भण्डारीलाई सर्वोत्कृष्ट पुरस्कार

काठमाडौं । सञ्चारकर्मी जीवन भण्डारीलाई यस वर्षको सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र क्लबका ऋषि धमलाले उनी लगायतका सञ्चारकर्मीलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।  नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक तथा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक रहेका भण्डारी झण्डै दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील छन् । अनलाइन टिभी पत्रकार संघको संस्थापक अध्यक्षसमेत रहेका उनले पत्रकारिता तथा आमसञ्चार र समाजशास्त्रमा स्नातकोत्तर एवं कानून विषयमा स्नातक गरेका छन् । पत्रकारिता अध्यापनमा समेत सक्रिय उनी सञ्चारकर्मीको अन्तर्राट्रिय संस्था युनिमीको नेपाल च्याप्टरको महासचिवसमेत हुन् । त्यस्तै, उनी पाल्पाली संगमको सचिव, विनय कसजु स्मृति प्रतिष्ठानको संस्थापक सचिव र विभिन्न संघ–संस्थामा सल्लाहकारका रुपमा सक्रिय छन् ।

पाल्पाको रामपुर नगरपालिका–१० मा पिता तुल्सीप्रसाद भण्डारी र माता दुर्गा भण्डारीका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका भण्डारीले पाल्पाको गाउँले देउराली साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन् । त्यसैगरी, पाल्पाकै नवजनचेतना दैनिकका लागि अञ्चल कार्यालय प्रमुखको जिम्मेवारीसहित बुटवललाई कार्यक्षेत्र बनाएर उनले बुटवलमा अध्ययनसँगै देउराली दैनिक र बुटवल एफएमका काम गरेका थिए । बुटवलबाट स्नातक तहको पढाइ पूरा गरेपछि उनी थप अध्ययन र पत्रकारितालाई निरन्तरता दिने उद्देश्यले २०६५ सालमा राजधानी प्रवेश गरेका हुन् ।
उनले नेपाल एफएम नेटवर्क तथा रेडियो आँधिखोलामा समेत काम गरिसकेका छन् । उनले नेपालवाणी नेटवर्क र नेपाली रेडियो नेटवर्क स्थापना गरी त्यसमार्फत आफ्नो करिअरलाई अघि बढाइरहेका छन् । उनी नेपालवाणीको संस्थापक समाचार प्रमुख र नेपाली रेडियो नेटवर्कको संस्थापक समाचार निर्देशक हुन् । विद्यालय जीवनमै साहित्यबाट पत्रकारितामा प्रवेश गरेका भण्डारीको ‘अजीवि’ नामक साहित्यिक कृति प्रकाशित छ ।

क्लवले उनीसँगै अन्य ९ वटा पुरस्कार प्रदान गरेको छ । क्लवको यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष गोपाल गुरागाईँलाई प्रदान गरेको छ । तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदी, कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डित, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्ले, सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिएको छ । त्यस्तै, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक विनु सुवेदी, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिएको छ । यस्तै, वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुराग, उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला र प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दीपक अर्याल लगायत पुरस्कृत भएका छन् ।

प्रतिक्रिया