कोरोना : शैक्षिक संस्था हटस्पट

काठमाडौं । इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखराका ३२ विद्यार्थीमा कोरोना संक्रमण देखियो । शैक्षिक भ्रमणमा गएर फर्किएका उनिहरुमा एकपछि अर्को गर्दै कोरोना संक्रमण देखिएको हो । ६४० जनाको स्वाब लिएर कोरोना जाँच गर्दा थप ३५ जनामा पोजेटिभ रिपोर्ट आएको क्याम्पसका प्रशासन प्रमुख खेमबहादुर पुलामीले बताए । सुरूआतमा एक जनामा देखिएको कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा ७६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक जना क्याम्पसमा अध्यापन गराउने शिक्षक समेत छन् ।

राजधानीका केही विद्यालय र कलेजमा अध्यापन गराउने शिक्षकलाई कोरोना संक्रमण देखिएको छ । यो क्रम रोकिएको छैन । शिक्षकसँगै विद्यार्थीमा पनि कोरोना संक्रमण बढिरहेको विद्यालय स्रोतले जानकारी दिएको छ । कतिपय विद्यालयमा संक्रमितको संख्या बढ्न थालेपछि थप सतर्कता समेत अपनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि शैक्षिक संस्था र होटलहरु कोरोना हटस्पटका रुपमा देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शैक्षिक संस्था कोरोनाभाइरसको हटस्पट बन्दै गएको बताए । उनका अनुसार टेकुसहितका विभिन्न अस्पतालमा पछिल्लो समय कोरोनाका बिरामी बढेको र तीमध्ये अधिकांश कलेज र स्कुलका शिक्षक रहेको पाइएको छ । कोरोनाको कारण पछिल्लो समय विद्यालय र कलेजमा रहेका शिक्षक र विद्यार्थी संक्रमित भएको र बन्द गर्ने क्रम बढेको समेत जनाए । ‘पछिल्लो समयमा शैक्षिक संस्थाहरु कोरोना संक्रमणको हटस्पट बन्दै गएको देखिएको छ’, प्रवक्ता गौतमले भने, ‘टेकु अस्पतालमा भर्ना भएकाहरु मध्ये अधिकाशं कलेजमा पढाउने शिक्षकहरु, होटलमा काम गर्ने कर्मचारीहरु र तराईबाट पठाइएका विरामीहरु रहेका छन् । ’

प्रवक्ता गौतमले विद्यालयमा जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य रुपमा लागु गर्न समेत आग्रह गरे । शैक्षिक संस्थामा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा फितलो भएको समेत उनले जनाए । ‘धेरै शैक्षिक संस्थामा मास्क लगाउन, सामाजिक दुरी कायम गर्ने र हात धुने नियम भएपनि त्यसको कार्यान्वय पक्ष धेरै फितलो भएकाले समस्याहरु बढि देखिन थालेका छन्’, उनले भने । उनले कतिपय विद्यालयमा हात धुने व्यवस्था नभएको, कतिपयमा सावुन पानी नै नहुने गरेको गुनासो मन्त्रालयमा आईरहेको जानकारी समेत दिए ।

स्वास्थ्य मन्त्रालयले सामाजिक दुरी कायम राखी, स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर मात्र विद्यालय कलेज संचालन गर्न आग्रह समेत गरेको छ । स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न र मापदण्ड कार्यान्यवन गर्न भनेपनि सर्वसाधारणले त्यसको अवज्ञा गर्दै आइरहेका छन् । विज्ञहरुले यस्तै अवस्था कायम रहे कोरोनाका दोस्रो लहर आउन सक्ने बताएका छन् ।

प्रतिक्रिया