उजाडिए मौरीको गोलाजस्तै गाउँ

म्याग्दीको जैमिनी नगरपालिका–९ पैंयुथन्थापका प्रेमप्रसाद शर्माको गाउँ छोड्ने साइत आउँदो वैशाख १ गतेका लागि जुरेको छ । पहिराले गाउँ नै जोखिममा परेपछि उनले चितवनमा भाडामा घर खोजेर परिवार लैजाँदै छन् । गएको असार ३० गते बिहानको पहिराले पैंयुथन्थाप उच्च जोखिममा परेपछि सो गाउँमा बस्ने अधिकांश परिवार विस्थापित हुने अवस्थामा छन् । प्रेमका दाजु टीकाराम शर्माले पनि आफ्नो घर गोठ पुरिएपछि गाउँ छोडर पैंयुथन्थापकै घ्युरमा अर्कैको घरमा बस्न थालेका छन् । ‘गाउँ, छिमेकी र भएको खेतिपाती छोडेर जाने मन त थिएन तर बस्ने ठाउँ नै सुरक्षित नभएपछि हिँड्नुप¥यो,’ उनले भने, ‘एकैठाउँमा बसेका हामी दाजुभाइ प्रकृतिले छुट्याउँदै छ ।’

पैंयुकै उमादेवी शर्माको परिवार पनि गाउँ छोड्ने सोचमा छ । एउटै गाउँमा रहेका सात परिवार आउँदो हिउँदसम्ममा तितरवितर हुने अवस्थामा पुगेको स्थानीय गंगा शर्माले बताइन् । घरमाथिको गाउँ पहिराले पुरेको देखेका विशाल पौडेल आउँदो वैशाखमा गाउँ छोड्दै छन् । परिवारसहित उनी चितवनमा बस्न घर खोजेर जाने तयारीमा लागेका हुन् । गत भदौ २९ गते जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनीबोटमा आएको पहिरो सम्झँदा अहिले पनि उनको मुटु फुलेर आउँछ । आँखैअघि पुरिएका सात घरको तलपट्टि रहेका घरमा आउँदो बर्खामा बस्न सकिदैन जस्तो लागेर उनी परिवारसहित बसाइँसराइको तयारीमा लागेका हुन् ।

टुनिबोटका डाक्टर अर्जुन पौडेलको घर नजिकैका छिमेकीको घर भदौ २९ को पहिराले पुरेको हो । पहिराले छिमेकीको घर पुरिँदा अर्जुन घरमै थिए । पाखोबाट आएको माटो घर छेउको सडकमा बझारिएर आएको हिलो कपालभरी भएको उनले बिर्सिनै सकेका छैनन् । दाजुभाइ र आफू कामका लागि सधैँ बाहिर हुने भएकाले घरमा बाबुआमा मात्रै छन् । अर्जुनलाई पनि टुनिबोट गाउँ नछोडे सुरक्षित भइँदैन जस्तो लागेको छ । ‘आमा बुबालाई मात्रै कसरी एक्लै छोड्ने आउँदो बर्खामा हाम्रो घरमाथि पनि पहिरो आउला जस्तो डर लाग्छ,’ पौडेलले भने, ‘केही व्यवस्था गरेर ढिलो चाँडो गाउँ त छोड्नै पर्छ ।’

टुनीबोटमै व्यापार व्यवसायसमेत गर्दै आएका केदार पौडेलले फागुन महीनाको पहिलो साता नै गाउँ छोडे । उनले चितवनमा घर बनाएर बसाइँ सरेका हुन् । पहिराको त्रासले अघिल्लो बर्खायामदेखि नै बसाइँसराइको तयारीमा रहेका पौडेल टुनिबोटमा रहेको किराना पसल र गाई फार्म छोडेर परिवार जोगाउन चितवन झरेका हुन् ।

भदौ २८ गते बिहान टुनीबोटमै गएको पहिरामा पुरिएर आमा गुमाएका देवराज शर्मा पनि टुनीबोटको गाउँ छोडेर हिँडिसकेका छन् । सरकारले पुनःस्थापना गर्ला भन्ने आशामा बसेका पीडित शर्माको परिवार अर्को वर्षाको समय शुरु हुने बेलासम्म पहिराले क्षति पु¥याएको घरमा बस्न नसकेर गाउँ नै छोडेर हिँडेको हो । पहिराले घर पुरिएर मृत्यु भएका टुनीबोटकै हरिकृष्ण शर्माको परिवारले पनि गाउँ छोड्यो । यहाँ पुनःस्थापना हुने कुनै गुञ्जायस नपाएपछि आफन्तको शरण माग्दै उनीहरू चितवन नै झरेका हुन् ।

भदौ २८ र २९ को पहिराका कारण टुनीबोटका दुई जनाले ज्यान गुमाएका थिए भने आठ घर पुरिएका थिए । त्यहीँ पहिराको त्रासका कारण कुनैबेला मौरीको गोला जस्तो गाउँ अहिले उजाडिँदै गएको छ । ‘४० परिवार मिलेको गाउँ थियो, अर्मपर्म, जन्ती मलामी कस्तो मिलेर काम गरेका थियौँ,’ स्थानीय विकास पौडेलले भने, ‘अन्तै जाने अवस्था नभएकै कारण केहीले मात्रै त्रासमा यहाँ रात काट्लान अरु सबै हिँडे, गाउँ त उजाडियो ।’ टुनीबोट धेरै शिक्षक रहेको गाउँका रुपमा परिचय बनाएको गाउँ हो । शिक्षण पेशामा रहेका आठ÷दश परिवार र अन्त कतै घरबास बसाउन सक्ने उपाय नरहेका मात्रै गाउँमा रहने उनले बताए ।

‘घर पुरिएका आठ परिवारमध्ये दुई परिवार यहाँबाट हिँडे अरुले सरकारको बाटो हेरिरहेका छन्,’ उनले भने, ‘आशामा बसेकालाई आश्रय गाउँमै दिइएको छ, तर आउँदो बर्खासम्म कोही पनि यहाँ बस्नेवाला छैनन् ।’ पौडेलका अनुसार, अब टुनीबोटमा १० देखि १५ परिवार कठिनले बस्नेछन् । यहाँ दुई ठाउँमा पहिरा गएको छ । दुवै पहिराको आसपासमा रहेका घरपरिवार बिस्थापित भएका हुन् । गाउँमाथि बागलुङ–कुश्मीशेरा बजार जोड्ने सडक छ । त्यहाँभन्दा माथि रहेका वन क्षेत्रबाट गत बर्खाको समयमा दर्जन बढी पहिरो गाउँमाथि खसेका थिए । पहिराकै कारण गाउँ विस्थापित भएको स्थानीय दीपेन्द्र पौडेलले बताए ।

पहिराले घर पुरेको लामो समयसम्म आश्रयमा बसेका परिवारको लागि केही दाताको सहयोग र मृतक परिवारका लागि नगरपालिकाले काजकिरिया खर्च उपलब्ध गराएको थियो । गृहमन्त्रालय र प्रदेश सरकारको तोकिएको राहत पाएका पीडितले विस्थापित भएपछिको पुनःस्थापना कुरेर बसिरहेका छन् । तर सरोकारवालाले भने छ महीना बितिसक्दासमेत कुनै कार्यक्रम ल्याएका छैनन् । ‘हामी दुई वटा काम गरिरहेका छौँ, एउटा विपद् व्यवस्थापन कोषमार्फत नगरले उनीहरूलाई पुनःस्थापना गर्ने र अर्को सरकारको कार्यक्रमअनुसार अघि बढ्ने,’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने ‘संघीय कार्यक्रम पर्खिंदा हामी ढिला भयौँ ।’

संघीय सरकारले आफ्नो कार्यक्रमका विषयमा अहिलेसम्म नगरपालिकालाई कुनै जानकारी नगराएको पौडेलले बताए । विस्थापित भएर जानेका कारण गाउँमा बस्नेका लागि पनि समस्या हुन थालेका छन् । कृषिमा आधारित गाउँमा अर्मपर्म मेलापात गर्ने पाइनै छोडेका छन् । टुनीबोट दूध उत्पादनको हिसाबलेसमेत आफ्नो परिचय बनाएको गाउँ हो । यहाँ दैनिक तीन सय लिटरभन्दा धेरै दूध उत्पादन हुन्थ्यो । गाउँ नै खाली भएपछि दूधको उत्पादनसमेत घटेको पौडेलले बताए । ‘एकअर्काका आधारमा चलिन्थ्यो, सबै हिँडेपछि एक्लोपन महसुस भइरहेको छ,’ उनले भने, ‘आफ्नो खेती गरेर खान पनि समस्या हुने भो ।’

पैंयुथन्थाप, विनामारे, कु्श्मीशेरा अर्जेवा, जैदी र रांगीनीबाट कैयौँ परिवार यो हिउँदमा बाढीपहिराको त्रासका कारण विस्थापित भएका छन् । गाउँ खाली भएका भए पनि छोडेर जानेको तथ्यांक भने छैन् । पहाडमा रहेका घर गोठ र खेतीपाति यत्तिकै छोडेर तराईका जिल्लामा जानेको संख्या धेरै रहेको जैमिनी नगरपालिका–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताए । गाउँ खाली भएपछि बाँदर, दुम्सीजस्ता जंगली जनावरले लगाएको खेतीमासमेत क्षति पु¥याउने गरेका छन् ।

प्रतिक्रिया