निगमको ७५ प्रतिशत उडान रद्द

काठमाडौं । नेपाल वायुसेवा निगमको ७५ प्रतिशत अन्तर्राष्ट्रिय उडान शुक्रबारदेखि रद्द हुने भएको छ । दुबईबाट आएको न्यारोबडी (अल्फा किलो व्हिस्की–एकेडब्लू) जहाजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि चेक जाँच गर्दा नोज व्हिलमा हाइड्रोलिक लिकेज देखिएपछि उक्त बिमान ग्राउन्डेड गरिएको छ । ग्राउन्डेड विमानको मर्मतको लागि आवश्यक पाटपुर्जा बाहिरबाट ल्याउनुपर्ने भएको हुँदा केही समय लाग्छ । जस्को कारण उडान भर्न नसकदा करोडौं रुपैयाँ घाटा बेहाुर्नपर्ने अवस्था आएको हो ।

निगम स्रोतका अनुसार इन्जिनियरिङ विभागले आगमी मंगलबार सम्म उक्त एकेडब्लू ग्राउन्डेड हुने जानकारी दिइसकेको छ । अर्काे न्यारो बडी (अल्फा किलो एक्सरे–एकेएक्स) नियमित मर्मत सम्भार (सी चेक) का लागि शुक्रबार बिहान सिंगापुर लगिने भएको छ । यसको मर्मतका लागि करिब दुई साता लाग्ने आकलन गरिएको छ । एउटा पार्टपूर्जा नपाएर ग्राउन्डेड भएको र अर्काे मर्मतका लागि सिंगापुर जाने भएपछि नियमका दुईवटै न्यारोबडीले उडान भर्न नपाउने अवस्थाको कारण ७५ प्रतिशत उडान स्थगित हुने भएको हो ।

 

त्यसैगरी गत महिनादेखि हार्डल्याण्डिङका कारण ग्राउन्डेड वाइडबडी (अल्फा लिमा जुलु– एएलजेड) को अझै मर्मत भएको छैन । मर्मतका लागि निगमले प्रक्रिया थालेको छ । अब बाँकी रहेको एकमात्र सद्दे वाइडबडी (अल्फा लिमा यांगी – एएलवाई) ले २५ प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्न सक्ने देखिदैन । निगमले नयाँ दिल्ली र दुबईमा नियमित उडान गर्दै आएको छ । हाल सञ्चालनमा रहेका मलेसिया, हङकङ, जापान र दोहाको उडान शुक्रबार देखी प्रभावित हुने भएको छ । मलेसियामा निगमले साताको तीनपटक, हङकङमा एकपटक र जापानमा साताको दुईपटक उडान भर्दै आएको छ । नियमित उडान तालिकमा निगमको टिकट काटिसकेका यात्रुका लागि अन्य उडानको बन्दोबस्ती गर्नपर्ने अन्तर्राष्ट्रिय नियम रहेको छ ।

अहिले दिल्ली र दुबईमा आउजाउमै ९० प्रतिशत क्षमता उपयोग रहेको छ । दोहामा पनि यस्तो अक्कुपेन्सी ७२ देखि ८० प्रतिशत रहेको छ । जापानमा त्यहाँको नागरिक उड्डयन प्राधिकरणले कोरोनाका कारण क्वारेन्टानइमा बस्नुपर्ने नियम लागू गरेकाले उताबाट आउनेमा ७० देखि ८० प्रतिशत अक्कुपेन्सी रहेको निगमले जनाएको छ । दिल्ली र दुबईमा क्वारेन्टाइनमा बस्नु नपर्ने भएकाले आउने र जाने दुबै उडानमा निगमलाई प्रशस्त आम्दानी हुँदै आएको थियो । सिंगापुरमा सी चेकका लागि निगमले अग्रिम बुकिङ गरिसकेको छ । त्यस अनुसारका सबै प्राविधिक इन्जिनियर, ह्यागर आदिको बन्दोबस्ती भइसकेकाले रद्द गर्न नमिल्ने स्थिति रहेको स्रोतले बताएको छ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जहाजमा प्राविधिक गडबडी आउनु सामान्य रहेको र चारवटा जहाजले १२ वटा उडान सेक्टर धान्नुपर्ने भएकाले केही समस्या उत्पन्न भएको बताएका छन ।

बिमानस्थामा उडान सामान्य
मौसमको खरावीको कारण विगत छ दिनदेखि प्रभावित भएको उडान सामान्य बनेको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकोमा नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले बताएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी बताएका छन । बुधबार अपरान्हपछि काठमाडौँ उपत्यकासहित देशभरको मौसममा सामान्य सुधार आएपछि उडान केही सहज भएको बिमानस्थाले बताएको छ ।

अन्तरराष्ट्रिय विमानस्थल सहित देशका अन्य स्थानमा पनि उडान प्रभावित बनेको थियो । विमानस्थलका अनुसार विगत छ दिनको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ करीब ४० प्रतिशत उडान रद्द भएका छन् । पश्चिमी वायु सक्रिय भएपछि काठमाडौँ सहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ भने बाँकी भू–भागमा बदली नरहे तापनि तुवाँलो देखिएको छ । काठमाडौँको आकासमा पनि सामान्य तुवाँलो देखिन्छ । बिहीबार देशका पहाडी भेगमा बदली हुनका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन, चट्टयाङग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया