मानव पुर्खा र लोप भएका नीयान्डर्टाल

एजेन्सी ।  प्रागतिहासिक रुमेनियाको विकट पहाडी क्षेत्रमा उनीहरूका आँखा जुधे । उनी नियान्डर्टाल थिए र एउटा भुवादार छालाबाहेक निर्वस्त्र थिए । (नियान्डर्टाल ४० हजार वर्ष अगाडिसम्म बाँचेका मानवपुर्खाको उपप्रजाति हो ।) उनको शरीरको स्वरूप आकर्षक थियो, छाला नरम थियो र सम्भवतः सूर्यको प्रकाशले त्यो रातो थियो ।

उनको बलियो मांसपेशी सहितको पाखुरामा चीलको पन्जाको डोरो बाँधेका थिए । उनी सुरुआतको समयकी आधुनिक मानव थिए र उनले ब्वाँसोको भुवादार छालाको कोट लगाएका थिए । अँध्यारो छाला भएको उनको खुट्टा लामो थियो र उनको कपाल बाटिएको थियो । उनले उनीलाई माथिदेखि तलसम्म हेरे र कुराकानी थाल्ने प्रयास अघि बढाए । उनी पनि एकोहोरो हेरिरहेकै थिए । दुवै जनाले एउटै भाषा बोल्दैन थिए र उनीहरू अप्ठेरो पाराले हाँसे । त्यसपछि के भयो हामी सबै अनुमान लगाउन सक्छौँ ।

वास्तवमा यो अहिलेको काल्पनिक प्रेम कथाको दृश्य जस्तै सुनिन्छ । तर साँच्चै भन्दा त्यो भेट वा त्यस्तै अरू भेटमा ठ्याक्कै के भयो अहिले हामीले थाहा नपाउन सक्छौँ । तर हामी त्यस्ता जोडीहरू राम्रोसँग घुलमिल भए भन्नेमा निश्चित रहन सक्छौँ । त्यस्तो घटना भएको झन्डै ३७ हजारदेखि ४२ हजार वर्षपछि फेब्रुअरी २००२ मा दुई जना अन्वेषकहरूले रुमेनियाको सहर एनिनाको कार्पाथिअन पर्वतहरूको भूमिगत दक्षिण–पश्चिम गुफामा अभूतपूर्व अन्वेषण गरे ।

त्यहाँसम्म पुग्नु सजिलो थिएन । भूमिगत नदीमा दुई सय मिटर भित्रसम्म प्रवेश गरेपछि भूमिगत पानीमा ३० मिटर पौडी खेले र तीन सय मिटर माथि चढेर पहिले पत्ता नलागेको ठाउँसम्म पुगे । त्यहाँको पिस्टोरा कू आसे अर्थात् हड्डी भएको गुफामा उनीहरूले हजारौँ स्तनधारी जनावरहरूको हड्डी फेला पारे । त्यो गुफामा खैरो भालुको लोप भइसकेको पुर्खा बसेको ठानिएको थियो ।

त्यहाँ एउटा बंगाराको हड्डी फेला प¥यो । रेडिओकार्बन डेटिङ विधिले त्यो युरोपको जानकारी भएको प्रारम्भिक आधुनिक मानवमध्ये सबैभन्दा पुरानोमध्ये एक जनाको भएको निष्कर्ष निकाल्यो । त्यस बेला वैज्ञानिकहरूले बंगरा आधुनिक भएकोमा कुनै दुविधा नभए पनि त्यसको स्वरूप अस्वाभाविक भएको देखे । त्यहाँ केही नियान्डर्टालको जस्तो विशेषता पनि पाइएको थियो ।

वर्षौंपछि वैज्ञानिकहरूको उक्त आशंका पुष्टि गरे । जब वैज्ञानिकहरूले सन् २०१५ मा त्यसको डिएनए परीक्षण गरे उनीहरूले उक्त व्यक्ति पुरुष भएको र ६ देखि नौ प्रतिशत नियान्डर्टाल भएको हुनसक्ने पत्ता लगाए । त्यो प्रारम्भिक अवस्थाको मानवमा पाइएको सबैभन्दा उच्च मिश्रण हो एवं अहिलेको युरोप र एसियाका मानिसहरूमा पाइने त्यस्तो मिश्रणभन्दा तीन गुणासम्म बढी हो ।

वैज्ञानिकहरूले उक्त बंगारो भएको व्यक्तिको नियान्डर्टाल पुर्खा लगभग चारदेखि ६ पुस्ता पुरानो भएको हुनसक्ने लख काटे । बंगारोे बाहेक उक्त टोलीले अर्को व्यक्तिको खप्परको अवशेष पनि फेला पारे । वैज्ञानिकहरूले त्यो अवशेषबाट डिएनए निकाल्न अझै सकेका छैनन् तर बंगारो जस्तै त्यो खप्पर पनि नियान्डर्टालसँग जोडिएको हुन सक्ने ठानिएको छ ।

त्यसयता सुरुका आधुनिक मानव र नियान्डर्टालबीच यौन सम्बन्ध कायम भएका बारेका प्रमाणहरू बढिरहेका छन् । मानिसमा जस्तै संकेतहरूले कैयौँपटक र ठूलो भौगोलिक क्षेत्रमा त्यस्तो सम्बन्ध रहेको देखाएको छ । अहिलेसम्म नियान्डर्टालको कम्तीमा दुई वटा समूहको आनुवांशिक वस्तुहरू मानिसमा पाइएको छ । एउटा विश्लेषणले युरोप र एसियामा कैयौँपटक आधुनिक मानव र नियान्डर्टालबीच यौन सम्बन्धका कारण प्रजनन भएको देखाएको छ ।

वास्तवमा नियान्डर्टालको डिएनए अफ्रिकीसहित अहिले बाँचिरहेका सबै मानिसमा पाउन सकिन्छ । सन् २०१६ मा वैज्ञानिकहरूले साइबेरियाको अलटाइ पर्वतका नियान्डर्टालले उनीहरूको एकदेखि सात प्रतिशत अनुवंश लगभग एक लाख वर्षअघि बाँचेका मानवका पूर्खाहरूलाई दिएको हुनसक्ने पत्ता लगाएका थिए । आदिम कालको उक्त सम्बन्धबारे धेरै कुरा इतिहासकै गर्भमा हराएको हुन सक्ने ठानिएको भए पनि त्यो रोचक समयको थाहा भएका कुरा यस्ता छन् ।

सन् २०१७ मा पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीकी मानवशास्त्री लाउरा वेरिचले ४८ हजार वर्ष पुरानो घुमन्तेको सूक्ष्म अवशेषसँग टाँसिएको आदिम इतिहासकालीन दाँत फेला पारिन् । नियान्डर्टालले के खाइरहेका थिए र उनीहरू वातावरणसँग कसरी घुलमिल भइरहेका थिए जान्ने रुचि उनीमा थियो । त्यसका लागि तीन वटा गुफामा फेला परेको दाँतमा टाँसिएको पदार्थको अध्ययन गरिन् । दुई वटा नमुना उत्तर–पश्चिम स्पेनको एल सिड्रोनका १३ नियान्डर्टालबाट लिइएको थियो ।

अध्यनका क्रममा त्यहाँको एउटा दाँतमा ब्याक्टेरिया जस्तै सूक्ष्म जीवाणुको आनुवंशिक चिन्ह पाइएको थियो । मेथानोब्रिभाइबेक्टर ओरालिस अहिले पनि हाम्रो मुखमा फेला पर्छ । नियान्डर्टाललाई अहिलेको आधुनिक मानवसँग तुलना गरेर उनले दुई जना १ लाख २० हजार वर्ष पहिले अलग भएको आँकलन गरेकी थिइन् । यो कसरी भयो त्यो ठ्याक्कै थाहा पाउन असम्भव छ तर १ लाख २० हजार वर्ष पहिला अरू नै केही भएको हुन सक्छ । ‘मेरो लागि रोचक के हो भने हामीले मानव र नियान्डर्टालले सम्बन्ध राखेको व्याख्या गरेको पहिलो समयावधि पनि यही नै हो’, उनले भनिन् ।

चुम्बनका मार्फतबाट त्यस्तो भएको हुनसक्ने व्याख्या गरिन् । ‘तपाईंले जब कसैलाई चुम्बन गर्नुहुन्छ माइक्रोब्सहरू मुखमा भित्र र बाहिर गर्छन् । यो एकचोटि मात्रै भएको हुनसक्छ तर संक्रमित मानिसहरूबाट चमत्कारी ढंगले सफलतापूर्वक रूपमा सरेको पनि हुनसक्छ । यो अलि नियमित रूपमा भएको घटनाक्रम पनि हुनसक्छ’, वेरीचले भनिन्, । खाना बाँडेर खाँदा पनि मुखका माइक्रोब्सहरू सर्ने गर्छन् । तर, नीयान्डर्टालले प्रारम्भिक मानवका लागि खाना बनाइदिएको इतिहास छैन ।

अदिमकालीन पुरुषसँग सम्बन्ध राख्ने अधिकांश नियान्डर्टाल महिला थिए वा त्यसको ठीक विपरीत थियो त्यो भन्न सम्भव छैन तर केही संकेत उपलब्ध छन् । सन २००८ मा रुसको एटलाइ पर्वतको डेनिसोभा गुफामा फेला परेको औँलाको हड्डीको टुक्रा र एउटा चपाउने दाँतको मानवको एउटा नयाँ उपप्रजाति पत्ता लगाउन मद्दत गरेको थियो । उनीहरूको डिएनए विश्लेषणपछि वैज्ञानिकहरूले त्यस्तै आनुवांशिक विशेषताहरू पूर्वी एसिया र मेलानिसियन वंशज भएका पाइएको बताएका थिए ।

डेनिसोभियन्स अहिलेको मानवभन्दा बढी नियान्डर्टालसँग मिल्दाजुल्दा थिए र यी दुई उपप्रजातिहरू सयौँ हजार वर्ष पहिले एसियामा एकअर्कामा मिसिएका हुन सक्छन् । यो सन् २०१८ मा एक जना डेनी उपनाम दिइएकी नियान्डर्टाल आमा र डेनिसोभन पिताबाट जन्मिएकी किशोरीको हड्डीको टुक्रा फेला परेपछि पुष्टि भएको थियो । त्यही भएर नियान्डर्टालको पुरुष यौन क्रोमोजोम डेनिसोभन्सकोसँग मिल्दोजुल्दो पाइए केही अर्थ लगाउन सकिन्थ्यो ।

तर, वैज्ञानिकहरूले ३८ देखि ५३ हजार वर्षको अघिका तीन नियान्डर्टालको डिएनए परीक्षण गरे, उनीहरूको ‘वाई’ क्रोमोजोम अहिलेको मानवसँग मिल्दोजुल्दो रहेको पाइएको थियो । अनुसन्धानकर्ताहरूले यो नियान्डर्टाल र सुरुआतका आधुनिक मानवबीच अत्यधिक धेरै अन्तर्प्रजनन भएका प्रमाण भएको उल्लेख गरेका छन् ।

त्यही भएर नियान्डर्टालहरूको संख्या घट्दै गएर जाँदा उनीहरूको अस्तित्व समाप्त हुन लाग्दा उनीहरूको वाई क्रोमोजोम लोप भएको हुन सक्छ र त्यसलाई हाम्रोले प्रतिस्थापन गरेको हुनसक्छ । यसको अर्थ पुरुष मानवको उल्लेख्य संख्याका पुर्खाहरूले महिला नियान्डर्टालसँग यौन सम्बन्ध राखिरहेका थिए । तर कथा यत्तिमै सकिँदैन । अन्य अनुसन्धानले हाम्रा पुर्खाहरूले पुरुष नियान्डर्टालसँग पनि यौन सम्बन्ध राखेको देखाएको छ ।

आधुनिक मानवमा पाइएको माइटोक्रोन्डियाको सन् २०१७ मा गरिएको एउटा अध्ययनमा नियान्डर्टालको अवशेष पाएको थियो । आमाबाट सन्तानमा जाने गुणहरू बोक्ने माइटोक्रोन्डियाले गुलियोबाट पोषण लिने बताइन्छ । त्यो अन्तर्प्रजनन मानव समुदाय अफ्रिकामा सीमित रहेको २ लाख ७० हजार वर्षदेखि एक लाख वर्षअघि भएको हुन सक्ने ठानिएको छ ।

केही वर्ष पहिले भिल पाइमनअफले यौन सम्पर्कबाट सर्ने पापिलोमा भाइरसको संक्रमणबारे अध्ययन गरिरहेका समय अनौठो कुरा फेला परे । पापिलोमा भाइरस भालु, डल्फिन, कछुवा, सर्प र चराजस्ता सबै जीवजन्तु र अध्ययन गरिएका लगभग सबै प्रजातिमा देखा परेका छन् । मानवमा यो भाइरसका सयभन्दा बढी प्रकार देखापरेका छन् जुन विश्वभर हुने ९९ दशमलव ७ प्रतिशत गर्भाशयको क्यान्सरका लागि जिम्मेवार छन् । उक्त भाइरसमध्ये सबैभन्दा घातक एचपिभी–१६ हो जुन शरीरमा वर्षौं रहन सक्छ र त्यसले भित्रभित्रै कोषहरूलाई नष्ट पर्छ ।

यो भाइरसका विभिन्न प्रकारहरू कहाँ फेला परिरहेका छन् भन्नेमा स्पष्ट विभाजन छ । पृथ्वीको अधिकांश क्षेत्रमा ‘ए’ प्रकारको भाइरस देखा परे पनि सबसाहारा अफ्रिकामा अधिकांश मानिसहरूमा ‘बी’ र ‘सी’ प्रकारको संक्रमण भएको पाइएको छ । नियान्डर्टालको डिएनए वितरण पनि यस्तै चरित्रको थियो ।

सबसाहारा अफ्रिकाका मानिसहरूमा एचभिपी भाइरसका अस्वाभाविक प्रकार पाइएको मात्रै होइन उनीहरूमा नियान्डर्टालका आनुवंशिक अवशेष तुलनात्मक रूपमा कम पाइन्छ । के भएर यस्तो भयो भन्ने बुझ्न पाइमेनअफले गरेको अध्ययनले ‘ए’ प्रकार ६० हजारदेखि १ लाख २० हजार वर्षको बीचमा पहिलोपटक देखिएको पत्ता लगायो । यसबाट यो अरू एचभिपी १६ भाइरसभन्दा कान्छो रहेको पत्ता लाग्यो ।

यो आधुनिक मानवहरू अफ्रिकामा देखा परेर नियान्डर्टालसँग सम्पर्कमा आएको भनिएको समयावधि थियो । यसलाई ठ्याक्कै प्रमाणित गर्न नसिए पनि पाइमेनअफ उनीहरूले तत्कालै यौन रोगहरू एकअर्कालाई सार्न थालेको विश्वास गर्छन् । उनले एचभिपी १६ भाइरसमा देखिएको विभाजनले हामीले ‘ए’ प्रकारको भाइरस नियान्डर्टालबाट प्राप्त गरेको धारणा राख्दै आएका छन् ।

नियान्डर्टालसँग यौन सम्बन्धले मानिसहरूलाई एचआइभीको मिल्दोजुल्दो ऐतिहासिक संक्रमणसहित विभिन्न भाइरसको सम्पर्कमा पु¥याएको थियो । तर, लोप भइसकेका हाम्रा पुर्खाप्रति आक्रोशित हुनुपर्ने अवस्था छैन किनभने मानवले उनीहरूलाई पनि विभिन्न संक्रामक रोग सारेको थियो । नियान्डर्टालका यौनांग कस्ता थिए भन्नेबारे धेरैलाई चासो लाग्न सक्छ ।

विभिन्न प्राणीका यौनांगबारे कैयौँ वैज्ञानिक अध्ययनहरू भएका छन् र ती अंगहरूले जनावरहरूका जीवनशैली, प्रजननशैली र विकासक्रमका बारेमा जानकारीहरू दिएको पाइएको छ । मानिसहरू सबैभन्दा नजिकको सम्बन्ध रहेको भनिएको चिम्पान्जीसँग हाम्रो ९९ प्रतिशत डिएनए मिल्छ । चिम्पान्जीसँग ‘पेनाइल स्पाइन्स’ अर्थात् छाला र रौँ जस्तै वस्तुबाट बनेका अंग छन् जसबाट भाले र पोथीले यौन सम्पर्क राख्छन् ।

सन् २०१३ मा वैज्ञानिकहरूले नियान्डर्टाल र डेनिसोभनको अनुवंशको अध्ययन गर्दा उनीहरूमा पेनाइल स्पाइन्स नभएको निष्कर्ष निकाल्यो । आधुनिक मानवमा पनि नभएको पेनाइल स्पाइन्स हाम्रा साझा पुर्खाहरूबाट कम्तीमा आठ लाख वर्ष पहिले नै लोप भएको ठानिन्छ । यो महत्वपूर्ण छ किनभने यसले पुरुषलाई अरूसँग प्रतिस्पर्धा गर्न र प्रजननको सम्भावना बढाउन मद्दत गर्न सक्ने ठानिएको छ ।

त्यही भएर नियान्डर्टाल र डेनिसोभन्सहरू अधिकांश एकल सम्बन्धको पक्षमा रहेको आँकलन गरिएको छ । नियान्डर्टाल र आधुनिक मानवको पुर्खाबीच सम्बन्धले अहिले मानिसको कैयौँ विशेषता जस्तै छालाको रंग, उचाइ, निद्रा, मनस्थिति र रोग प्रतिरोधी प्रणालीमा योगदान दिएको ठानिन्छ । उनीहरूको बारेको जनकारीले आधुनिक रोगहरूको सम्भावित उपचारमा पनि सघाइरहेको छ ।

नियान्डर्टालहरू लगभग ४० हजार वर्षअघि लोप हुँदा त्यसका लागि दुईतर्फको आकर्षण, जलवायु परिवर्तन र अन्तर्प्रजननजस्ता कारणहरू रहेको ठानिन्छ । एकथरीले दुई वटा उपप्रजातिमा देखिएका संक्रामक यौन रोगलाई कारण मान्छन् जसमा नियान्डर्टालले प्रतिरोधी क्षमता विकास गर्न सकेनन् र अहिलेको मानवको पुर्खाहरूले प्रतिरोधी प्रणाली हासिल गरेर अघि बढ्न सके ।

अर्कोथरीले नियान्डर्टालको सानो जनसंख्यालाई आधुनिक मानवले आफूमा ग्रहण गरेको ठान्छन् । किनभने उनीहरूले हाम्रो वाई क्रोमोजोम र माइटोकोन्ड्रियालाई मूल रूपमा आत्मसाथ गरिसकेका थिए र उनीहरूको कम्तीमा २० प्रतिशत डिएनए अहिले बाँचिरहेका मानिसमा पनि पाइन्छ । सम्भवतः आदिम रुमेनियाका ती जोडी अहिले यो लेख पढिरहेका कुनै व्यक्तिमा बाँचिरहेका हुन सक्छन् । – बिबिसी

प्रतिक्रिया