रेमिट्यान्सका लागि सेवा केन्द्र स्थापना

दोलखा । बिगु गाउँपालिका–८ मा रहेको थामीचागु गाउँमा रेमिट्यान्सका लागि सेवा केन्द्र स्थापना भएको छ । यस गाउँका अधिकांश युवाहरू विदेशमा रहेकाले बिदेशबाट पठाएको रकम लिन नागरिकलाई सजिलो बनाउने उद्देश्यले दोलखाको मिलिजुली कालिञ्चोक साकोसले उक्त केन्द्र स्थापना गरेको हो । पछाडी परेका विपन्न नागरिकहरूको बस्तीमा यो साकोसले स्त्री रोग परीक्षण शिविरसमेत राखेको छ । दोलखाको चरिकोट अस्पतालका महिला रोग बिषशज्ञहरू डाक्टर चन्दु सापकोटा, डाक्टर खातीसहित सात जनाको टोलीले शिविरमा ६० जना महिलाहरूको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेको छ । सम्पूर्ण औषधि खरिद मिलिजुली कालिञ्चोक साकोसले गरेको छ ।

गाउँगाउँमा सहकारी निर्माण भएकोले दिनदुःखी नागरिकको सेवामा सर्मिपित छ । छोराछोरीलाई उच्च शिक्षा हासिल गराउन होस् या सुविधायुक्त स्वास्थ्य सेवा लिनका लागि होस् तत्काल आर्थिक उपलब्ध गराई सेवा गर्दै आएको छ । मिलिजुली कालिञ्चोक साकोसले सदरमुकाम चरिकोटमा कार्यालय रहेर पनि शिक्षा र स्वास्थ्यको दृष्टिकोणले पछि परेको बस्तीमा स्त्री रोग परीक्षण शिविरसहित सेवाकेन्द्र स्थापनाको स्वागत तथा धन्यवादको पात्र बनेको बिगु गाउँपालिका का उपाध्यक्ष सन्जिप ओलीले बताए । सहाकारी नागरिकको सबै समस्यामा जोडिनुपर्छ । विपन्न नागरिकको स्वास्थ्य सेवाका लागि स्थानीय सरकारले सहयोग गरेको छ । पैसा नपाएर उपचार गर्न अस्पताल जान नसक्नेलाई गाउँपालिकाले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने उनले बताए ।

भीमेश्वर नगरपालिकासँग समन्वय गरी प्रतिक्षालय, कोटी होममा सार्वजनिक शौचालय, स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण भेगमा पटकपटक निःशुल्क स्वास्थ्य शिविरहरू राखी नागरिकको सेवा गरेको छ । पाठेघर खस्ने समस्याबाट अधिकांश ग्रामीण भेगका महिलाहरू ग्रसित हुने कारण शत्प्रतिशत थामी जातिको बासोवास रहेको थामीचागुमा यसपटक स्त्री रोग परीक्षण शिविर राखेको संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले बताए ।

नागरिकको आर्थिक विकासका लागि सहकारी गाउँमा मात्र नभई घरघरमा पुगेको छ । भोलिका दिनमा उद्यमी बन्न, व्यवसाय सञ्चालन गर्न, छोराछोरीलाई उच्च शिक्षा हासिल गर्न आर्थिक रूपमा समस्या परे सहयोग गर्न यो सहकारी थामीचागुमा आफनो सेवा केन्द्र खोली सहयोग गर्न आएको नेफ्स्कुन बाग्मती प्रदेशका महासचिव जिवसराज खड्काले बताए ।

स्त्री रोग परीक्षण शिविर राखेकोमा बढी पाठेघर र पिसाबसम्बन्धी समस्या भएका धेरै आमा दिदीबहिनी आएको र चेकजाँच गरी औषधि दिएरसमेत पठाएको स्वास्थ्य टोलीमा संलग्न महिला रोग विषशज्ञ डाक्टर चन्दु सापकोटा बताइन् । दोलखाको सहकारी अभियानमा र सेयर सदस्यहरूको आर्थिक, सामाजिक र सास्कृतिक पक्षमा मुख्य भूमिका खेलेको यस संस्थाले दोलखा जिल्लाको तत्कालीन चरिकोट आदर्श गाउँ विकास समितिलाई आधारथलो बनाई ०५० मंसिर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेलमा ८३ नम्बरमा दर्ता भई आफ्ना सेयर सदस्यहरूलाई अनवरतरूपमा सेवा दिँदै आएको छ ।

सुरुमा दोलखा जिल्लाको सदरमुकाम भएको चरिकोट आदर्श गाउँ विकास समितिलाई मात्र कार्य क्षेत्र बनाए पनि पछि ०५४ सालमा दोलखा, माटी, मकैबारी र चरिकोट आदर्श गाविस मिलि भीमेश्वर नगरपालिकाको स्थापना भएपछि यस संस्थाको कार्यक्षेत्र तत्कालीन भीमेश्वर नगरपालिकाको १३ वटा वडाहरूमा बिस्तार गरिएको थियो । एकीकरणको माध्यमबाट ०७६ सालबाट संस्थाको कार्यक्षेत्र जिल्लाभरी बनाएको छ ।

समाजमा व्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको बिकास गराउने तथा त्यसरी संकलित बचतलाई सदस्यहरूभित्रै परिचालित गरी विभिन्न किसिमका सामाजिक उद्यमहरूको प्रववद्र्धन गर्नुका साथै महँगो ब्याजबाट सदस्यहरूलाई मुक्ति दिलाउँदै विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया