भावी रणनीति बनाउन खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरूको भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल (खनाल नेपाल) समूहका केन्द्रीय सदस्यहरुको बैठक शुक्रवार बस्दैछ । कलंकी स्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेपछि खनाल नेपाल पक्षको भेला शुरु हुँदैछ । भावी रणनीति बनाउन केन्द्रीय सदस्य र सांसदहरुको बैठक बस्न लागेको एक केन्द्रीय सदस्यले जानकारी दिए । शुक्रवार अपरान्हका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागि हुने नहुने विषयमा भेलामा छलफल हुँदैछ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले अपरान्ह ३ बजे बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरेका छन् । चैत्र ७ गते शनिवारको बैठकमा खनाल नेपाल पक्ष सहभागि भएको थिएन ।

खनाल नेपाल पक्षको बैठकमा स्पष्टीकरणको जवाफ पठाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल हुने बताइएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएकोमा नेपाल र रावलले बिहीवार स्पष्टीकरण बुझाएका थिए । अर्का एक केन्द्रीय सदस्यका अनुसार जिल्ला तहसम्म समानान्तर गतिविधि सञ्चालन गर्ने तयारी छ । खनाल नेपाल पक्षले युवा र विद्यार्थी संगठनको राष्ट्रिय भेला गरी समानान्तर कमिटी गठन गरिसकेको छ । युवा संघको अध्यक्षमा नरेश शाही र विद्यार्थी संगठनको अध्यक्षमा सुदेश पराजुलीलाई जिम्मेवारी दिइसकेको छ ।

प्रतिक्रिया