दलहरु फेरी परामर्शमा : सरकार कि निर्वाचन भन्ने छिनाेफानाेमा

काठमाडौं । सरकारका विषयमा लामो समयसम्म अनिर्णित बनेका दलहरु फेरी छलफलमा जुट्न थालेका छन् । प्रतिनिधिसभामा रहेका चार वटा दलहरु आ–आफ्नो स्वार्थमा केन्द्रीत रहँदा सरकारका विषयमा निर्णय निकाल्न सकेका छैनन् । कतिपय दलमा निर्वाचनमा जानुपर्ने मत बलियो हुँदै गर्दा नयाँ सरकार बनाउने कसरतमा दलहरु फेरी परामर्शमा जुटेका हुन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि जोडतोडका साथ छलफल गरेपनि आ–आफ्नो स्वार्थ र नेकपाका विषयमा सर्वोच्च अदालतले गरेको निर्णयपछि कुनै ठोस निष्कर्ष नै निस्किएन । अहिले नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्रको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री रहेका छन् । तर, स्वयम माओवादी नै नयाँ सरकार बनाउन लागिपरेको छ । जसका कारण उ सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन भने नयाँ सरकारको समिकरण पनि बनाउन सकेको छैन । जसका कारण अर्लि निर्वाचनको विषय पनि अन्यौलमा परेको छ ।

माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर छलफल गरेपनि सहमति बन्न सकेको छैन । जसपामा दुई धार रहेको र एउटा ओलीतिर र अर्को माओवादी केन्द्रतिर ढल्केका कारण के हुने भन्ने अन्यौल छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी सरकार बनाउन प्रस्ताव राखेका छन् । तर, देउवाले दलहरुबीच प्रष्ट सहमति बन्न नसकेकाले निर्वाचन नै उत्तम विकल्प भएको सुझाव दाहालसँग राखेका छन् ।

दाहाल भने अहिले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनोस् भन्ने चाहिरहेका छन् । कांग्रेसभित्र भने अब सरकार बन्ने अवस्था नरहे निर्वाचन भन्ने विषय पनि उठिरहेको छ । यद्यपी कांग्रेसले यसविषयमा आधिकारिक निर्णय भने लिन सकेको छैन । वर्तमान सरकारलाई बदल्ने प्राथमिकता आफूहरुको भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले बताए पनि जनता समाजवादीले भने मुद्दा फिर्तालाई प्राथमिकतामा राखेको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन फिर्ता लिने बताउँछन् । ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ,’ उनी भन्छन्, ‘कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहादैनौँ । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’

कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताए । अबको एक हप्ता भित्र सबै विषय टुंगिनुपर्ने उनको मत छ । ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न,’ थापाले भने, ‘माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस् ।’

जसपाका बरिष्ठ नेता राजेन्द्र महतो आफूहरुले उठाएका मुद्दाको सम्बोधन गराउनु नै आफूहरुको पहिलो प्राथमिकता भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले उठाउँदै आएका सवाल छन् । मुद्दाहरु छन् । त्यसलाई सम्बोधन कसरी गराउने ? यो अहिलेको हाम्रो प्राथमिकता हो । आफ्नो मुद्दालाई सम्बोधन गराउने हो ।’ तर, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने बुधबार अपरान्ह देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसंगै सहकार्यको पक्षमा उभिएका बेला यादवले देउवासंग भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । जसपाभित्र यादव र भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन् । यद्यपि पार्टीभित्र ठाकुरको पक्षमा बहुमत रहेको छ । कांग्रेस सभापति देउवासंगको भेटमा यादवले राजनीतिक अग्रसरता बढाउन आग्रह गरेका हुन् । सभापति देउवाले भने पछिल्लो राजनीतिक परिस्थितिबारे आफू राम्ररी जानकार रहेको भन्दै वैकल्पिक सरकार गठनका लागि वातावरण नबनेको बताएका थिए । ‘तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ । मैले के गर्नु ?’, देउवाले भनेका थिए । यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि आफूहरु ओलीको विकल्प खोज्ने पक्षमा रहेको बताएका थिए । ‘अहिलेको सरकार हटाउन पहल गरौं । कांग्रेसकै नेतृत्वमा अगाडि बढौं’, यादवको प्रस्ताव थियो । जवाफमा देउवाले जसपाले ओलीसंग नमिल्ने औपचारिक निर्णय नगरेसम्म आफू अगाडि नबढ्ने बताएका थिए ।

प्रतिक्रिया