पित्तथैलीको पत्थरी र यसको उपचार विधि

डा. राकेशकुमार साह

पित्तथैलीमा भएको पत्थरीको साइजले जटिलता धेरै ल्याउन सक्छ । तर, जति नै साइजको भए पनि मुख्य उपचार भनेको पित्तथैलीको अप्रेसन नै हो । साइजको आधारमा अप्रेसन गर्न सकिन्छ कि सकिँदैन भनेर निक्र्योल गर्न सकिँदैन । धेरैजसो बेलामा सानोसानो पत्थरीले धेरै जटिलता उब्जाइराखेको हुन्छ ।

पित्तथैलीले पाचन प्रणालीमा कलेजोबाट निस्केको पित्तलाई भण्डारण गर्ने काम गर्दछ । पित्तथैली हाम्रो पेटको दायाँपट्टी भागमा कलेजोको ठीक मुनि अवस्थित हुन्छ । यसको आकार नास्पातीको जस्तै हुन्छ । पित्तथैलीको लम्बाई सात देखि १० सेन्टिमिटरसम्म हुन्छ । पित्तथैलीले हामीले खाएको चिल्लो खाना पचाउने काम गर्छ । यसले ३० देखि ५० मिलिलिटरसम्म पित्त भण्डारण गरेर राखेको हुन्छ । जब हामीले चिल्लो खानेकुरा खान्छौँ, पित्तथैलीबाट पित्त बगेर आन्द्रामा जाने गर्दछ र यसले चिल्लो खानेकुरालाई पचाउन मद्दत पु¥याउँछ । पित्तथैलीभित्र विभिन्न कारणले ढुंगा बन्ने गर्दछ । उक्त ढुंगा बन्ने प्रक्रिया नै पित्तथैलीको पत्थरी हो । पित्तथैली के हो ? यसका उपचारका विधि के हुन सक्छ ? पित्तथैलीको पत्थरी हुन नदिन के कुरामा ध्यान दिनुपर्छ ? भन्ने बारेमा जनचेतना आवश्यक छ ।

पित्तथैलीको पत्थरी मोटामोटी तीन प्रकारको हुन्छ । पहिलो : कोलेस्ट्रोल स्टोन, दोस्रो : पिगमेन्टेड स्टोन र तेस्रो : मिश्रित स्टोन । साधरणतया १० देखि १५ प्रतिशत पित्तथैलीमा पत्थरी भएको बिरामीमा मात्रै लक्षणहरू देखिन्छन् । अरू बिरामीमा पित्तथैलीमा पत्थरी भए पनि खासै कुनै लक्षण नदेखिन सक्छ । मुख्य लक्षणहरू भनेको पेट दुखाई, अमन्न हुने, वान्ता आउने, डकार आउने, माथिल्लो पेट र शरीरको पछाडीको भाग दुख्ने, ढाडको पातोमा दुख्ने गर्छ । विशेषतः चिल्लो खानेकुरा खाएपछाडि दुःखाइ बढी हुने केही बिामीहरूलाई कमलपित्त (जण्डिस) पनि हुने गर्दछ ।
पित्त थैलीमा समस्या उत्पन्न हुनुमा मुख्यतः यही एउटा कारण हो भनेर भन्न सक्ने अवस्था छैन । तथापि हर्मोन्स, वंशाणुगत, धेरै बेरसम्म उपवास बस्ने, मोटोपना, थोरै समयमा थेरै वजन कम गर्ने आदि कारणहरू हुन् । यो रोग प्रायःजसो ३० देखि ४० वर्षका वयस्क महिलाहरूमा धेरै देखिने गरेको छ ।

यसको जटिलताहरू के के छन् ? भन्ने कुरा बुझ्नु जरुरी छ । कुनै कारणले पित्तथैलीको संक्रमण हुन सक्छ । पित्तनलीमा पत्थरी अड्कियो भने कमलपित्त र शरीरमा संक्रमण फैलिने डर हुन्छ । अग्नाशय सुनिने अवस्था पनि कहिलेकाहीँ आउँछ । जो आफैँमा ज्यानलाई खतरा हुने रोग हो । यसैगरी पित्तथैलीको पत्थरी पित्तथैलीको क्यान्सरको प्रमुख कारक तत्व हो । पित्तथैलीको पत्थरीको एउटै उपचार विधि भनेको पित्तथैलीको शल्यक्रिया नै हो । शल्यक्रियाको अर्को विकल्प छैन । यो शल्यक्रिया दुई किसिमले गर्न सकिन्छ । (१) दुर्बिनको प्रयोगबाट, (२) चिरेर । पुरानो विधिबाट शल्यक्रिया गर्दा पाँच÷सात सेन्टिमिटर चिरेर घाउ बनाइ पित्तथैली निकाल्नुपर्ने हुन्छ । यसरी चिरेर शल्यक्रिया गर्दा जटिलता धेरै आउनसक्ने भएकाले आजकल दूरबिनबाट शल्यक्रिया गर्ने प्रविधि लोकप्रिय बन्दै गइरहेको छ । यसलाई मेडिकल भाषामा ल्याप्रोस्कोपिक कोलिक्सिस्टेक्टोमी भनिन्छ । शल्यक्रिया गर्नका लागि सर्वप्रथम पेटमा तीन÷चार वटा स–साना प्वालहरू पारिन्छन् ।

सोही प्वालबाट दुरबिनलाई भित्र छिराई पित्तथैली निकालिन्छ । यस प्रविधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने भएकाले घाउ चाँडै निको हुन्छ । खत पनि ठूलो बन्दैन । साथै संक्रमण हुने सम्भावना न्यून हुन्छ । बिरामीलाई धेरै दिन अस्पताल राख्नुपर्दैन । चाँडै काममा फर्किन सकिन्छ । विकसित मुलुकमा आजकल यसलाई डे केयर सर्जरीको रूपमा लिइन्छ । बिरामी बिहान आउँछन् शल्यक्रिया सकाएर बेलुका घरै फर्किन्छन् ।
पित्तथैलीमा भएको पत्थरीको साइजले जटिलता धेरै ल्याउन सक्छ । तर, जति नै साइजको भए पनि मुख्य उपचार भनेको पित्तथैलीको अप्रेसन नै हो । साइजको आधारमा अप्रेसन गर्न सकिन्छ कि सकिँदैन भनेर निक्र्योल गर्न सकिँदैन । धेरैजसो बेलामा सानोसानो पत्थरीले धेरै जटिलता उब्जाइराखेको हुन्छ । त्यसैले हामीले साइजको आधारमा भन्दा पनि पित्तथैलीमा पत्थरी भएपछि (जुनसुकै साइज) मा पनि उपचार गर्न सुझाव दिन्छौँ ।

पित्तथैलीको शल्यक्रियापछाडि खाना नपच्ने समस्या हुन्छ कि ? भन्ने डर धेरैले गरेको पाइन्छ । पित्तथैलीको शल्यक्रिया पछाडि खान नपच्ने समस्या हुँदैन । बरु पित्तथैलीको शल्यक्रियापछाडि मजाले जे पनि खान सकिन्छ । शल्यक्रिया पछाडि दिशा नरोकिने समस्या हुन सक्छ भन्ने गलत बुझाइ पनि रहेको छ । औषधिले पित्तथैलीको पत्थरीको उपचार गर्न सम्भव छ भन्दै प्रचार गरिएको पनि पाइन्छ । अहिलेसम्मको अनुसन्धानले के पत्ता लगाएको छ भने पित्तथैलीको पत्थरीको उपचार कुनै पनि औषधिले सम्भव छैन । यसको एउटै उपचार शल्यक्रिया नै हो । धेरै पियो भने पित्तथैलीको पत्थरी निकाल्न सकिन्छ भन्ने भ्रम पनि छ । तर अहिलेसम्मको अनुसन्धानमा यो कुरा पत्ता लागेको छैन । तथापि पानी धेरै खानु आफैँमा राम्रो कुरा हो ।

पित्तथैलीको पत्थरी औषधि प्रयोग गरेर निको नहुने भएकाले यसका बिरामीले चाँडोभन्दा चाँडो सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको सल्लाह लिनु उचित हुन्छ । पित्तथैलीको पत्थरीको कारणले धेरै रोगीमा लक्षण नदेखिए पनि यसले पछि विभिन्न जटिलता ल्याइदिन सक्छ । त्यसकारणले चाँडोभन्दा चाँडो सम्बन्धित विशेषज्ञ डाक्टरसँग सल्लाह लिनुपर्दछ । हुनतः कुनै उपायले पूरै रोक्न सकिन्छ भन्ने त होइन तर मोटोपन हुन नदिने, लामो समयसम्म खाली पेट नबस्ने, धेरै चिल्लो नखाने, नियमित व्यायाम गर्नेले यसलाई हुन नदिन टेवा पुग्छ । नियमित स्वास्थ्य परीक्षण गराउने, सन्तुलित आहारविहार लिने, व्यायाम गर्ने, केही अफ्ठयारो महसुस भए तुरुन्त चिकित्सककोमा जान सल्लाह दिन्छु ।

प्रतिक्रिया