चार वर्षपछि झोलुंगे पुल तयार

हुम्ला । निर्माण कम्पनी पक्षसँग निर्माणका लागि भएको सम्झौताको चार वर्षपछि झोलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको छ । पुलका लागि आवश्यक सामग्रीको तौलमा परेको फरकलाई प्राविधिकले भेरिफिकेसन गरेपछि निर्माण कम्पनीले पुल निर्माण कार्य अगाडि बढाएको थियो । चार वर्ष अगाडि सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको चार टाँगेमा झोलुंगे पुलको निर्माण कार्य पूरा भएको स्थानीय लंकबहादुर शाहीले बताए । पुल निर्माण नहुँदा स्थानीय बासिन्दा, पैदल यात्रु र पशुवस्तु जोखिम उठाएर काठेपुल तर्दै आएका थिए । उनले पुल निर्माण कार्य भएपछि सबैलाई आवतजावतमा सहज भएको बताए ।

०७४ चैत १२ मा तत्कालीन जिल्ला विकास समितिको झोलुंगे पुल शाखाले पुल निर्माणका लागि टेन्डर आव्हान गरेर अर्जुन निर्माण सेवा छनोट भएको थियो । सम्झौतामा प्राविधिकले भूलवश ७२ हजार केजी तौल हुनुपर्नेमा ६२ हजार केजी सामानको मात्र इस्टिमेटमा समावेश गरेको जानकारी पत्ता लागेपछि पुल निर्माणको काम रोकेको निर्माण कम्पनीका प्रतिनिधि दीपक रावतले बताए । पुलको सामानको तौलमा फरक परेपछि घाटा लाग्ने काम अगाडि बढाउन नसकिएको उनले बताए । अहिले आएर पुलका लागि आर्थिक सहयोग गरेको डोलिडारले जिल्ला समन्वय समितिको सिफारिसमा छुटेको सामानको भेरिफिकेसन गरेपछि पुल निर्माणको काम सुरु गरेर हाल सम्पन्न भएको उनले बताए ।

पुल निर्माणसँगै पुल सञ्चालनमा समेत आएको छ । १ करोड ६५ लाखमा अदानचुली, चंखेली, सर्केगार्ड र सिमकोट गाउँपालिकाका गरी आठ वटा झोलुंगे पुलको सामान जिम्मा अनुसार ढुवानी गरेर ल्याएको र अन्य सात वटा पुलको ०७४ सालमै काम सम्पन्न गरेको भए पनि तार टाँगेको काम रोकेको उनले बताए । पुलको स्थलगत निर्माणको काम भने स्थानीय उपभोक्ता समितिबाट भएको हो ।

 

 

प्रतिक्रिया