सुन्दर सुदूरपश्चिमको रमणीय वैद्यनाथधाम

‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या
मलाई पनि उडाइ लैजा हिमचुलीका डाँफ्या’
सुदूरपश्चिम प्रदेशमा निकै चर्चामा रहेको यो गीत चर्चित देउडा गायक नन्दकृष्ण जोशीले अछाममा रहेको वैद्यनाथ धाम पुगेपछि गाएका हुन् । डोटी राम्रो हुनुमा डडेल्धुराको योगदान छ भने अछाम राम्रो हुनुमा अछामको साँफे बगरस्थित वैद्यनाथ धामको ठूलो महत्व रहेको सन्देश यो गीतले दिन खोजेको छ । यो गीतको सारजस्तै सुदूरपश्चिम क्षेत्रमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूमध्येकै महत्वपूर्ण धाम वैद्यनाथ हो ।

यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलमध्येमा अछामको वैद्यनाथ गणना हुन्छ । उक्त मन्दिर (धाम) साँच्चिकै रमणीयस्थलका रूपमा गणना हुने यहाँका स्थानीय मात्र होइन यहाँ आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकले बताउँछन् । चारैतिर अग्ला डाँडाले घेरिएको समथर ठाउँ छ बीचमा । परभली नदी र बूढीगंगा नदीको किनारमा रहेको उक्त धामको पर्यटकीयभन्दा अझ बढी त धार्मिक एवं सांस्कृतिक महत्व रहेको छ । धामको वरिपरि सौर्य बत्ती लगाइएका छन् भने प्रांगणका बीच भागमा मञ्च निर्माण गरिएको छ । भित्र चार ढोका भएको वैद्यनाथ धाम मन्दिर, वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवल छन् ।

मन्दिर परिसरमै यज्ञशाला छ, प्रतीक्षालय, बैठक कक्ष पनि मन्दिर परिसरमै बनाइएका छन् । हिन्दू वैदिक सनातन धर्ममा अति महत्व राख्ने नेपालमा रहेका चार धाममध्ये वैद्यनाथ पनि एक हो । नेपालको सुनसरीको बराह क्षेत्र, काठमाडौंको पाशुपत क्षेत्र, मुस्ताङको मुक्तिनाथ क्षेत्र र अछामको वैद्यनाथ क्षेत्र नेपालका चार धाममध्येको एक प्रसिद्ध धाममा पर्दछन् । वैद्यनाथ क्षेत्रलाई रावणले तपस्या गरी वरदान प्राप्त गरेको क्षेत्रका रुपमा पनि हिन्दू मान्यतामा लिने गरिन्छ । शिवजीको दर्शन पाउनका लागि रावणले कैलाश पर्वतमा तपस्या गरेका थिए तर त्यहाँ उनले शिवजीबाट बर प्राप्त गर्न सकेनन् । त्यसपछि भारतको झारखण्डमा तपस्या गरेको पाइन्छ । रावणले त्यहाँ पनि आफ्नो तपस्याबाट भगवान् शिवजीबाट वर प्राप्त गर्ने अवस्था नदेखेपछि रावणले अछामको वैद्यनाथ क्षेत्रमा हवन गर्न सुरु गरेको नेपालका विभिन्न हिन्दू धर्म ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

धार्मिक ग्रन्थहरूका अनुसार रावण धेरै जिद्दी स्वभावका थिए, उनले जे कुरा चाहन्थे त्यो प्राप्त गर्नका लागि जस्तोसुकै बलिदानी दिन पनि तयार हुन्थे रे । वैद्यनाथ धाम मन्दिरका पुजारी देवराज उपाध्यायले भने, पुराणअनुसार दश टाउका भएका रावणले आफ्नो लक्ष्य प्राप्त गर्न आफ्नै टाउको काट्दै हवन गर्दै गए । यसरी उनले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दासमेत शिवको दर्शन नपाएपछि पूरै शरीर हवन गर्ने सोचेर १०औँ टाउको काट्न लाग्दा शिवजीले वैद्यका रूपमा दर्शन दिनुभएको थियो । वैद्य भएर भगवान् शिवले रावणका सबै टाउकाहरू फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ धाम राखिएको हो ।

यसरी भगवान् शिवको दर्शन पाएपछि रावणले शिवजीसँग वाचा गराई शिवलिंग लंका लैजान पाऊँ भनी मागेका थिए रे ! वाचाअनुसार शिवले आफ्नोे लिंग दिए । सो कुरा पार्वतीले थाहा पाएपछि उनले अदृश्य शक्तिको प्रयोग गरी शिवलिंगलाई उठाउनै नसक्ने गरी निकै गह्रौँ बनाइदिएकी थिइन् भन्ने विश्वास गरिन्छ । त्यसकारण रावणले लैजान नसकेपछि यो शिवलिंग यसै वैद्यनाथ क्षेत्रमा रहेको पुराणहरूमा उल्लेख गरेको पुजारी उपाध्यायले बताए । १२ वटा ज्योतिर्लिंगमध्ये एक नेपालमा रहेको छ, जुन वैद्यनाथ धाममा अवस्थित छ । हुन त भारतले झारखण्डमा रहेको वैद्यनाथ धामलाई असली वैद्यनाथ धाम भनेर प्रचार गर्दैछ, तर पुराणहरूमा गरिएको व्याख्याअनुसार सबै कुरा अछामकै वैद्यनाथ धामको मेल खान्छ, वैद्यनाथ विद्याश्रमका प्रधानाध्यापकसमेत रहेका उपाध्यायले थप भने, वैद्यनाथ धाम क्षेत्रमा वृद्धनदी (बूढीगंगा), पद्मा नदी (पाइली गाड), गोदावरी नदी (परभली नदी) र सरस्वती नदी (परभलीगाड) यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन् ।

यस्तै, खेचरादी पर्वत (खप्तड) को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको उपाध्यायको दाबी छ । मन्दिर संरक्षण र व्यवस्थापनका लागि ०४४ सालमा वैद्यनाथ क्षेत्र विकास संस्था स्थापना भएको छ । संस्थाले मन्दिरको संरक्षण र विकास गर्दै आइरहेको अध्यक्ष नेत्र कुँवरले बताए । उनले भने, नदी कटान प्रमुख समस्या छ, यसका लागि तटबन्दन आवश्यक छ, हामीले पहल गरिरहेका छौँ ।’

साँफे हाट बजारबाट करिब तीन किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा महाशिवरात्रिका दिन धुमधामसँग मेला लाग्ने गर्दछ । उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, विहारलगायत क्षेत्रबाट भक्तजन आउने गरेको संस्थाका अध्यक्ष कुँवरले बताए । उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन रहेको छ । यस्तै माघे संक्रान्तिका दिन पनि उक्त धाममा भव्य मेला लाग्ने गरेको छ । राष्ट्र शान्तिका लागि बटुकहरूले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्ने गरेको पुजारी उपाध्यायले बताए ।

मन्दिरभित्रै विद्याश्रम ः वैदिक सनातन जोगाउनका लागि ०५५ सालमा मन्दिर परिषरभित्रै वेद विद्याश्रमको स्थापना गरिएको छ । कक्षा ६, ७ र ८ को पढाइ हुने उक्त विद्याश्रममा हाल ४३ विद्यार्थी रहेका छन् । विद्याश्रममा एक दरबन्दी र दुई राहत गरी तीन जना सरकारी शिक्षक रहेका छन् । यस्तै नेपाल महर्षि फाउन्डेसनले एक कर्मचारी र सशस्त्र प्रहरी बलले एक जना कर्मचारी विद्याश्रमलाई सहयोग गरेको छ । ‘यस विद्याश्रममा ४३ जना बटुक र हामी तीन जना बस्छौँ र यतै खाना खान्छौँ,’ शिक्षक केशवराज भट्टले भने, ‘बटुकहरूको खानाका लागि मुख्य स्रोत ‘पीरपाथी’ नै हो । पहिले ‘पीर’ (पुजारी) हरूको भरणपोषणका लागि प्रत्येक बालीमा प्रत्येक घरबाट एक पाथी अन्न छुट्याउनुपर्ने व्यवस्था थियो । पीरका लागि नछुट्याएसम्म किसानले नयाँ बाली खानु हुँदैन भन्ने मान्यता रहेको थियो ।’

सोहीअनुसार अहिले पनि स्थानीय पायल, लुंका र पर्वा गाउँहरूबाट पीरपाथी संकलन हुन्छ । यसरी संकलन भएको धान नै बटुकहरूको भोजनको मुख्य स्रोत भएको उपाध्यायले बताए । त्यस्तै, महर्षि फाउन्डेसनले नित्य पूजाका लागि वार्षिक ६ लाख रुपैयाँ दिने गरेको र उक्त रकम पनि बटुकहरूको खाना, लुगामा खर्च गर्ने गरेको वैदनाथ धाम संस्थाले जनाएको छ । बटुकहरूको भोजनका लागि साफे नगरपालिका तथा वडा कार्यालयहरूले पनि सहयोग गर्ने गरेका छन् ।

वैद्यनाथ धाममा संग्रहालय ः मन्दिर परिसरभित्रै वैद्यनाथ संग्रहालय स्थापना गरिएको छ । १८४८ सालमा जर्नेल अमरसिंह थापाको टोलीले आछाम विजय गरेका बेला प्रयोग गरेका हातहतियार उक्त संग्रहालयमा राखिएको छ । अछाम विजयपछि डोटीका लागि हिँडेको थापाको टोली हालको पूर्वीचौकी गाउँपालिका–५, काँडा पुगेपछि एकाएक आँखा नदेख्ने भएछ । फर्केर अछामतिर हेर्दा आँखा देख्ने तर डोटीतिर जान खोज्दा नदेख्ने भएपछि राती काँडामै वास बसेर द्वीप प्रज्ज्वलन गरी भगवतीको आराधना गरेर सुतेछन् । राती टोलीका एक सदस्यलाई भगवतीले सपनामा टोलीसँग भएका सम्पूर्ण हातहतियार वैद्यनाथ मन्दिरमा चढाएर जानु भनेपछि सोही अनुसार ३१ नाल बन्दुक र खुकुरीलगायत हतियारहरू वैद्यनाथलाई चढाएको साँफेवगर नगरपालिका–१ का वडाध्यक्ष अमरबहादुर शाहले बताए ।

उनले भने, ‘पुरातत्व विभागले पनि यो हतियार त्यतिबेलैको भएको पुष्टि गरेको छ, जो हामीले सुरक्षित राखेका छौँ ।’ संग्रहालयमा पीर (पुजारी) ले लाउने लुगा, पूजा गर्ने भाँडाहरू, गहना, शालिग्राम राखिएको छ । यसका साथसाथै अछामका महत्पूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलका तस्बिरहरू पनि उक्त संग्राहालयमा राखिएको छ ।

मन्दिरभित्रै नौमुठे गाई ः अछाम जिल्ला नौमुठे गाईले प्रसिद्ध जिल्ला हो । अगाडिको खुट्टाको खुरबाट मुट्ठीले नाप्दै जाँदा जुरोसम्म नौ मुट्ठी उचाइ मात्रै हुने भएकाले यस जातको गाईलाई नौमुठे गाई नामकरण गरिएको साँफे नगरपलिकाका स्थानीयवासी गोकुल शाहले बताए । उनले भने, ‘नौ मुठे गाई हेर्दा सुन्दर र दूध पनि बढी दिने भएकाले यसको संरक्षणका लागि वैद्यनाथ धाममा राखिएको छ ।’

प्रतिक्रिया