धिका लागि सरकारले गरेका कार्यहरू महत्वपूर्ण भएको बताए । प्रेस चौतारी नेपालले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता रायमाझीले देशको निकास दिने पार्टी एमाले र केपी ओली नै भएको भन्दै संसद् विघटनको विषय समयले नै समीक्षा गर्ने बताए ।

विचार, राजनीति सिद्धान्तबाट विचलित भए सबै गुम्ने भन्दै रायमाझीले भने, ‘अहिले सडकमा जाने समय होइन, यतिबेला राजनीतिक क्रान्ति अन्त्य भएको छ, आर्थिक क्रान्तिसँगै विकास र समृद्धिको युग सुरु भएको छ ।’ पद प्रतिष्ठाभन्दा पनि आफू समयको मागअनुसार अगाडि बढेको रायमाझीले बताए । उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारमा जनयुद्धका घाइते, अपांग, मधेस आन्दोलन, सहिद परिवारहरूको सम्मान र उपचारमा निःशुल्क गर्ने कार्यहरू गर्न आफूहरूले पटकपटक माग राख्दा पनि केही हुन सकेन, अहिलेको सरकारले सबै काम सुरु गरेको छ ।’

नौमुरे जलविद्युत् आयोजना देशकै गौरबको बहुउदेश्य जलविद्युत् आयोजना भएको भन्दै रायमाझीले १ सय ८१ मेगावाटको उक्त परियोजनाले ८० हजार जमिनसमेत सिँचाइ गर्ने लक्ष्य लिएको बताए । जिल्लामा पूर्वाधार विकास स्वास्थ्य, शिक्षा, कृषिजस्ता क्षेत्रमा महत्वपूर्ण परियोजना सुरु भएको बताए ।

पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य चन्दबहादुर खड्का, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस चौतारी संयोजक हिमबहादुर जिसीको अध्यक्षता, प्रदेश अध्यक्ष शोभाखर पन्थीको विषय प्रवेश, वसन्त श्रेष्ठको स्वागत तथा नविन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया