सबैको रोजाइ र प्रशंसाको पात्र ‘सनिसार’

काठमाडौं । केही दिन अगाडि सार्वजनिक मौलिक गीत ‘सनिसार’ आम दर्शक स्रोताको रोजाइ र पछिल्लो समयकै सर्वाधिक प्रशंसनिय बनेको छ । गायक कुशल बेलवासे र गायिका पूर्णकला बिसीको युगल आवाज रहेको उक्त गीत अहिले नेपाली बजार र हरेक नेपाली गीत संगीत प्रेमीहरुको मनमै गुञ्जमान बनेको हो ।

नयाँ युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको भए पनि गीतको मौलिक शब्द र भिडियोमा पनि यथार्थपरक दृश्य निर्माण भएकाले आम नेपालीको रोजाइमा परेको हो । सार्वजनिक भएलगत्तै वरिष्ठ गायक गायिका तथा सर्जक र गीतको मूल्यांकन गर्ने बौद्धीक व्यक्तित्वहरुबाट विभिन्न सामाजिक सञ्जाललगायतमा धेरै राम्रा प्रतिक्रियाको ओइरो लागिरहेकको छ ।

विशेषः गीतमा समाजमा हुने गरेका जातीय विभेद र विभिन्न विषयका शब्द समावेश र सोही अनुसार भिडियो निर्माणमा पनि कडा मेहनेत भएको गायिका पूर्णकला बिसीले बताइन् ।

लाँकुरी झेउँमा एक नाम्ले पैयाँ, पैयाँमा चिल बस्यो चरन पैयाँमा चिल बस्यो, छोडेर गाकी उही मेरी मैयाँ, मैयाँमा दिल बस्यो चरन जमना अनिसार, यही मायाले जलायो सनिसार हो परान यही मायाले जलायो सनिसार ।’

गीतको सुरुवातमै यस्ता शब्दले झस्काएको छ । गायक बेलवासेकै शब्द रचना र संगीत उक्त गीतमा रहेको छ भने विश्वास नेपालले संगीत संयोजन गरेका हुन् ।

‘यो पिरतीले तातेको छाती पानीले सेलाउँछ र चरन पानीले सेलाउँछ र, फलनाकी छोरी बहुला रे भन्छन्, बहुलाएसी के लाउँछ र चरन जमाना अनिसार, यही मायाले जलायो सनिसार ।’

गीतको दोस्रो चरणमा यो शब्द समावेश छ । त्यस्तै, प्रकाश भट्टले निर्देशन गरेको उक्त गीतको भिडियोलाई नवराज उप्रेतीको छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन् । उक्त भिडियोमा मोडल शिसीर पौडेल सारीका केसीले अभिनय गरेका छन् । मोडल शिसीरकै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा एक बाहुन परिवारको छोरोले दलित परिवारकी छोरीलाई सिन्दुर हालेर घर भित्र्याउन खोजेपछि गाउँले समाजबाट छेकथुन भएपछि अहिलेको एक्कासौं सताब्दीमा पनि यस्तो जातीय विभेद गर्न हुन्न भन्ने संदेश दिन खोजिएको दृश्य समावेश छ । उक्त गीतलाई टिकटकमा पनि भाइरल बनाइएको छ ।

पछिल्लो पटक केही गीतले मौलिकता छाड्ने गरेको समयमा यस गीतले सबैबाट उच्च प्रशंसा पाएको हो । यो समाचार तयार पार्दासम्म युट्युबमा सार्वजनिक भएको छोटो समयमै उक्त गीतको भिडियोलाई ९ लाख ७७ हजारभन्दा धेरै पटक हेरिएको छ । जातीय विभेद र मायाप्रेम प्रसंगका पीडादायी भावना गीतको शब्दमा उनीएको छ भने भिडियोमा पनि दर्दनाक दृश्य कैद गरिएको छ ।

प्रतिक्रिया