कुखुरापालन व्यावसायिक कृषकलाई तालिम

दैलेख । जिल्लाको गुराँस गाउँपालिका कृषकलाई व्यावसायिक कुखुरापालन तथा कुखुराको दाना उत्पादनसम्बन्धी तीनदिने पुनर्ताजकी तालिम दिइएको छ । सेभ द चिल्ड्रेन, एभरेस्ट क्लब दैलेख र वाक नेपाल अछामद्वारा सञ्चालित युवा सशक्तीकरण बुलगारी परियोजना मार्फत गुराँस गाउँपालिकाका २० र अछामका आठ जना कुखुरापालक कृषकहरूलाई तीन दिने उक्त तालिम दिइएको हो ।

गुराँस गाउँपालिका–३ पातिकांलामा शनिबारबाट सुरु भएको तालिममा गुराँस गाउँपालिकाभित्रका किसान र अछाम जिल्लाकासमेत किसानहरू सहभागी भएका छन् । शनिबार तालिमको उद्घाटनमा बोल्दै गुराँस गाउँपालिका–३ त्रीबेबी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष काशीराम शर्माले कृषकका लागि यस्ता किसिमका तालिमले कृषकलाई हौसला दिने बताए । उनले सहभागीहरूलाई आफ्ना समस्याहरू ढुक्क भएर डाक्टरसँग राख्न आग्रह गरे ।

तीन दिनको तालिमको प्रशिक्षकको रूपमा आएका डा. भक्त निउरेले किसानहरूले तीन दिने तालिमबाट व्यावसायीक कुखुरापालन, कुखुरालाई लाग्ने रोग, रोगबाट बच्ने उपाय, औषधि उपचार, कुखराका लागि आवश्यक पर्ने दाना, खोरको व्यवस्थापनसम्बन्धी तालिम लिने जानकारी दिएका छन् ।

विविध कारणले पढ्न नसकेका तथा बेरोजगार युवाहरूलाई गाउँमै रोजगारको सिर्जना गर्ने र व्यवसायबाट आफ्नो जीविका निर्वाह गर्नका लागि परियोजनाले जिल्लाका गुराँस गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा कुखुरापालन तथा दाना उत्पादन तालिमहरू दिँदै आएको बुलगारी परियोजनाका कार्यक्रम अधिकृत टेकराज न्यौपानेले बताए ।

उनले भने, ‘कृषकलाई आफ्नो ब्यवसायमा देखिएका समस्याहरू प्रत्यक्ष रूपमा डाक्टरसँग राख्न पाउन् भन्ने उद्देश्यले कृषकहरूको घरदैलोमा नै अनुभवी डाक्टरलाई ल्याएर समग्र कुखुरापालन कृषकमा आइलाग्ने समस्याको बारेमा जानकारी दिएका छौँ ।’ गाउँपालिका भित्रै कुखुरालाई आवश्यक पर्ने दानामिलसमेत स्थापना भई सञ्चालनमा छ । गाउँका कृषकलाई दाना खोज्न टाढा जानुपर्ने बाध्यता छैन ।

०७४ सालमा स्थापना भएको पातिकान्ला दाना उद्योगबाट कृषकको मागअनुसार दाना उत्पादन हुँदै आएको छ । त्यहाँबाट उत्पादन भएको दाना गुणस्तरीय बनाउन तथा व्यावसायिक कृषकहरूलाई आफ्नो ब्यवसायप्रती वफादार बनाउन संस्थाले बेलाबेलामा कृषकलाई पुनर्ताजकी तालिम दिँदै आएको परियोजनाका फिल्ड अधिकृत बाबुराम आचार्यले बताए ।

तालिमको पहिलो दिन सहभागीहरूले आफ्नो कुखुरामा भएका समस्याको बारेमा डाक्टरलाई जानकारी गराएका छन् । कृषकहरूले बेलाबेलामा आउने विभिन्न किसिमका रोगहरूले किसानलाई चिन्तित बनाउने गरेको गुनासो पोखे । गुराँस गाउँपालिका–४ की नन्दा मल्लले तीन वर्ष अगाडि पाँच दिने उद्यम विकास तालिम लिएपछि ५० वटा कुखुराबाट आफ्नो व्यवसाय सुरु गरेकी थिइन् ।

यसै व्यवसायबाट घरका ६ जना सदस्यको गुजारा चलेको उनी बताउँछिन् लोकल कुखुरा पाल्दै आएकी नन्दा पहिले–पहिले कुखुराको माग धेरै आउने गरेको तर गत वर्षदेखि कोरोना महामारीले नेपाल सरकारले लक डाउन गरेपछि कुखुराको माग घट्दै गएको बताउँछिन् । ५० वटा लोकल कुखुराबाट ब्यवसाय गरेकी मल्लसँग अहिले दुई सय लोकल कुखुरा छन् ।

पहिले राम्रै बिक्री भए पनि अहिले कुखुरा बिक्री गर्ने समस्या आएकोले आपूmमा निराशा छाएको उनको गुनासो छ । उनका अनुसार नजिकमा सानो बजार भएको र गाउँबाट टाढा बजारमा लैजान खर्च धेरै लाग्ने भएकाले कुखुरा बिक्री हुन समस्या आउने गरेको हो । हाल लोकल कुखुराको बजार मूल्य प्रतिकेजि सात सय रुपैयाँ छ ।

प्रतिक्रिया