बसाइँसराइ रोक्न नयाँ योजना

तनहुँ । बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले नयाँ योजना ल्याएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ गर्ने प्रक्रियाले गाउँ रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो । गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, होम स्टे सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको बन्दीपुर गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्तर्गतका ६ वटा वडामा दश वटा होम स्टे सञ्चालन हँुदै आएका छन् । सो गाउँपालिका–२ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होम स्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको होम स्टेकी सचिव माया सुनारले बताइन् ।

कोरोनाको न्यूनीकरणसँगै होम स्टेमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएकोले थप हौसला मिलेको उनले बताइन् । विशेषगरी उक्त होम स्टेमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाह्य पर्यटक फाटफुट देखिन थालेको सचिव सुनारले बताइन् । डेढ सयदेखि दुई सयसम्म पर्यटक राख्न सकिने क्षमताको होम स्टे रहेको र अहिले दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उनले बताइन् । बेलुका खाना खानुअघि खाजा, खाना, बास, बिहान खाजा र खाना गरी रु ७०० को प्याकेज रहेको छ । वैशाख १ गते देखि प्याकेज शुल्कमा केही वृद्धि गर्ने योजना रहेको होम स्टे सञ्चालकहरुले बताएका छन् ।

गाउँगाउँमा होमस्टे सञ्चालन गर्न थालेपछि महिला होम स्टेमा व्यस्त हुने र पुरुषहरु बाख्रा, कुखुरा, तरकारीलगायतका व्यावसायिक रुपमा लाग्न थालेपछि स्थानीयवासी स्वरोजगार बन्दै गएको होम स्टेकी अध्यक्ष दिलकुमारी रानाले बताइन् । होम स्टेमा आउने पाहुनालाई स्थानीयस्तरमा उत्पादित परिकारका खानाको स्वागत गर्नुका साथै कला नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्ने गरिएको उनले बताइन् ।

त्यसैगरी बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको स्थल हो । मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी रहेपनि अहिले तीस जना महिला मिलेर होम स्टे सञ्चालन गर्दै आएको रामकोट सामुदायिक होम स्टेकी अध्यक्ष बिहिसरा आलेले बताइन् ।

होम स्टे सञ्चालन गर्न थालेपछि उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहलमा उल्लेखनीय बढेपछि स्थानीयवासी खुशी हुन थालेका छन् । त्यसक्षेत्रमा जाने मोटरबाटो, बिजुली, खानेपानीलगायतका आधारभूत सेवा विस्तारका काममा प्राथामिकता दिइएको छ । रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिकस्थलको रुपमा परिचित रहेकोले गाउँबाट शहर झर्ने प्रक्रियालाई रोक्न होम स्टे सञ्चालनको लागि पहल गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । गत वर्षदेखि उक्त स्थानमा होम स्टे सञ्चालनमा ल्याइएको हो । गाउँका तीस जना महिला मिलेर होम स्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गएको छ । गतवर्ष नै होम स्टेको लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट रु दश लाख विनियोजन गरिसकेको छ ।

गाउँमा रहेका मानिसलाई गाउँमै बस्ने वातावरण मिलाउन गाउँपालिकाले होम स्टेका महिलालाई सो सम्बन्धी र पुरुषहरुलाई कालीगढ सम्बन्धी तालीम प्रदान गर्दै आएको छ । गाउँका मानिसलाई सीपमूलक तालीम प्रदान गरेपछि आयआर्जनको स्रोत र गाउँगाउँमा विकास निर्माणका काम तीव्रगतिमा हुन थालेपछि बसाइँसराइ गरेका व्यक्ति पनि गाउँ फर्किन थालेका छन् ।

नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । शहर बसाइँसराइ गरेकालाई गाउँमा फर्कन आर्कर्षित गर्ने उद्देश्यले गाउँपालिकाले प्राथामिकतामा राखेर काम गर्दै आएको अध्यक्ष थापाले बताए ।– रासस

प्रतिक्रिया