किसान स्टल संचालनमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा किसान स्टल संचालनमा आएको छ । बिचौलिया नियन्त्रणको लागि किसान स्टल सुरु गरिएको हो । स्टलमा पहिलो दिनमै ५ जना किसानले स्टलमा तरकारी राखी बिक्री गरेका बजारका सुचना अधिकृत विनय श्रेष्ठले बताए । स्टलको लागि पहिलेदेखिनै माग रहकोमा पहिलो दिनमै पाँच किसानले स्टल प्रयोग गरी आफुले ल्याएको तरकारी बजार मुल्य अनुसार बिक्री गरेका थिए । किसान स्टलमा देशको जुनसुकै किसानले उत्पादन गरेका तरकारी ल्याएर बिक्री गर्न सकिन्छ । आफ्नो उत्पादनको मुल्य आफैले राख्ने हुँदा किसानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

कालीमाटी तरकारी बिकास समितिले पहिलो पटक किसान स्टल कार्यान्वयन गर्न लागेको हो । किसान स्टल प्रयोग गर्ने किसान थपिने क्रममा रहेका छन । अझै पनि धैरै किसानले स्टलको बारेमा जानकारी पाउन सकेका छैनन । समितिले देशभरका किसानलाई स्टलबारे जानकारी दिइरहेको बताएको छ । चितवनबाट उपत्यकामा ठूलो मात्रामा तरकारी आउने गरेको छ । स्टल संचालनमा ल्याएपछि किसानबाट राम्रो प्रतिकृया आइरहेको बताइएको छ ।

समितिले बेलुकी ७ देखि बिहान ४ बजेसम्म राख्ने मिल्ने स्टलमा होल्डिङ यार्डको व्यवस्था गरेको छ । यसअघि तरकारी बजारमा किसान स्टल नहुँदा किसानले ल्याएको तरकारी हतार हतारमा बिक्री गर्नु पर्ने अवस्था थियो । अब स्टलमार्फत किसानले आफ्ना उत्पादन आफ्नो भाउमा व्यापारी र व्यवसायीलाई बिक्री गर्न सक्छन । समितिका अनुसार स्टलमा २ सय टन तरकारी होल्ड गरेर बिक्री गर्दा ५ सय रुपैयाँ तिर्नुपर्छ भने त्यसभन्दा बढी तरकारी र फलफूल राखेर बिक्री गर्दा प्रतिकिलो २५ पैसाको दरले शुल्क लिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया