चित्रकलालाई सबैथोक ठान्छन्, युवा चित्रकार

इलामको सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो । सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गरेकी उनीे अहिले त राम्रै तस्बीर बनाउछिन् । उनले जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोरेकीछन् । उनको सपना उत्कृष्ठ तस्बीर बनाउने र सबैमाझ चिनिने हो । उनी चित्रकलामै भविष्य खोज्दै छिन् ।

चित्रकार बन्नकै लागि उनले धेरै संघर्ष गरिन । अझै गर्दै छिन् । विद्यालय होस् वा अरू कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन उनका हातले बनाएका चित्र । सधैँ प्रथम भएकैले गर्दा उनलाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो । उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो ।

परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले उनका चित्रमा निखारता  त आउँदै गयो, तर अर्थोपार्जन सोचेजस्तो भएन । गाउँको बसाइँ । पूर्णरूपमा चित्रकलामा खट्न नपाइने । यसैले चित्रकलाको पेशा संकटमा पर्दै गयो । उनले सोचे जस्तो भएन । कक्षा ५ देखि चित्र सिकेकी उनले कक्षा ८ पुग्दासम्म घरपरिवारमा आँखामा चित्रकारको छवि बनाइसकेकी थिइन् । विद्यालयको अध्यायन सकेर केही समय उनले कला सेन्टरमा चित्र बनाउन सिकिन ।

यसपछिका मेहनतले उनको चित्रकला प्रतिको मोह यति बढ्यो कि उनदे यो पेशाको विकल्प खोज्नै सकिनन् । विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो । सबैले चित्र कोरेको हेर्दै उनको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रिन ।

कलेजस्तरको पढाइ शुरु भयो तब यी सबै कुरा बाहिर निस्किए । उनलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरुरी छ भन्ने झन् लाग्दै गयो । यतिकैमा उनले एक दिन युट््युबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देदिन । चित्रकलाकी पारखी उनलाई हस्तकला (हेण्डिग्राफ)मा पनि आकर्षण बढ््यो ।

निरन्तर खटेर उनले हेण्डिग्राफ बनाउन थालिने । शुरुमा चित बुझ्दो नबने पनि समायान्तरमा सोचेझैँ हुन थाल्यो । पछिल्लो समय उनले चित्रकला जोगाउनका लागि पनि हस्तकला बनाउन परेको छ । ‘हेण्डिग्राफ चाहीँ धेरैले किनेर नै लानुहुन्छ । केही कमाइ पनि हुन्छ ।’ उनल् भनिन, ‘कला सम्मानित पेशा हो । तर, बाँच्न गाह्रो हुँदो रहेछ ।’

उनले एकै ठाउँमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनीसमेत गरेकी छन् । ती सामग्री बनाउन खर्चिलो पनि छ । अहिले उनी स्नातकस्तरको अध्ययनमा छिन् । पढाइपश्चात काठमाडौँ पसेर चित्रकलामा होमिने उनकोे विचार छ । अनेक रङ एकै ठाउँमा मिलाएर उनी चित्र कार्छिन् ।

अनि अनेक बहुरंगी कागज गाँसेर हस्तकलाका सामग्री । तर, यो पेशाले उनको जीवनमा कुन रङ कोर्ने हो पत्तो छैन । उनी संघर्षरत छिन् । चाहे अनेक रङ मिलाएर चित्र कोर्न होस् वा कागज गाँसेर कागजी सामग्री बनाउन । कुनै काम सहज छैन । ‘एउटै चित्र बनाउन तीन÷चार दिन लाग्छ । धैर्य भएर काम गरिएन भने त पूरा हुँदैन ।’ उनले भनिन्, ‘कागजका सामग्री बनाउन पनि उस्तै गाह्रो । पहिले काटो अनि जोडो । त्यसपछि सुन्दरताका लागि कागज मिलाउनुपर्छ ।’

यति दुःख गर्दा पनि कलाको मर्म नबुझ्दा चाहीँ उनलाई कहिँले काहिँ विरक्त लाग्छ । अधिकांश मान्छेमा चित्रको ज्ञान नहुनु, अनि प्रशस्त मात्रामा चित्रकला पढाइ हुने विद्यालय पनि नहुनु । यिनै समस्याले चित्रकलामा बाँच्न गाह्रो भएको उनको गुनासो छ ।

विर्तामोडको कोहेड कलेजमा कक्षा १२ मा अध्ययनरत पुजन चापागाइँ सदा अध्ययनमै व्यस्त हुन्छन् । इलामको माइजोगमाई गाउँपालिकास्थित सोयाङका उनी यतिको व्यस्त रहँदा पनि अनवरत चित्र कोर्छन् । सानै उमेरदेखि चित्रकार बन्ने रहर थियो । कोरोना महामारी उनका लागि अवसर बनेर आयो ।

उनी बन्दाबन्दी शुरुआत भएको पाँच दिनअघि नै घर आएका थिए । घरमै मात्र बस्नुपर्ने भएपछि शुरुआती समयमा त उनलाई पनि बन्दाबन्दी हैरानै लाग्यो । त्यतिकैमा उनलाई रहर लागेको चित्रकलाको सम्झना आयो । शुरुमा त उनले समयको सदुपयोगका लागि केही चित्र कोरे । बनाउँदै जाँदा उनको काममा निखारता आयो र केही चित्र हेर्न लायक भए ।

परिवारले हौसला बढेपछि भने उनले दिनदिनै चित्र कोर्दै गए । उनको चित्रको संख्या बढ्दै जाँदा चित्रमा निखारता पनि बढ्दै गयो । अहिले त उनकोे लामो समय चित्र बनाउँदैमा बित्ने गरेको छ । उनले शुरुमा घरपरिवारकै चित्र बनाए पनि पछिल्लो समय भने अरूको पनि बनाउँदै आएका छन् । अहिले त उनले बनाएका सबै चित्र ‘एक से एक’ छन् । ‘अरूले पनि चित्र आफ्नो चित्र बनाउन आग्रह गर्नुहुन्छ,’ उनले भने, ‘लकडाउनले मलाई चित्र बनाउन सक्ने बनायो । लकडाउन थिएन भने सायद चित्र कोर्ने हुने थिइन होला ।’ उनले पेन्सिल मात्रै प्रयोग गरेर चित्र कोर्दा पनि दुरुस्तै बनाउछन् ।

‘अहिले चित्रमा निखारता ल्याउन पेन्सिलले मात्र कोर्ने गरेको छु’ उनले भने, ‘अरू चिजको प्रयोग गर्दा चित्रको अर्गानिकपन आउँदैन ।’ आफ्नो रहरको विषय भएकाले पनि दुःख गरेर चित्र उतार्न रमाइलो लाग्ने गरेको उनले बताए । उनले  घरपरिवार (बहिनीहरू, हजुरबा, हजुरआमा), साथीभाइ र आफूले मन पर्ने चित्र कोर्ने गरेको बताए । लामो समय निरन्तर खटेर गर्नुपर्ने भए पनि चित्रकलामा भविष्य नभएको उनको गुनासो छ ।

सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका सुमन निरौला (भारद्वाज)को पीडा पनि पुजनकै जस्तै छ । इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्नातक चौंथो वर्ष अध्ययन गर्दै रहेका  सुमन पनि कोरोनाले देश बन्दाबन्दीमा गएपछि घर जानुपर्ने भयो । शहरमा जस्तो ‘कडा’ बन्दाबन्दी गाउँमा नभए पनि उनले फाट्टफुट्ट बाहिर हिँड्न बाहेक घरमै बिताउनु प¥यो ।

उनले पनि पुजनले जस्तै आफूलाई अल्छी लागेको समयमा पेन्सिलले चित्र कोर्न थालेको बताए । सानैदेखि रहरको विषय रहेको चित्रकलामा उनले दिनानुदिन परिश्रम खन्याउँदै जानु भयो । परिश्रम खन्याएसँगै चित्र पनि अब्बल अब्बल बन्दै गए । परिवार र साथीभाइको चित्रसमेत बनाउँदै गएपछि धेरैले उनका चित्र मन पराउन थाले ।

निरन्तर चित्र बनाएपछि उनीे पनि दुरुस्तै चित्र कोर्न सक्ने भए । अहिले त उनलाई चित्र बनाइ दिनभन्दै दैनिक ३÷४ कल फोन नै आउँछन् । ‘धेरैले चित्र बनाइदेउ घरमा सजाएर राख्छु भन्दै फोन गर्नुहुन्छ,’ उनले भने, ‘साह्रै खुशी लाग्छ । यस्तो भन्दा ।’ उनका अनुसार एउटै चित्र बनाउन लगातार तीन चार घण्टा खट्नुपर्छ । सोखकै कारण अहिले सुमन घरका सबैका भ्याएर दुई देखि तीन घण्टा चित्रकलालाई समय छुट्याउछन् । ‘धेरै र राम्रा चित्र बनाए भविष्य त होला । तर, हुँदै दुःख गर्नुपर्छ’ राज्यले चित्रकलाको सम्मान गर्दै बाँच्ने आधार बनाए आफू यही क्षेत्रमा लाग्ने योजनामा बनाउँदै गरेको सुमनले बताए ।

प्रतिक्रिया