खोजखबर

गैंडा गणकमाथी ‘ध्रुवे’को धावा, पाँच जना घाइते

पाँच जना घाइते भएपछि चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना कार्य तत्कालका लागि स्थगित

सौर्य अनलाइन २०७७ चैत २१ गते ६:४५ मा प्रकाशित

चितवन । कुनै बेला आंतक मच्चाएर नाम कमाएको ध्रुवे हात्तिले फेरी एक पटक आतंक सिर्जना गरेको छ । यसपटक ध्रुवेले ६ वर्षपछि गैंडा गणना गर्न गएको टोलीमाथी नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा आक्रमण गरेको हो । निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जंगली हात्तीले शुक्रबार लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । गैँडा गणनामा खटिएको टोलीका माहुते हात्तीबाट लडेर घाइते भएका हुन् । गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उनले बताए । गैँडा गणनाको क्रममा जंगली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।

गणनामा खटिएको हात्तीलाई जंगली धु्रवे हात्तीले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए । सोही क्रममा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएको उनले बताए । हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका– ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका– ७, निवासी ५१ वर्षीय पे्रमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिए ।

धु्रवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर कोही भाग्ने क्रममा लडेर र ठोक्किँएर घाइते भएको प्रमुख बरालले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अरु सामान्य घाइते छन् । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडाँैं लगिएको छ । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

ध्रुबे नामको जंगली हात्तीले २०६६ देखी लगातार चार वर्षमा १३ जनाको ज्यान लिएको थियो । धेरैको ज्यान लिएपछि यसलाई मार्न सरकार नै लागिपरेको थियो । पछिल्लो समयमा यस्ता गतिविधि नगरेको यो हात्तीले शुक्रबार पुनः मान्छेमाथि आक्रमण गरेको हो । उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ ।

‘कहिलेबाट सुरू गर्ने भन्ने विषयमा हामी छलफल गरेर निर्णय गर्छौं,’ बरालले भने । चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो । हाल बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा पनि गणना चलिरहेको छ । गैंडा गन्नका लागि गणकहरूले हात्तीकै प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय