बिकृतिजन्य कार्य नगर्न लोकदोहोरी व्यवसायीलाई सिडियो पराजुलीको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) कालीप्रसाद पराजुलीले लोकदोहोरी व्यवसायीहरुलाई बिकृतिजन्य कार्य नगरेर आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।

आज (शनिबार) राजधानीमा आयोजित राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्रमुख जिल्ला अधिकारी पराजुलीले सो आग्रह गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसभन्दा अगाडि विभिन्न दोहोरी साँझमा नराम्रा बिकृति र अनैतिक कृयाकलाप हुने गरेको जनगुनासो आफूसमक्ष पुग्ने गरेकोले अब आइन्दा त्यस्ता गतिविधी नगरेर नेपाली गीत संगीत र मौलिक लोक संस्कृतिको संरक्षण कलाकारहरुले नै गर्नुपर्ने बताए ।

देशको मौलिक लोक संस्कृतिलाई पनि बचाई राख्ने र बिकृति विसंगतीलाई पनि अन्त्य गर्नुपर्ने भन्दै दुवै तर्फलाई मध्यनजर गरेर व्यवसाय सञ्चालन गर्न दिइएको पराजुलीको भनाइ थियो । उनले कुनै पनि दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा अनैतिक कृयाकलाप एवं विसंगती भएको पाइएमा कडा कारवाही गर्न प्रहरीलाई निर्देशन दिए ।

साथै, पराजुलीले गीत संगीतले नेपाललाई विश्वमा चिनाउन ठूलो भूमिका खेलेको धारणा व्यक्त गरे । गीत संगीत बिना मानीसको जीवनमा विभिन्न चिन्तन र तनाव उत्पन्न हुने भन्दै देशको पहिचान र यस क्षेत्रका विभिन्न मौलिक लोक संस्कृतिलाई इतिहाससम्म बचाई राख्न कलाकारसहित आम नेपालीले पनि भुमिका निभउनु पर्नेमा प्रमुख जिल्ला अधिकारी पराजुलीले जोड दिए ।

राति कती बजेसम्म दोहोरी साँझ लगायत अन्य रात्रिकालीन व्यवसायहरु सञ्चालन गर्न पाउने भन्ने नयाँ नीती ल्याउन तयारी भइरहेको कुरा पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । त्यस्तै, कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी भएका प्रहरी नायब उपरिक्षक (डिएसपी) रोशन खड्काले कलाकारहरुले सहज ढंगले आफ्नो व्यवसाय गर्न पाउनुपर्ने भन्दै अनैतिक कृयाकलाप भएको पाइएमा कडा निगरानी बढाएर कारवाहीको दायरामा लैजाने बताए ।

उनले गल्ती भएमा कलाकार या जो व्यक्ती भए पनि कानूनमा कसैलाई छुट नहुने बताए । कार्यक्रम सोही संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको हो । सभापति खत्रीले विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा पनि महामारीको रुप लिएर व्यवसायमा ठूलो धक्का लागेको बताए ।

साथै, उनले दोहोरी साँझमा कार्यरत हजारौँ कलाकारहरुको रोजीरोटी गुमेको ले अब भने केही मात्रामा कोरोना कम भएर व्यवसाय सञ्चालन हुँदा कलाकारहरु पुरानै लयमा फर्किएको अनुभूती मिलेको सुनाए । कार्यक्रममा गायक दिपसागर थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सोही संस्थाका सचिव भिम श्रेष्ठले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन महासचिव गुणराज खनालले गरेका थिए ।

कार्यक्रममा गायक विमलराज क्षत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव शिव हमाल, रेडियो नेपालका सञ्चारकर्मी तथा वरिष्ठ गीतकार भरत बमजन, काठमाडौं महानगरपालिका वडा नं. २६ वडाध्यक्ष खेमराज तिवारी, टोखा नगरपालिका– ९ का वडाध्यक्ष जिपी नेपाल लगायतको सहभागीता थियो ।

प्रतिक्रिया