नाचघरमा बुद्ध नाटक

काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई चिनाउने लक्ष्यका साथ बुद्ध थिएटर फेस्टिभल सुरू भएको छ । फेस्टिभलको आइतबार संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, प्रा.डा.अभि सुवेदी, रंगकर्मी मदनदास श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा दिवसले बुद्धको ज्ञान विश्वभर फैलिनुपर्नेमा जोड दिँदै नाटकका माध्यमबाट ज्ञान फैलनु झनै प्रभावकारी काम हुनसक्ने धारणा राखे । डबली थिएटरको आयोजनामा भएको फेस्टिभलमार्फत बुद्धको सन्देशलाई विश्वमाझ चिनाउने उद्देश्य राखिएको छ । फेस्टिभलका निर्देशक पुस्कर गुरूङले गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिएको जनाए । कोरोना महामारीका कारण फेस्टिभल रोकिएको जनाउँदै उनले भने, ‘यसवर्ष बुद्धसम्बन्धी बनेका नाटकहरू खोज्यौँ । हामीले पाँच वटा नाटक पायौँ र फेस्टिभलको आयोजना गर्न जुट्यौँ ।’ कार्यक्रमको शुभारम्भसँगै लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो । डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गरेको फेस्टिभल शनिबारसम्म चल्ने जनाइएको छ । फेस्टिभल निर्देशक गुरुङका अनुसार हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ ।

फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा दानी करमाकर निर्देशित ‘तथागत’ देखाइयो । कोरोनाका कारण कलाकारको टोली आउन नसकेपछि भिडियोमार्फत नाटक देखाइएको थियो । जसमा बुद्धले जाति व्यवस्था र छुवाछुतलाई नमान्ने प्रसंगलाई उधिनिएको थियो । जात व्यवस्थाका कारण तल्लो भनिएका जातका एक युवकले पानी छोएको निहुँमा कथित माथिल्लो जातका मानिस उनलाई कुट्न तम्सिन्छन् । ज्यानमाथि जोखिम आएपछि ती युवक सहाराको खोजीमा चिच्याउँछन् । त्यहीबेला बुद्ध आउँछन् र तिनलाई संरक्षण गर्छन् । अँगालोमा राखेर लुकाउन खोज्छन् । तर, जब उसले बुद्धलाई देख्छ युवक झन् तर्सन्छ । युवक ‘मलाई नछुनुहोस्, तपाई दुषित हुनुहुनेछ’ भन्दै बुद्धलाई पन्छाउन खोज्छ । बुद्धले किन दुषित हुन्छु म ? तिमी पनि सबैजस्तै मानिस हौं एक मानिसले अर्काे मानिसलाई कसरी दुषित बनाइदिन सक्छ ? भन्दै प्रश्न गर्न थाल्छन् । उनले केवल लाज, घृणा, भ्रम, लोभ, मोह, तृष्णाले मात्रै मनुष्यलाई दुषित बनाउने जिकिर गर्छन् । बुद्धको यी वाणी मनन गरेसँगै नाटक सकिन्छ ।

सोमबार विकास जोशीको निर्देशन रहेको ‘सिद्धार्थको गृहत्याग’ मञ्चन गरियो । यसमा दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको उत्तरको खोजी गरेको प्रसंगलाई देखाइएको छ । बुद्धले गरेको मानसिक संघर्षलाई प्रस्तुत गरिएको यस नाटकले सिद्धार्थले बुद्ध बन्न गृहत्याग गर्नुअघिको प्रसंगलाई देखाइएको छ । प्रेमविनोद नन्दनले लेखेको यो नाटक एक घण्टाको छ । नाटकमा सुचिता उप्रेती, तुफान थापा, अस्मिता खनाल, देबिशा लामिछाने, अभिषेक शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै, मंगलबार झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रविन्द्रनाथ टैगोरद्वारा लिखित नाटक ‘मालिनी’ मञ्चन गरिने आयोजकले जनाएको छ ।

फेस्टिभलमा भारत र हङकङका एक–एक नाटकसमेत मञ्चन गरिने जनाइएको छ । त्यस्तै, ५ नाटक नेपालकै रहनेछन् । उनका अनुसार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ७ नाटक एवं चर्या नृत्य तथा कार्यपत्र प्रस्तुत गरिने छ । फेस्टिभलको अन्तिम दिन वीरेन्द्र हमालको निर्देशन गरेको ‘प्रतिज्ञा समुद्पाद’ मञ्चन हुने गुरुङले जानकारी दिए । उनका अनुसार फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृह त्याग’, निशा पाख्रिनको निर्देशन रहेको ‘ट्यागमोलहुइजिन’ सुदीपजंग कार्कीको निर्देशन रहेको ‘मालिनी’, म्यानलीको निर्देशन रहेको ‘सिद्धार्थ इनहङकङ’, सुदीप डंगोलको निर्देशन रहेको ‘विम्बको सपना’ मञ्चन हुनेछन् ।

प्रतिक्रिया