अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइनेछ : चित्रबहादुर श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाउने बताएका छन । आज काठमाडौंको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै सो कुरा बताएका हुन । इतिहासले कहिलेकाहीँ मजाक गर्ने बताउँदै संविधान सभा सदस्य तथा राष्ट्रिय किसान आयोगका पूर्वअध्यक्ष समेत रहेका किसान नेता चित्रबहादुर श्रेष्ठले भने, ‘यतिबेला सर्वोच्च अदालतको फैसलाका आधारमा हाम्रो मातृ पार्टीको विभाजनसँग हामी पनि पूर्ववतः अवस्थामा फर्कन वाध्य भएका छौँ । यो इतिहासले हामीमाथि गरेको एउटा भद्दा मजाक हो । कहिलेकाँही इतिहासले पनि मजाक गर्दो रहेछ ।’

उनले किसानहरु क्रान्तिका आधारभूत वर्ग रहेकोले किसान संगठन पार्टी र क्रान्तिको आधारभूत जनवर्गीय संगठन भएको बताउँदै यसको अत्यन्तै ठुलो महत्व रहेको र यसलाई वयापक परिचालन गरिने, गाउँ गाउँमा किसान संगठन निर्माण गरिने र किसानहरुको समस्या समाधान गर्नका लागि देशव्यापी संघर्ष गरिने बताए । किसान नेता श्रेष्ठले एकतापूर्व किसान संगठनको रुपमा हिजो पनि सुव्यवस्थित तथा सशक्त भएको र नेकपा एकीकृत रहँदा किसान पक्षीय कामहरु गराउनका लागि निरन्तर दबाब दिइएको र किसान विरोधी सरकारी गतिविधि तथा कार्यक्रमको विरुद्ध जोड्दार ढंगले उठाएको बताए । उनले केपी ओली किसान विरोधी रहेको र सरकारमा रहेर किसानको पक्षमा कुनै काम गर्न नसकेको समेत बताए । यदि केपी ओली सरकारका किसानविरोधी हर्कतहरु जारी रहे देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइने बताए ।

देशका दुई तिहाइ किसानहरु यो देशको राजनीतिक परिवर्तनका संवाहक भएको र किसानहरुले आगामी दिनमा पनि जनताको संघर्षको नेतृत्व गर्नुपर्ने र अब किसानहरुको हक–अधिकारका पक्षमा जुझारु संघर्ष गर्नुपर्ने, त्यसका लागि वागमती प्रदेश र त्यसमा पनि उपत्यकाको ज्यादै ठुलो महत्व रहेको उनले बताए । ‘गएको पुस ५ गते केपी ओलीले प्रतिगामी कदम चालेपछि देशभरका किसानहरु सशक्त ढंगले संघर्षमा उत्रेको र त्यसमा वागमती प्रदेश र उपतयकाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले वागमती प्रदेशका सबै केन्द्रीय सदस्य र जिल्लाका नेताहरु वधाईका पात्रहरु रहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन भई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पुनःस्थापित भएको अवस्थामा वागमती प्रदेश स्तरमा भएका किसानका समस्याहरु, किसान संगठन तथा आन्दोलनको स्थिति, किसानका समस्याहरु र समाधानका उपायहरुबारे बहस छलफल गर्ने र नयाँ योजना तयार गर्ने उद्देश्यका साथ दुई दिने भेला तथा प्रशिक्षण आयोजना गरिएको महासंघले जनाएको छ ।

दुई दिने भेला तथा प्रशिक्षणमा आज पहिलो दिन सबै जिल्लामा वास्तविक संगठनात्मक स्थितिबारे रिर्पोटिङ हुने र भोलि प्रमुख प्रशिक्षकको रुपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख नहेन्द्र खड्काले बताए । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का वागमती प्रदेश संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गणेश कुँवरले गरेका थिए ।

प्रतिक्रिया