विद्यालय बन्द नगर्ने निर्णय

मुगु । हिमाली जिल्ला मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको भए पनि मुगुमा रहेका चारवटा स्थानीय मध्ये छायाँनाथ रारा नगरपालिकाभित्रका सामुदायिक विद्यालयले भने बन्द नगर्ने निर्णय गरेको हो ।

मंगलबारबाट लागु हुने गरी चैत २० गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय भए पनि मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा विद्यालय बन्द नगरी पूर्ववत रुपमा पठनपाठन नियमित गराउने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

मंगलबार छायाँनाथ रारा नगरपालिकाले एक सूचना जारी गर्दै यहाँ त्यस्तो खालको वातावरणिय प्रभाव न्युन देखिएको हुँदा विद्यालय बन्द नगरी पुर्ववतरुपमा विद्यालय सञ्चालन गरी पठनपाठनलाई नियमित बनाउने निर्णय गरिएको छ ।

विगत लामो समयसम्म कोभिड १९ को कारण शैक्षिक क्षेत्र प्रभावित भई कोर्स पुरा हुन नसकेको हुँदा निकट भविष्यमा विद्यार्थीहरुको वार्षिक परिक्षा सञ्चालन हुने भएको कुरालाई आत्मसात गर्दै छायाँनाथ रारानगरपालिकाले मिति ०७७ चैत १६ को निर्णय अनुसार नगरपालिका भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द नगरी पुर्ववत रुपमा सञ्चालन गरी पठनपाठनलाई सुचारु गर्न पत्रसमेत दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्लले जानकारी दिए ।

उनले भने, ‘विद्यालय बन्द हुँदैनन्, नियमित रुपमा पठनपाठन गर्छौँ, यदि हामिले विद्यालय बन्द गर्यौँ भने विद्यार्थीको पढाईमा बाधा पुग्छ ।’ नगरपालिकाभित्र ४६ वटा विद्यालय रहेका छन् । यसैबीच मुगुका अरु तीन गाउँपालिका खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकामारोगं गाउँपालिकामा भने विद्यालय बन्द रहेका छन् ।

प्रतिक्रिया