कोराना महामारीको दोस्रो लहर

छिमेकी मुलुक भारतमा गत फागुनदेखि सुरु भएको कोरोनाको दोस्रो लहर खुला सिमानाका कारण छिटै नै नेपाल प्रवेश गर्ने त होइन ? भन्ने आशंका गरिएको थियो । यो आशंका यथार्थमा परिणत भएको छ । फागुन यता भारतबाट नेपाल फर्कने मध्ये कतिजनाले कोरोना ल्याए ? मुलुकका कुन कुन गाउँ तथा सहरका टोलटोलमा पु¥याए ? भन्ने अनुमान गर्नसमेत सकिने अवस्था छैन । खुला सिमाना भएकोले भारतबाट आउनेहरूको अभिलेख राख्ने प्रचलन छैन । धेरै नेपाली कार्यरत भारतका महाराष्ट्र, गोवा, गुजरात, लगायतका क्षेत्रमा कोरोनाको दोस्रो महामारी सुरु भएपछि नगारिक समाजका अगुवा तथा विज्ञहरूले नेपाल आउनेहरूको अनुगमनका लागि सरकारमाथि दबाब दिएका थिए । तर, एक महिनासम्म सरकारले कानमा तेल हालेर बस्यो । एक साताअघि मात्रै सरकारले नेपाल–भारत सीमाक्षेत्रका १४ नाकामा हेल्थ डेस्क सञ्चालन गरी कोरोना परीक्षण सुरु गरेको छ । परीक्षणका क्रममा ८७ जनामा कोरोना पुष्टि भएको छ । यो त मोटामोटी जाँच मात्रै हो । आफ्नो देशमा आउ“दा विगतमा जस्तै कष्ट बेहोर्नुपर्ने आँकलन गरी ससाना नाका तथा चोरबाटोबाट आउने नेपालीको संख्या धेरै ठूलो छ । भारतमा रहेका नेपाली मात्रै होइन, भारतीय पर्यटक पनि नेपाल आउने सिजन हो यो । चैतदेखि असारसम्म पोखरा क्षेत्रमा भारतीय पर्यटकहरू उल्लेख्य रूपमा आउने गर्दछन् । उनीहरू अधिकांश भैरहवा हुँदै पोखरा प्रवेश गर्दछन् । एक साताको यो अवधिमा पोखराको इन्जिनियरिङ कलेजमा मात्रै ८० जना विद्यार्थी संक्रमित भएका छन् । राजधानी काठमाडौं उपत्यकाको अवस्था पनि त्यतिकै भयावह छ । गत बुधबार राजधानी काठमाडौं उपत्यकामा ६७ जना संक्रमित थपिए । जसमध्ये अधिकांश शिक्षक तथा विद्यार्थीहरू छन् ।

पछिल्लो दुई साताको अवधिमा मुलुकभर १ हजार ७ सय ७८ जना नया“ संक्रमित थपिएका कारण चिकित्सकहरूले नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भइसकेको विश्लेषण गरेका छन् । अस्पतालका आइसियू कक्षहरू कोरानाका बिरामीले भरिन थालेका छन् । यो अवधिमा करिब दुई दर्जन संक्रमितको मृत्यु भइसकेको छ । संक्रमणको पहिलो लहर सुरु हुादा मुलक लक डाउनको अवस्थामा थियो । पछि लकडाउन खुकुलो हुँदै गर्दा पनि शिक्षण संस्थाहरू पूरा बन्द थिए । मानिसहरू घरबाट बाहिर निस्कँदा सजग हुने गर्थे । माक्स लगाउने बानी नै परेको थियो । सवारी साधनमा भिडभाड हुँदैनथ्यो । भारतबाट नेपाल छिर्नेहरूले पनि चोर बाटो प्रयोग नगरेका कारण अनुगमन गर्न र क्वारेन्टाइनमा राख्न सहज भएको थियो । यसका बाबजुद कोराना संक्रमणको वृद्धि दर बढेर दैनिक ५५ सयसम्म पुगेको थियो । तर अहिले दोस्रो लहर सुरु हुँदै गर्दा शिक्षण संस्थाहरू पुरै खुलेका छन् । नेपालभर विद्यार्थीको संख्या करिब ८० लाख छ । शिक्षकहरूको संख्या करिव पाँच लाख छ । एक जना शिक्षक संक्रमित हुँदा विद्यालयभरी संक्रमण फैलन्छ । विद्यार्थीहरूले आफ्नो घरमा पनि संक्रमण पु¥याउँछन् । सार्वजनिक यातायातका साधनमा मानिसहरू कोचाकोच हुने गरेका छन् । अधिकांशले मास्क प्रोग गर्दैनन् ।

दोस्रो लहरको कोरोना सुरु हुने संकेत देखिँदै गर्दा सरकारले सुरक्षा सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको थियो । विगतमा जस्तो लक डाउन नगरिने सरकारले जनाएको थियो । यसबाहेक सरकारका तर्फबाट थप पहल भएको छैन । रोगभन्दा भोकको निवारण प्राथमिकतामा पर्ने भएकोले हाम्रो जस्तो गरिब मुलुकका लागि लक डाउन गतिलो विकल्प होइन भन्ने कुरा प्रमाणित भइसकेको छ । लक डाउन संभव नभए पनि सतर्कताका अन्य विकल्प अपनाउन ढिलाइ गर्नु हुँदैन । सार्वजनिक यातायात र शिक्षण संस्था केही दिनका लागि बन्द गर्नै पर्छ । भारतबाट नेपाल आउनेहरूका लागि सुविधा सम्पन्न क्वारेन्टाइनमा निःशुल्क खाने बस्ने व्यवस्थासहित दैनिक भत्ताको समेत प्रबन्ध गर्नुपर्छ ।

प्रतिक्रिया