सम्पादकीय

किन बनेन राम मन्दिर ?

सौर्य अनलाइन २०७७ चैत १९ गते ७:३४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा सक्कली अयोध्यापुरीको चर्चा गर्दै राम मन्दिर निर्माण गर्ने घोषणा गरेपछि चितवनको माडी तथा पर्साको ठोरी क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । भौगोलिक तर्क तथा पौराणिक प्रमाण समेतको प्रधानमन्त्री ओलीको यो उद्घोषले माडी र ठोरीमा मात्रै होइन, मुलुकभर र छिमेकी मित्रराष्ट्र भारतमा समेत ठूलो तरंग उत्पन्न भएको थियो । यो उद्घोषपछि माडी क्षेत्रका जनप्रतिनिधिहरू प्रधानमन्त्री ओलीलाई हार्दिक बधाई दिन र मन्दिर निर्माणका लागि सहयोग आदानप्रदान गर्न काठमाडौं आएका थिए । भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिस“ग करिव दुई घण्टा कुरा गरे । काठमाडौं आउन छुटेका एक जना जनप्रतिनिधिलाई तत्कालै टेलिफोन गरे । रामको जन्मभूमी झल्कने मन्दिर तथा अन्य संरचना निर्माणको काम तत्काल थालनी गरिने र त्यसका लागि आवश्यक वजेट तथा अन्य स्रोतको कुनै कमी हुन नदिने विश्वास प्रधानमन्त्री ओलीले दिलाए ।

उनीहरूलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्री ओलीले थप विश्वास दिलाउँदै भने, ‘मूर्तीहरू चाहिँ मेरो तर्फबाट निर्माण हुन्छ है , मैले अर्डर दिइसकेको छु ।’ तर १० महिनाको यो अवधिमा मन्दिर निर्माणको काममा के कति प्रगति भयो त ? भन्ने प्रश्नको उत्तर भने निराशाजनक छ । माडी नगरपालिकाका प्रशासकीय अधिकृत पुष्पराज कँडेलले मिडियालाई दिएको जानकारी अनुसार जग्गा अधिग्रहणको प्रक्रिया विगत ६ महिनादेखि मन्त्रिपरिषद्मै अड्किएका कारण काम हुन सकेको छैन । जहाँ मन्दिर तथा भौतिक संरचना निर्माण गर्नुपर्ने हो, त्यो जग्गा नै अहिलेसम्म प्राप्ति नभएकोले माडी क्षेत्रका जनताको उत्साह सेलाएको छ ।

प्रधानमन्त्री ओलीले त्यतिबेला सार्वजनिक खपतका लागि मात्रै ‘सक्कली अयोध्या माडी तथा ठोरी क्षेत्र हो’ भनेका हुन् या आफ्नो उद्घोष तथा प्रतिवद्धता बिर्सेका हुन् ? अथवा छिमेकी मुलुक भारतको ठूलै दबाबका कारण तत्कालका लागि यो अभियानलाई थाति राखेका हुन् ? यसै भन्न सकिने अवस्था छैन । हुन पनि त्यो उद्घोष गरे यताका १० महिना प्रधानमन्त्री ओलीले कठिन चुनौतीका साथ बिताइरहेका छन् । आफ्नो पद तथा अस्तित्व जोगाउनकै लागि प्रधानमन्त्री ओलीले धेरैजसो समय बिताउनुपरेको यथार्थतालाई नजरअन्दाज गर्न मिल्दैन । तर, मन्त्रिपरिषद्मा आइसकेको जग्गा अधिग्रहणको प्रस्ताव पारित गर्न समयको पावन्दी हुँदैन । त्यसैगरी अर्को महत्वपूर्ण पक्ष हो, ‘नामकरण ।’ माडी क्षेत्र परापूर्वकालदेखि नै अयोध्यापुरीका नामले चिनिन्थ्यो । पञ्चायतकालमै माडी क्षेत्रको नाम अयोध्यापुरी गाउँ पञ्चायत थियो । तर, स्थानीय तहको पुनर्संरचनाका क्रममा अयोध्यापुरीको नाम मेटाएर माडी नगरपालिका राखियो । यस सन्दर्भमा गर्नुपर्ने काम भनेको पाँच वर्ष अघिको त्रुटी सच्याउँदै माडी नगरपालिकाको सट्टा अयोध्यापुरी नगरपालिका नामकरण हो । तर यसका लागि स्थानीय जनप्रतिनिधिबाट ठोस पहल भएको देखिन्न ।

अयोध्यापुरी क्षेत्रमा राम मन्दिर तथा अन्य संरचना निर्माणको काम सुरु नहुनुमा प्रधानमन्त्री ओलीलाई अरू क्षेत्रका बासिन्दाले दोष दिनु अन्यथा नहोला तर माडी क्षेत्रका जनप्रतिनिधिहरूले दोष दिनु भनेको ठूलो मूर्खता हो । सक्कली अयोध्या माडी तथा ठोरी क्षेत्र हो भन्ने सन्दर्भमा केही विद्धानहरूले लामो अनुसन्धान गरी यथेष्ट प्रमाण जुटाएको वषौँ भइसकेको छ । तर स्थानीय जनप्रतिनिधिहरूले साविकको नाम ‘अयोध्यापुरी’ मेटाएर माडी नगरपालिका नामाकरण गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले उद्घोष नगरेसम्म उनीहरूले सक्कली अयोध्यापुरी आफ्नै ठाउँ हो, यसका लागि केही गर्नुपर्छ भन्ने हेक्कासमेत राखेनन् । प्रधानमन्त्री ओलीले यति भनिसकेपछि आफँै लागि पर्नु स्थानीय जनप्रतिनिधिहरूको कर्तव्य थियो । जग्गा अधिग्रहणका नाममा संघीय सरकारबाट ठूलो बजेट आउने र चलनचल्तीको मूल्यभन्दा दोब्बर तेब्बर मुआब्जा बाँढ्न पाउने आशामा स्थानीय जनप्रतिनिधिहरू बसेका हुन् भने ठूलो दुर्भाग्य हो । कम्तिमा पनि जग्गाको मुआब्जा वितरणको जिम्मेवारी स्थानीय सरकारले आफ्नै बजेट तथा स्रोतबाट लिनुपर्छ । हुम्लाका गरिब जनताको रकम मुआब्जाका लागि खर्च नभएसम्म अयोध्यापुरीमा राम मन्दिर तथा संरचनाको निर्माणको काम अघि नबढ्ने हो भने स्थानीय जनप्रतिनिधिहरू डाडुमा पानी तताएर डुबे’ हुन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय