अस्पतालमा फोहरमैला व्यवस्थापन प्राथमिकतामा राखिन्छ : मन्त्री राई

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईले हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथमिकतामा राखिने बताएकी छन् ।

उनले आज मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले संघीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताका आधारमा लगाउने कार्यकमलाई निरन्तरता दिइने बताइन् ।

मन्त्री राईले प्रदेश मातहतका सम्पूर्ण अस्पताललाई कम्तीमा ५० श्ययामा सत्तरोन्नति गरी दरबन्दी संरचना थप गरिने उल्लेख गर्दै शिक्षामा सरकारले गरेको लगानी अनुसारको परिणाम प्राप्त गर्न विज्ञको अध्ययन टोलीले सिफारिस गरेअनुसार गर्नुपर्ने कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका अधिकारमा विशेष ध्यान दिने भन्दै युवा खेलकूद, भाषा संस्कृति, श्रम तथा रोजगारका क्षेत्रमा पनि प्राथमिकता दिने बताइन् ।

आवश्यकता अनुसारको कानून निर्माणमा जोड दिने बताउँदै उनले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को अवधारणा अनुसार नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यावहारिक पक्षको अध्ययन गरी लागू गरिने जानकारी दिइन् ।

प्रतिक्रिया